त्रिकोणात्मक सिरिज खेल्न अमेरिकन टोली नेपालमा

बिएल संवाददाता

काठमाडाै‌ं

आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्नका लागि अमेरिकी टोली नेपाल आइपुगेको छ। 

यही बुधबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिज खेल्नका लागि अमेरिकी टोली आज आइपुगेको हो। 

सिरिज माघ २२ देखि २९ गतेसम्म हुनेछ। अमेरिकन टोली भारतको मुम्बईमा प्रशिक्षण र ३ दिन अभ्यास खेल खेलेर नेपाल आइपुगेको हो। सिरिजमा तीन टोलीबीच एकापसमा दुई–दुई खेल हुनेछ।

अमेरिकी क्रिकेट टिम एक दशकपछि नेपाल आएको हो। सन् २०१० मा नेपालमै भएको डिभिजन ५ मा खेल्न अमेरिका पछिल्लो पटक काठमाडौं आएको थियो। डिभिजन ५ को फाइनलमा नेपालले अमेरिकालाई हराएर उपाधि जितेको थियो। 

अहिलेको अमेरिकी टिममा भारत, वेष्ट इन्डिजदेखि दक्षिण अफ्रिका र अष्ट्रेलियाका खेलाडीहरू समेत छन्। नेपाली टिममा भने सन् २०१० मा डिभिजन खेलेका ४ खेलाडी अझै छन्। जसमा कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का शरद भेषवाकर र विनोद भण्डारी छन्।

सन् २०२३ को ओडिआई विश्वकपको रोडम्यापको रूपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालले पहिलो सिरिज खेल्न लागेको हो। यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ। अर्को टोली ओमान ८ अंकसहित चौथो स्थानमा छ। नेपालले खाता खोल्न बाँकी छ।

यस्तै, सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएपछि नेपालले घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको यो पहिलो पटक हो। 

अमेरिकी टोलीका खेलाडीहरु

सौरभ नेट्रावाल्कर (कप्तान), स्टेभेन टेलर, करिमा गोरे, इयान होल्यान्ड, अक्षय होमराज, एल्मोरे हट्चिनसन, आरोन जोन्स, नोस्थुश केन्जिगे, जेभिएर मार्शल, मोनाङक पटेल, तिमिल पटेल, निसराग पटेल, क्यामरोन स्टेभेन्सन र रस्टी थेरन रहेका छन्।
 

प्रकाशित मिति: : 2020-02-03 23:50:00

प्रतिकृया दिनुहोस्