सूचना प्रविधिमा युवाहरुको पहुँच भए समृद्ध राष्ट्रको निर्माण हुन्छ: पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा.रामवरण यादवले सूचना तथा प्रविधि विकाशमा देशका हरेक युवाहरुको पहुँच हुन आवश्यक रहेको बताएका छन्। अहिलेको युग आधुनिक भएको भन्दै सूचना तथा प्रविधिकाे विकाशमा युवाहरुको पहुँच भए समृद्ध राष्ट्रको निर्माण हुने उनले बताएका हुन्।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) पर्साको आयोजनामा बिहिबार वीरगञ्जमा शुरु भएको प्रदेश स्तरीय क्यान इन्फोटेक मेला-२०२० को उद्घाटन गर्दै यादवले विज्ञान प्रविधिको युग युवाहरुसँग जोडिएको हुँदा यसले रोजगारीको अवस्था समेत सृजना गर्ने बताए। 'शिक्षा स्वास्थ्य, कृषि, पर्यटन लगायतका सम्पूर्ण क्षेत्रमा अहिले विश्वमा कम्प्युटर शिक्षा जोडिएको छ।' उनले भने 'प्रविधिकै माध्यमबाट हामीले रोजगारी पनि दिलाउन सक्छौं।'

विगत १ दशकदेखी संचालित क्यान ईन्फोटेक अब केन्द्रसम्म मात्र सिमित नरहेको उनले बताए। 'देशका हरेक युवाको पहुँच आधुनिक विज्ञान र प्रविधिमा छ।' उनले भने 'प्रविधिले प्रदेश स्तरीय हुँदै देशैभरीका जिल्लाहरुलाई समेटेर अगाडि बढिरहेको छ।' युवाहरु विज्ञान र प्रविधि क्षेत्रमा जोडिएको प्रति उनले खुशी समेत व्यक्त गरे।   

युवा पुस्ताहरु विज्ञान प्रविधिको युगमा जोडिनु राम्रो विषय भएपनि अहिले स्मार्ट फोन लगायत नयाँ प्रविधिलाई दुरुपयोग गर्दा विकृति बढेकाे भन्दै उनले चिन्ता व्यक्त गरे। 'विज्ञान प्रविधिको सदुपयोग गरे वरदान हुन्छ, दुरुपयोग गर्दा विनाश समेत हुन्छ। सबै यसप्रति सचेत हुनुपर्छ।' उनले भने।

यस कार्यक्रमकाे उद्घाटन राेबाेटकाे प्रयाेग गरि गरिएकाे थियाे। राेबाेटकाे प्रयाेग गरि उद्घाटन गरिएकाे याे नै प्रदेश २ काे पहिलाे कार्यक्रम हाे।

क्यान प्रदेश २ को संयोजन र क्यान महासंघको संरक्षणमा आजदेखि वीरगञ्जको नगर सभागृहमा शुरु भएको मेला माघ  १३ गतेसम्म चल्ने भएको छ।  नेपालमा रहेर सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरुको कुम्भ मेला पनि भनिने क्यान इन्फोटेक वीरगञ्जमा यस पटक आईटिसँग सम्बन्धित विभिन्न ६० वटा स्टलहरु राखिएको छ। 

क्यान महासंघ पर्साका अध्यक्ष दिपक साहले मेलाको मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आईटि म्युजियम, आईसीटि छात्रवृति, छुट दरमा विभिन्न उपकरण विक्री वितरण गरिने बताए । पाँच दिनसम्म चल्ने मेलामा हरेक दिन विभिन्न् विषयमा जानकारी मुलक सेमिनार, अभिमुखीकरण, प्यानल छलफल र प्रदर्शनी समेत गरिने र उत्कृष्ट प्रतियोगीलाई पुरस्कृत समेत गरीने साहले जानकारी गराए। त्यसैगरी स्कुल, कलेज र आईटिमा अध्यनरत विद्यार्थीहरुका लागि पनि छुट्टाछुट्टै सेमिनारको व्यवस्था गरिएको छ । 

प्रभु पे मुख्य प्रायोजक रहेको क्यान इन्फोटेक २०२० वीरगंजमा विभिन्न छुट समेतको व्यवस्था गरिएको छ । क्यान इन्फोटेकमा प्रभु पे एप मार्फत टिकट खरिद गर्दा कटेको टिकेटको पुरा रकम एप मार्फत फिर्ता आउने आयोजकहरुले बताए । त्यसैगरी यसपटकका मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आईटि म्युजियम, आईसीटि छात्रवृति, छुट दरमा विभिन्न उपकरणलगयात रहेका छन् ।
 

प्रकाशित मिति: : 2020-01-24 11:01:48

प्रतिकृया दिनुहोस्