प्याकुरेलले दिए राष्ट्रपतिका विज्ञ सल्लाहकारबाट राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन्। 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सभामुखको उम्मेदवार बनेका अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका मानवअधिकारकर्मी समेत रहेका प्याकुरेलले शुक्रबार राजीनामा दिएका हुन्

२०६८ वैशाख २१ मा झलनाथ खनाल नेतृत्वको सरकारमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटाविरुद्ध हत्या अभियोगको मुद्दा चलिरहेकाले अनुसन्धानमा असर गर्ने र मन्त्री पदमा नियुक्ति रोक्नु भन्दै प्याकुरेलले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

प्याकुरेलको  रिट निवेदनमाथि सुनुवाई गर्दै २०६८ असार ७ मा तत्कालीन न्यायाधीशहरु रामकुमारप्रसाद शाह र प्रकाश वस्तीको संयुक्त इजलासबाट सापकोटालाई मन्त्री बन्न नरोक्न आदेश भएको थियो।

तत्कालीन समयमा मन्त्री रहेका सापकोटामाथि प्रमाण संकलन गरी अभियोगपत्र दर्ता हुने नहुने बाँकी रहेकाले मन्त्रीको कामकाज गर्नबाट रोक नलगाउने गरी अनुसन्धान जारी राख्न आदेश भएको थियो।

काठमाडौ‌ं जिल्ला कलङ्की निवासी प्याकुरेललाई बि.स २०७४ साल चैत ९ गते राष्ट्रपति कार्यलयले राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी विज्ञ पदमा नियुक्त गरेको थियो। 

प्रकाशित मिति: : 2020-01-25 03:20:05

प्रतिकृया दिनुहोस्