मुक्त कमैया

यसै पनि माघी मलाई उत्ताउलो चाड लाग्छ। त्यहीँ माथि यसपालिको हुस्सुले माघीलाई झन उत्ताउलो बनाइदियो। थारू गाउँमा जन्मेको मलाई माघी पनि थारू बराबरनै लाग्छ।

सिद्रा माछा, बङ्गुर, अमट्टाको अचार, ढिक्री र पहेँलो जाँड छैन भने त्यो माघी, के माघी। आफूले नखाए पनि खाइरहेका थारूसँग गफिएर बस्न्नुको मज्जा। कुनै महेफिलमा बसे बराबरकै लाग्छ।

दिनभरि कोठामा बसेको मलाई कोठा बाहिरको माघीले तानीरह्यो। बेलुका तिर अलिकति भए पनि माघी मनाउने सोचले फिरूको पसलसम्म खुट्टालाई दुःख दिएँ।

फिरूको पसलभरि पहाडेको माघी चलिरहेको रै’छ। अरू कसैको  चाड मनाउनु छ भने, उनीहरूकै घरसम्म पुग्ने हो भने। आफ्नै चाड जस्तो लाग्छ। माघी, गुरूवा अचेल आफ्नै लाग्नुका कारण यही त होला।

‘फिरू ठाउँ त खाली छैन त,’ उसको कानमा मुख लगेर भने।

‘दाइ घर भित्र जानून त्यहाँ कोही छैन।’

फिरूका राति आउने ग्राहकका लागि उसले आफ्नो घर भित्रै पनि सामान राख्ने गरेको छ।

त्यहाँ अन्तराम एक्लै भुइँमा पलेटी कसेर बसेको थियो। अन्तराम हाम्रो घरको अन्तिम कमैया थियो।

उसको छेउको खाटमा गएर बसेँ। म बस्ने बितिकै उसले प्याच्च  बोल्यो।

‘म त तम्रा घरका गोरू हलाउनै छोड्यार म त बाइगाए’

मैले भने, ‘कहाँ’

उसले अलिकति हाँसेर भन्यो, ‘कमैया मुक्ति भया दिनका कुडा हुन यी।’

ओहो। उसलाई यो कुरा आजसम्म पनि याद रहेछ। उसले मातेर पनि ती कुरा नभुलेको रहेछ।

अन्तरामले आफ्नो मालिकसँग बदला लिएको धेरै वर्ष भए पनि आफ्ना काटिएका प्याँख सम्झेर ऊ आज पनि निरास हुन्छ। त्यसमाथि प्याँख आजसम्म नपलाइदिनुले उसलाई उदास बनाइ दिँदोरहेछ।

‘मेरा बुवाले केही भनेनन्?’ मैले चाख देखाएझैं गरेँ।

‘बाजेले त केही भनेनन्, बजैले  त् यत्ति जोति जा भनेकी छिन् मैले मानेनँ,- उसले गम्भीरताका साथ भन्यो।

‘किन त्यसो गर्‍या त?’, मैले जिस्किँदै सोधेँ। 

उसले गिलासमा रहेको रक्सी स्वाट्ट पारेर अलिकति चाउचाउ मुखमा हाल्दै भन्यो,‘तम्रा बुवालाई म निकै मान्नैन।’

‘किन, अन्तराम?’ बल्ल  मैले चाख लिँदै  सोधेँ। कसैले तेरो बुवालाई म ठीक मान्दैन भनेको थियो त्यो पनि मेरै अगाडि त्यसैले सायद मेरो अनुहार कालो भएको हुँदो हो।

उसले तुरुन्तै आफूले नबोल्नुपर्ने कुरा बोलेको महसुस गरिहाल्यो र भन्यो, ‘छोड्द्याओ पुराना कुडा।’

‘भौजी भौजी’ भन्दै  पसल्नीलाई बोलाउन थाल्यो।

‘का’ भन्दै पसल्नी भित्र पसी।

‘एक पौवा दारू देटो,’‘उसले विचारै नगरी दारू माग्यो।

‘तोरिक सौ रूपैया उधार हुइगिल बा अब नाइ डेम,’ पसल्नीले उसलाई हैसियत सम्झाइदिइ।

‘काल  टोरिक सक्कु उधार चुक्ता करडेम,’ उसले केही हदसम्म विचार गरेर बोल्यो।

‘तै घरे जा निटो तोरिक जन्नी आइट,’ साहुनीले देखावटी डर देखाइ।

‘मोहिन दरूवा मान्के एक पौवा डार्डे भौजी’ ‘उसले एकदम विचार पुर्‍याएर बोल्यो।

मैले  बिचमा प्याच्च बोलेँ, ‘पैसा तिरेर खाँ न त।’

