नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण, 'नमुना' हङकङ पठाइयाे

दीप सुवेदी

काठमाडाै‌ं

नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

चीनबाट स्वदेश फर्किएका थप दुई जनामा कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको स्रोतले बताएका छ।  कोरोनाकै आशंकामा अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन्। उनीहरूको नाम खुलाइएको छैन।

स्रोतका अनुसार हाल आइसुलेसन वार्डमा उपचार गराइरहेका  दुई जनामध्ये एक जना पुरुष र अर्को एक जना महिला छन्। ‘एक ४८/४९ वर्षीया महिला र २८/३० वर्षका एक पुरुषमा कोरोना भाइरसको आशंकामा उपचार भइरहेको छ’ श्रोतले भन्यो।

दुबै जनामा ज्वरो आउने, स्वास फेर्न गारो हुने लगायतका समस्या देखिएको छ।

‘चीनबाट आएका दुबै महिला र पुरुषमा ज्वरो आउने, स्वास फेर्न गारो हुने, खोकी लाग्ने लगायतका समस्या देखिएको छ,’ अस्पताल श्रोतले भन्यो,‘प्रारम्भिक अवस्थालाई हेर्दा उनीहरुमा कोरोना संक्रमण भएको हो कि भन्ने आशंका रहेको छ।’

महिला चीन आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन्। उनी माघ ११ गते (हिजो)अस्पताल पुगेकी थिइन्। स्रोतले भन्यो –'२८ वर्षीय पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका रहेछन्। उहाँ माघ १० गते अस्पताल आउनु भएको थियो।'

उनीहरुको नमुना परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने स्रोतको भनाइ छ।

त्यस्तै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएको सरुवा रोग अस्पताल स्रोतको भनाइ छ। एक निजी अस्पतालमा पनि कोरोना भाइरस संक्रमण भएको आशंकामा एकजना भर्ना भएका छन्।

यसअघि एक जनामा कोरोनाको संक्रमण देखिएको भन्दै गरिएको परीक्षणबाट पुष्टि भएको थियो। चीनबाट नेपाल फर्किएका एक युवामा कोरोनाको आशंकामा ‘नमुना’ परीक्षणका लागि हङकङ पठाइएकोमा उनमा कोरोनाको संक्रमण रहेको पुष्टी भएको थियो।

रुघाखोकी र श्वासप्रश्वासमा समस्या अएपछि पुस २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो। चीनको वुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय ती युवक अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकको नियमित निगरानीमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बताएकाे छ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जनाको ज्यान गइसकेको छ।

चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो। मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ।

शनिबार बिहानसम्म १ हजार २ सय ८७ मानिसलाई कोरोनाको संक्रमण भएको पुष्टी भएको छ।

कोरोना फ्रान्स अस्ट्रेलिया, कोरिया, अमेरिका, भारत, हङकङ लगायत १३ देशमा देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
कोरोना भाइरसबाट २ हजार भन्दा धेरै मानिस संक्रमित भएको जनाइएको छ।

कोरोना भाइरस भनेको के हो?

यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो। तर नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि चीनमा पुष्टि भएको छ। अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ। यसको बारेमा अहिलेसम्म पनि त्यति स्पष्ट हुन सकेको अवस्था छैन।

कारण के हो?

जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन। अरु भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छौँ तर यो नयाँ भएकाले भन्न सकिन्न।

कस्ता लक्षण देखा पर्छन्?

कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्।

यसको लक्षण फ्लूसँग मिल्ने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क हुनु पर्छ।

प्रकाशित मिति: : 2020-01-27 03:21:08

प्रतिकृया दिनुहोस्