स्थानीय तह निर्वाचन

जित निश्चित छ, मैले जित्नु नै पार्टीको जित हो : मोहनप्रसाद तुम्वापो (अन्तर्वार्ता)

Breaknlinks
Breaknlinks

मोरङ जिल्लाकाे पथरी शनिश्चरे नगरपालिका पनि चुनावी चर्चा जारी छ। यसाे त उम्मेदवारलाई मतदान गर्ने मिति आउन १२ दिन मात्रै बाँकी छ। जसअनुसार उम्मेदवारहरूका लागि टोलटोलमा चुनावी कार्यक्रम गर्न भ्याइनभ्याइ छ।

उम्मेदवारहरू घरदैलाेमा छिरेसँगै मतदाता पनि उत्साहित छन्। नेकपा (एमाले) बाट पथरी शनिश्चरे नगरपालिकाकाे मेयर पदका उम्मेदवार छन्, मोहनप्रसाद तुम्वापो। उनी पथरी शनिश्चरेका लाेकप्रिय र जनप्रिय नेता मानिन्छन्।

उम्मेदवारीलाई मतदान गर्न नगरवासी पनि आतुर देखिन्छन्। पथरी शनिश्चरेकाे मेयरका उम्मेदवार उनै तुम्वापोसँग बिएल नेपाली सेवाका लागि ईश्वरी राईले गरेको कुराकानी–


पथरी शनिश्चरेको मेयरमा किन उम्मेदवारी दिनुभयो?

मेयरमा उम्मेदवारी दिनुको मुख्य कारण मेरो पार्टी नै हो। लामो समयदेखि राजनीतिमा लागेर समाजको सेवा गरेको पार्टीले देखेको छ। मेयरको लागि म उपयुक्त भएकै कारण पार्टीले मलाई चुनेको हो। त्यसैले मैले मेयरको लागि उम्मेदवारी दिएको हुँ। किनकि, म यसका लागि याेग्य छु।

मेयरको लागि उम्मेदवारी दिएसँगै तपाईंले चुनावको तयारी कसरी गरिरहनुभएको छ?

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर हामीले चुनावको तयारीलाई अगाडि बढाएका छौँ। पार्टीले नगरपालिकाको १० वटै वडामा गएर घरदैलो कार्यक्रम गरेर चुनावकाे तयारीमा जुटिरहेकाे छ।

तपाईंले चुनावलाई कत्तिको चुनौतीपूर्ण रूपमा लिनुभएको छ?

मैले चुनावलाई चुनौतीको रूपमा लिएको छैन। यदि म राजनीतिमा नयाँ मान्छे भएको भए यो मलाई चुनौती लाग्थ्यो होला। तर म पुरानो मान्छे हुँ।चुनावमा चुनौतीमा देखेकाे छैन। त्यसैपनि मसँग मेरो पार्टीको साथ छ। जसले मलाई हरेक अफ्ठ्यारा कामहरूमा साथ दिइरहेको छ।

यो पटकको चुनावमा तपाईंले नै जित्नुहुन्छ भन्ने मुख्य आधार के हो?

मैले जित्ने कुरा निश्चित छ। मैले जित्नु नै पार्टीको जित हो। हाम्रो पार्टीले विगतका दिनहरूमा पनि जित्दै आइरहेको छ।

विकासका कामहरू गरिरहेको छु। त्यसैले जित हाम्रो हुन्छ। हाम्रो पार्टीसँग प्रतिस्पर्धा गर्ने अरू कुनै पार्टी नै छैन। त्यसैले जित्ने कुरामा म ढुक्क छु।

चुनाव जितेपछि तपाईंको प्राथमिकता के मा रहनेछ?

जुन काम बाकीँ छ, त्यसैलाई पूरा गर्नु मेरो कर्तव्य हो। बिग्रिएका सडकलाई कालोपत्रे गर्ने लक्ष्य लिएको छु। त्यसैगरी सरकारी स्कुलमा अंग्रेजी पढाएर यसलाई आकर्षक बनाउने सोचमा छु। यसको साथै विद्यार्थीहरूलाई छात्रवृतिको व्यवस्था मिलाउनेछु। यसले बालबालिकालाई थप ऊर्जा मिल्नेछ। योसँगै प्रत्येक नागरिकलाई स्वास्थ्य बिमालगायत अन्य सुविधा दिलाउनेछु। किनकि, जनता सुखी हुनु नै मेरो खुसी हो।

चुनावी अभियानमा मतदाताहरूबाट के-कस्ता प्रतिक्रिया पाइरहनुभएको छ?

मैल मेरा मतदाताहरूसँग सकारात्मक प्रतिक्रिया पाइरहेको छु। उहाँहरूले हामी तपाईंलाई नै भोट दिएर जिताउने छौँ भन्दै मलाई आश्वासन दिइरहनुभएको छ।

मेयरको लागि तपाईं चुनिएर हामी धेरै खुसी भएका छौँ भनिरहनुभएको छ। यसले मलाई अगाडि बढ्न निकै मदत गरिरहेको छ। मेरो मतदाताहरूबाट यस्तो प्रतिक्रिया सुनेर म धेरै नै खुशी छु।

अन्त्यमा तपाईं मतदाताहरूलाई के भन्न चाहनुहुन्छ?

मेरो मतदाता भन्नु नै पार्टीको मतदाता हो। उहाँहरूको माया र ममताले नै हामीले विगतका दिनहरूदेखि जित्दै आइरहेका छौँ। त्यसको लागि म मतदाताहरूप्रति धेरै आभारी छु। यो पटक पनि मलाई जिताउनुहुन्छ भन्ने कुरामा म ढुक्क छु। उहाँले मलाई जिताएपछि मेरो कर्तव्य बन्छ- उहाँको सेवा गर्नु। त्यसैले म मेरो मतदाताहरूको सेवा गर्न सधैं हाजिर हुनेछु।

प्रकाशित मिति: : 2022-05-01 21:00:00

प्रतिकृया दिनुहोस्