यूएई बस दुर्घटनामा परि ३ नेपालीकाे ज्यान गयाे, घाइते १४ जनाको पहिचान खुल्याे

दीप सुवेदी

अबुधाबी

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको सवारी दुर्घटनामा परि अहिलेसम्म तीन जना नेपालीसहित ६ जनाले ज्यान गुमाएका छन्। 

दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ।

गल्फ न्यूजका अनुसार अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन्

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५ः३० बजे दुर्घटना भएको हो।

काममा जान २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनाको पनि नाम र ठेगाना खुलेको छ। घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ। सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै घाइते पाँच जनाको माफ्राक अस्पतालमा उपचार भइरहेको छ। मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा (ठेगाना नखुलेको) छन्। त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फर्किएकf छन्।

त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत हुनु हुन्छ। घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दे दूतावासले जनाएको छ।

दुर्घटनामा १६ जना नेपाली घाइते भएको र तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक भएकोले आइसीयूमा राखिएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन्।

राजदूत ढकालका अनुसार दूतावासले घाइतेको उपचारका लागि आवश्यक सबै प्रक्रियामा सहयोग गरिरहेको समेत जानकारी गराए।

राजदूत कृष्णप्रसाद ढकाल र अन्य उच्च नेपाली अधिकारीहरु घाइते नेपालहरु भर्ना भएका माफराक र अन्य अस्पतालमा पुगेर घाइतेको अवस्था बुझेका छन्।

दूतावासले ती कामदार कार्यरत कम्पनीको नियमित सम्पर्कमा रहेको भन्दै विस्तृत विवरण प्राप्त गर्नेवित्तिकै सार्वजनिक गर्ने बताएको छ।

प्रकाशित मिति: : 2020-01-17 13:21:38

प्रतिकृया दिनुहोस्