नेपालसँग मलेसिया–११ लगातार दोस्रो खेलमा पराजित

 नेपाल–११ ले मलेसिया–११ लाई पराजित गरेको छ।

मलेसिया राष्ट्रिय टिमको नेपाल भ्रमण अन्तर्गत दोश्रो एकदिवसीयमा खेलमा नेपालले मलेसियालाई १ सय ७० रनको विशाल अन्तरले पराजित गरेको हो। 

टस जितेर मलेसियाले बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले २८.४ ओभरमा १ सय २० रन मात्र बनाउन सक्यो। 

मलेसियाको लागि सयद अजिजले सर्वाधिक २८ रन, भूशन सेभले २४ , भीरनदिप सिंहले २३ तथा एहमद फैजले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मलेसियालाई सानो योगफलमा समेट्न किशोर महतो र ललित राजबंशीले समान ३ विकेट लिए। सुशन भारिले २ तथा कमलसिंह ऐरी र पवन सर्राफले समान १ विकेट लिए। 

यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले अर्धशतकीय योगदान दिए। मल्लले ४७ बलमा ५ चौका र २ छक्का मदतले ४७ तथा पौडेलले ५४ बलमा ४ चौका र २ छक्का मदतले ५७ रन बनाए। ओपनर सुबास खकुरेलले ७७ बलमा ४८ रन बनाए। सुनिल धमलाले २४, बिनोद भण्डारीले २१ तथा पवन सर्राफले १२ रन बनाए। सुशन भारिले अविजित १६ रन बनाए।

मलेसियाका लागि नजरिल रहमान र अनवर रहमानले समान २ विकेट लिए। मोहमद अरिफ र शर्भिन मुनिएन्डीले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच किशोर महतो चुनिए।

यसअघि सोमबार खेलिएको पहिलो एकदिवसीयमा पनि मलेसिया १३५ रनले पराजित भएको थियो। जितसँग तीन खेलको सिरिजमा नेपालले २–० को अग्रता बनाएको छ। 
सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय बिहिबार खेलिनेछ।

प्रकाशित मिति: : 2020-01-22 04:21:50

प्रतिकृया दिनुहोस्