गोष्ठीमा अमेरिका गएकी उपमेयर उतै ‘बेपत्ता’

दीप सुवेदी

काठमाडाैं

गोष्ठीमा सहभागी हुन अमेरिका गएकी कालिकोटको एक नगरपालिकाकी उपमेयर उतै ‘सम्पर्कविहीन’ भएकी छन्।

नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना)ले कुनै खोजखबर नपठाएको र जानकारी पनि नगराएको मेयर रत्नबहादुर शाहीले जानकारी दिए।

उपमेयरले अमेरिका गोष्ठीमा सहभागी हुन आफ्नो नाम परेको भनेपछि नगरबाट स्वीकृति दिइएको तर गएपछि कुनै जानकारी नगराएको मेयर शाहीले बताए।

उपमेयर अमेरिका पुगेपछि एक पटक मात्र टेलिफोन सम्पर्क भएको मेयर शाहीले बताए। उनका अनुसार टेलिफोनमा उपमेयरले ‘आफू बिरामी भएकाले फर्किन नसकेको’ बताएकी थिइन्।

‘उहाँ गइसकेपछि एक पटक टेलिफोनमा कुरा भएको हो, त्यसबेला बिरामी छु भन्नुभएको थियो,’ मेयर शाहीले भने, ‘त्यसपछि कुनै जानकारी छैन।’

उपमेयर नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको शाहीको भनाइ छ । योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधानका कारण अधिकांश योजनाहरूको भुक्तानी समस्या भएको शाही बताउँछन्। ठेकेदारहरूले दिनहुँ ताकेता गरिरहेकाले समस्या बेहोर्नुपरेको शाहीको भनाइ छ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेकी नेपाली १ हजार ८४३ मत ल्याएर निर्वाचित भएकी हुन्।

प्रकाशित मिति: : 2020-01-24 02:47:28

प्रतिकृया दिनुहोस्