राष्ट्रपतिले सोफा पनि हेलिकप्टरमै बोकेर हिँड्ने गरेकाे हाे ?

दीप सुवेदी

काठमाडाैं

राष्ट्रपति विद्यादेवी भण्डारीको एक तस्वीर अहिले भाइरल भएको छ। माघ १४ गते बाग्मतीका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले खिचेको तस्वीर भाइरल भएको हो।

माथिको तस्वीर जति सामान्य छ सामाजिक संजालमा भने त्यसको आलोचना कयौं गुना बढी छ। आखिर कहाँ र कसरी यो तस्वीर खिचाइएको हो भन्ने कुराको वास्तविकता सबैलाई जान्न मन लागेकै होला। यो तस्वीरको वास्तविकता खोतल्नु भन्दा अगाडि के भएको थियो त्यसको थोरै परिचर्चा गरुम। 

मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकप्टर चढेर भण्डारी हेटौँडा पुगेकी थिइन्। उनको स्वागतका लागि बाग्मतीका प्रदेश प्रमुख प्रसाईं र मुख्यमन्त्री पौडेलको टोली तैनाथ थिए। राष्ट्रपति सवार हेलिकप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण गरियो। राष्ट्रपति भण्डारीलाई फुलमालले भव्य रुपमा स्वागत गरियो।

स–सम्मानको साथ उनलाई कार्यक्रममा लगियो। कार्यक्रममा उनले केही राजनीतिक कुरासहित समाज सेवाको बारेमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा वकालत गरिन्। करीब डेढ घण्टापछि उनी कार्यक्रम सकेर काठमाडौं फर्किन लागिन्।

तर स्वागत गर्न खटिएका संसद तथा नेताहरुलाई भने राष्ट्रपति भण्डारीसँग केही फोटा खिच्न मन जाग्यो। हेलिकप्टरका पाइलटले छिटो गर्न अनुरोध गरे। स्रोतका अनुसार मुख्यमन्त्री पौडेलले एक/एक जना भन्दा सामूहिक फोटो लिन आग्रह गरे। उनले नै राष्ट्रपति भण्डारीसँग सबैलाई सामूहिक फोटो लिन उक्साए। ‘राष्ट्रपति भण्डारी ज्यूलाई उठाउने कुरा भएन अनि हामीले सोफा सेट नै लग्यौं।’ एक कर्मचारीले भने।

सोफा मगाइयो। राष्ट्रपति भण्डारीलाई काठमाडौं फर्किन हतार भएको कारण अन्य स्थानमा फोटो खिच्न समय थिएन। सोफा हेलिप्याडमै राखियो। अनि सुरु भयो फोटो ‘सेसन’। ‘पहिलो चरणमा प्रदेश प्रमुख र मुख्यमन्त्रीले फोटो खिचाउनु भयो।’ ती कर्मचारीले भने ‘दोस्रो चरणमा प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्री सबैले सामूहिक तस्वीर खिचाउनु भयो।’

करीब १५ फोटा १२ मिनेट लगाएर खिचाएपछि राष्ट्रिपति काठमाडौं फर्किन। त्यसको केही समयमै एक कर्मचारीले सामाजिक संजालमा फोटो हाले। जसमा लेखिएको थियो-‘सम्मानिय राष्ट्रिपति विद्यादेवि भण्डारी ज्यूसँगको एक तस्वीर।’

उक्त तस्वीरमाथि केही मिनेटमा नै चर्को आलोचना भयो। कसैले राष्ट्रिपतिका स्वर्गिय श्रीमान मदन भण्डारीको ‘मोति भ्रष्ट्र’ पत्नी भनेर गल्त प्रचार गरियो त कतिले उनलाई विलासी जीवन बिताउने महिला भनेर हावामा उडाए। केही समयपछि उक्त तस्वीर ती कर्मचारीले आफ्नो एकाउन्टबाट हटाए। तर चर्चा परिचर्चा रोकिएन।

यो तस्वीर अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ। अहिले राष्ट्रपतिले सोफा पनि हेलिकप्टरमै बोकेर हिँडेको हो भनेर सामजिक सञ्जालमा ट्रोल बनाएर उनलाई प्रश्न सोधिएको छ।

राष्ट्रपतिले चढेको हेलिकोप्टको मूल्य डेढ अर्ब

राष्ट्रपति भण्डारी सरकारले इटालीबाट किनेको हेलिकप्टर चढेर मकवानपुरको हेटौँडा पुगेकी थिइन्।

सरकारले करिब डेढ अर्ब खर्च गरेर भिआइपी र भिभिआइपीहरुका लागि ६ महिनाअघि इटालीबाट हेलिकप्टर ल्याएको थियो। १५ सीट क्षमताको यो हेलिकप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग हुने बताइएको छ। नेपाली सेनाले चलाउने गरी ल्याइएको सो हेलिकप्टरको कल साइन अगुस्टा ९ एनआरएएम हो।

एक वर्ष पहिले सेनाले आफ्ना लागि हेलिकप्टर ल्याएको थियो। तर हेलिप्कटर विशेष गरी राष्ट्रपतिको यात्राका लागि प्रयोग गर्ने निर्णय गरियो। निर्णय त गरियो तर चालकको अभाव, संचालन व्यस्थापन र मर्मत सम्भार लगायतको कुरा भने मिल्न सकेन। कुरा नमिल्दा ६ महिनासम्म हेलिकप्टरको प्रयोग हुन सकेन।

प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार दाङमा भएको कार्यक्रममा सहभागी हुन यही हेलिकप्टरको प्रयोग गरे। भूपु सैनिक सम्मेलनमा सहभागी हुन दाङ पुगेका उनी यही हेलिकप्टरमा काठमाडौं फर्किए।

मंगलबार सोही हेलिकप्टर चढेर राष्ट्रपति भण्डारी मकवानपुरको हेटौँडा पुगेकी थिइन्।

सर्वसाधारणबाट भएको विरोध तथा खरिद प्रक्रिया नै विवादमा आएको भन्दै राष्ट्रपति भण्डारीले यो हेलिकप्टर चढ्न रुची देखाएकी थिइनन् । तर उनी मंगलबार पहिलोपटक त्यसमा सवार भएकी हुन्।

राष्ट्रपति म्यानमार जाने क्रममा असोज २९ गते बुधबार बिहान शीतलनिवासबाट हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्। यसअघि सडकमार्ग भएर जाँदा सवारीका क्रममा सडक खाली गराउने गरिन्थ्यो। तर कार्यालय समयमा यसो गर्दा धेरे जाम हुने गरेको भन्दै निकै आलोचना पनि हुन थालेको थियो।

राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरिन्। भ्रमणका दुई दिन लम्बियो। उनी स्वदेश फर्किदा भने निजी सवारी नै प्रयोग गरेकी थिइन्। 

अहिले यो हेलिकप्टर भित्र्याएसँगै भीभीआइपीले गर्दा काठमाडौंमा हुने जामको समस्यालाई केही कम गर्ने विश्वास गरिएको छ। 

प्रकाशित मिति: : 2020-01-30 07:27:54

प्रतिकृया दिनुहोस्