‘हड सन्चो भए को राडी नाइ भन्नी हो’- भन्दै उसले ङिँच्छ दाँत देखायो। अनि फेरि थप्यो, ‘बिष  खाउ भने पन हात पैसा छैन,’ उसले फेरि विचार नपुर्‍याईँ बोल्यो।

‘मेरो बुवालाई किन राम्रो मान्दैनस् भन्छस् भने म खुवाउँछु?’ मैले उसको गरिबीको फाइदा उठाउन खोजेँ।

 उसले म तिर आधा  नसाले लठ्ठ  आँखाले हेर्‍यो।

‘भन्छ्स्?’ मैले हिसाब आफ्नो हिस्सामा पार्न खोजेँ।

 उसले दुई हात जोड्दै भन्यो, ‘साय प्रभु मैले तेसै भन्याको हूँ , म बाजेलाई निको मान्नो छु भन्या।’

उसले आफ्नो ईमानको रेट बढाउन थाल्यो।

म हाँस्दै बोलेँ, ‘अन्तराम अब त्यो जमाना रहेन भन्न रे,’ मैले उसको स्वभीमानमा केही रङ दल्न खोजेँ।

‘म मापे क्या भनूँ,’ ऊ लाटो बन्न खोज्यो। ऊ अछामी  पनि मजाले बोलिरहेको छ। मलाइ थारू लबजको अछामी पनि खुब मनपर्ने कुरा हो। त्यसमाथि अन्तरामको बोली झन् मिठो लागिरहेको थियो।

म खाट छोडेर भुइँमा ऊ सँगै बस्न गएँ।

‘तमि यहाँ क्या हर्न आएका हौ?,’ उसले केही नपाएर एउटा प्रश्न सोध्यो।

‘तलाईँ भेट्न’, मैले विचार गरेर उत्तर फर्काएँ।

‘चुरोट खान आएका हौला, तम्रा टोलका सबै चुरोट खानाछन्, हो कि नाइँ?,’ उसले मलाई अन्तै मोड्न खोज्यो।

म जबर्जस्ती  रिसाएर बोलेँ, ‘मुऽऽऽऽ भन्ने भए भन नत्र म जान्छु।’

ऊ हाँस्दै नम्र भएर बोल्यो, ‘भनौंला दारू त माग।’

‘ए काइली एक बोत्तल दारू देत,’ मैले लगानी गर्न सुरू गरेँ।

‘चखना पनि मगाव है, दस रूपैयाँ त हो,’ उसले आफ्नो ज्यालाको रेट बढायो।

काइली कोठा भित्र पसिसकेकी थिइ तै पनि ऊ चर्किदै ‘भौजी, भौजी दालमोट फि नान,’ भन्दै विचार नगरी बोल्यो।

‘तँ भन्दै गर काइलीले लाइदिन्छे,’ मैले लगानीको प्रतिफल खोजेँ।

‘भन्या त कमैया मुक्ति भयो रेडियोले भन्नासाथ म त हडिगएँ ’, उसले बडो होसपूर्वक बोल्यो।

‘त् मेरा घरको  कमैया कसरी  भइस्,’ मैले मौकाको फाइदा उठाएँ।

‘तम्रा बुवाले राख्या’, उसले  विचार गरेर  छोटो उत्तर दिएर चुप बस्यो। ऊ अझै पनि मलाई टार्न खिजिरहेको थियो। तर, यसबेला उसले आफ्नो  भाउ बढाउन चै खोजेको थिएन।

उसको अगाडि काइलिले एक बोत्तल दारू र उसको हातमा  एक प्याकेट दाल्मोट थमाईदि।

उसले दालमोटको प्याकेट खोल्दै मसिनो स्वरमा क्षमायाचनासहित  बोल्यो, ‘तमि नाटो नमाने है, म सब भन्छु।’

