एसियाली खेलकुद:  

नेपाली क्रिकेटले हाङचाउमा बचाइराखेको एउटा आश

चीनमा जारी १९औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटले नेपालको आशा अझै निभ्न दिएको छैन।

क्वाटरफाइनलसम्म पुगिसकेको नेपालले मंगलबार भारतको सामना गर्दैछ। लक्की ड्रमार्फत नेपाल भारतसँग खेल्न लागेको हो।

सुरुवातमै कैयौँ विश्व रेकर्ड बनाइसकेको नेपाली क्रिकेटको यो टिमले पूरै नेपाली खेलमा एउटा आशा बनिरहेको छ।

चीनको हाङचाउमा भइरहेको १९औँ एसियाडमा नेपालले समूह चरणको दुवै खेलमा सानदार जित हात पारेर क्वाटरफाइनलको यात्रा तय गरेको हो।

नेपालले समूह चरणको पहिलो खेलमा पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको मंगोलियाविरुद्ध २७३ रनको सानदार जित हात पारेको थियो। यो खेलमा नेपालले उत्कृष्ट प्रदर्शनी गरेर ७ वटा विश्व कीर्तिमानीसमेत बनायो।

पछिल्लो समय क्रिकेटमा बलियो पाइला अघि सारिरहेको नेपालले मंगोलियाविरुद्धको खेलमा विश्वसामु आफूलाई परिचितमात्रै गराएन, कैयौँ कीर्तिमानी खेलाडी र समूहको रेकर्ड पनि तोडिदियो।

नेपालले त्यो खेलमा टी-२० मा क्रिकेटको अहिलेसम्मकै सबैभन्दा विशाल स्कोर बनायो।

एसियाडकै पहिलो खेलमा सानदार जित हात पारेको नेपालले दोस्रो खेलमा माल्दिभ्समाथि पनि १ सय ३८ रनको जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

जारी १९औँ एसियाली खेलकुदमा २९ खेलका लागि करिब २३४ खेलाडी सहभागी भएका छन्।

तर, यति ठूलो संख्यामा नेपालबाट खेलले प्रतिनिधित्व जनाइरहँदा हालसम्म एक खेलबाट पनि पदक प्राप्त भएको छैन। राष्ट्रिय खेलकुद परिषद राखेपले प्राथमिकतमा राखेको खेलहरू एकएक गर्दै बाहिरिइसकेका छन्।

यस्तो अवस्थामा नेपालबाट पुरुष क्रिकेट टोलीसँग अब पदकको आश पनि गाँसिएको छ। पदकको आश राखिएका तेक्वान्दो, बक्सिङजस्ता खेलबाट नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ।

हरेक खेलमा निराशजनक प्रदर्शनी गरिरहेको नेपालको लागि पुरुष क्रिकेटले एउटा पदको आश जगाएको छ।

नेपालसँग क्वाटरफाइनलमा खेल्ने अन्य राष्ट्रहरू टेस्ट मान्यता प्राप्त छन्।

पुरुष क्रिकेटअन्तर्गत टेस्ट मान्यता प्राप्त राष्ट्र भएकाले नै भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेश सिधै क्वाटरफाइनल चरणमा पुगेका हुन्। यसका अतिरिक्त अफगानिस्तान पनि सिधै क्वाटरफाइनल चरणमा पुगेको छ।

यो समूहकै बलियो मानिएको भारतीय टिमसँगको खेल हेर्न नेपाली उत्तिकै उत्साहित पनि छन्।

‘एसियाडमा खेल्न आएको भारतीय टिमसँग इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको अनुभव छ’, राष्ट्रिय क्रिकेट टोली छनोट समितिको संयोजक दीपेन्द्र चौधरी भन्छन्, ‘तर गेम नै हो जे पनि हुनसक्छ हाम्रो टोली पनि एकदमै राम्रो प्रदर्शन गर्न सक्नेछ।’

गत महिनामात्रै एसिया कपमा भारतविरुद्ध सन्तोजनक प्रदर्शन गरेको नेपाल लगत्तै एसियन गेम खेल्न गएको हो। यो एसियाडमा भने एसिया कप खेलेका खेलाडीहरू छैनन्, तर भारतले भने आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई छनोट गरेर पठाएको छ।

एसियाडमा भारत रजत पदको दाबेदार टोली हो।

भारतले ऋतुराज गाइक्वाडको कप्तानीमा टोलीको घोषणा गरेको छ। उक्त टोलीमा टी-२० विश्वकप खेलिसकेका र आइपिएलका उत्कृष्ट खेलाडीहरू छन्।

नजिकिँदै गरेको विश्वकपको कारणले गर्दा भारतले दोस्रो रोजाइको टोली पठाएको हो।

‘भारतविरुद्ध नेपालले पहिला ब्याटिङमा अलि बढी ध्यान दिनुपर्छ, नेपाल यदि पहिला ब्याटिङमा उत्रियो भने भारतविरुद्ध १७०/१८० रन त बनाउनैपर्छ, नत्र भारतले पहिला ब्याटिङ गर्‍यो भने उनीहरूले पनि १८५ जति त बनाउँछन्’, संयोजक चौधरी भन्छन्, ‘नेपालले भारतले दिएको टार्गेट पछ्यायो भने गेममा जे पनि हुन्छ सक्छ।’

भारतीय ब्याटिङको भविष्य मानिएका रिंकु सिंह, युवा ओपनर यशस्वी जैसवाल जस्ता खेलाडी मगंलबार नेपालविरुद उत्रिने छन्।

‘हामी एसियाड खेल्न पदककै लागि गएको हो, एसियाडमा भारत सबैभन्दा बलियो टोली हो, त्यस्तो बलियो टोलीसँग हामी प्रतिस्पर्धा गर्दैछौँ’, संयोजक चौधरी भन्छन्, ‘भारतलाई नेपालले जित्यो भने पक्कै पनि हामीले पदक जित्नेछौँ।’

प्रकाशित मिति: : 2023-10-02 18:35:00

प्रतिकृया दिनुहोस्