‘मेरा बुवा आमा तम्रा घर कमैया छिया, म नान्कै छिया। म पन पड्डो छिया राक्या,’ भन्दै ऊ नमज्जाले आफै माथिको उपहासको हाँसो हाँस्यो। र गिलासमा दारू खन्यायो।

मैले एउटा चुरोट सल्काएँ,  ऊ बोल्दै गयो,‘म प्रठम हुनोछिया तम्रा जेठा दाइलाई सोध्नु न । ती त मेरा सात्या  हुन्,’ उसले अलिकति रक्सि पियो।

र फेरि बोल्यो, ‘पाँचमा पढ्ने बेला त् मेरो बिहा भयाको हो, तम्रा बुवाले हरि दिएका हुन् , मेरा बुवालाई  मलाई  पढाउने मन छियो। तर, पाँच कक्षा मुथी फिस लाग्दो छियो, कहाँबाट पाउने छिया बड्डा’, उसले फेरि आफ्नै बाउमाथि एक खल्लो हाँसो हाँस्यो।

‘अनि’ मेरो जिज्ञासा् बड्दै गैरहेको थियो।

‘एक कुडा भनुक्यात?,’ उसले आँखा झिम्काउँदै भन्यो।

‘भन’ म सामान्य हुँदै बोलेँ।

‘तमी चुरोट नखाओ बैरागी जा देखिन्छाओ,’ उसले बोलीमा नौनी लगायो।

फेरि बोल्यो, ‘एक चुरोट मलाई मागिद्याओन त्।’

काइली कोठा भित्रै थि। मैले मेरो लगानी बढाइ दिन इसारा गरेँ। काइलीले उसको हातमा एक खिल्ली चूरोट थमाई दि। लाइटर मैले बालिदिएँ।

‘तेरो बिहे गरैदिनुमा त मेरा बुवासँग रिसाउनु पर्ने कारण त् देखिएन,’ मैले विचार गरेरै बोलेँ।

उसले मुखबाट धुवा छोड्दै बडो होसियारीपूर्वक भन्यो,‘पख भनै त छु, बात हाल्या जा कुडा छन्।’

‘ए पख त, तलाईँ यी अछमी टुक्का कल्ले सिकायो?’, मैले आश्चार्य  व्यक्त गरेँ।

‘ए विचाराउ, तमी कुडा क्या हदा छौ? म अछामीका घर जन्मे तै हुर्क्या मेरा सब साते अछामी, क्या तेती नजानुलाक्या, क्या म लाटो छु क्या?,’ उसले आफ्नो क्षमताको पुष्टि गर्‍यो।

‘हेर त्यही साल माघीका दिन, तम्रा ठूला कोठामा सबै जम्मा भयका छिया, तल्ला गाउदेखिका थाडू लिकन हप्र हप्र सम्मका थाडु, कमैया राख्ने पचिस तीस जना पाहाडीया पन छिया, सबै मिलाइकन हुनाहुन सय जना,’

उसलाई रक्सीको मात्र बडै गैरहेको थियो र त जिब्रो लर्बरिदै गैरहेको थियो।

‘के हुन्थ्यो त्यहाँ भित्र?,’ मेरो जिज्ञासाको मात्रा बढ्दै गयो।

हेर एकातिर तम्रा बुवाहरु बसेका हुना छिया, अर्का तिर हामीहरू बिचमा काठका मुढा बालेका हुना छिया।’

‘अनि’

उसले अलिकति दारू खाएर गिलास भुइमा राख्दै भन्यो,‘थारूहरू बुन्गुरको मासु र रक्सी खाना छिया, पाहाडीहरू खसीको मासु खाना छिया,’ फेरि अलिकति  हाँस्दै थप्यो, ‘ज्या बिगाद्यो तेही मासुले त् बिगाड्यो।’

मैले हाँस्दै सोधेँ, ‘मासुले के बिगार्‍यो?’ तै  दिन मासु खाना पाइन्छ भानिकन म पन गयाको छिया। कमैया राख्ने, छोड्न्या, सौकी तिर्नेका कुडा हनाइ छिया।  तम्रा बुवाले त् मेरा बुवालाई भनेले,‘ए अगुवा तैले छोरा ब्या हरि सकेली अब तेरा बा छोरा मेराइ घर कमैया बस, तेइको बिघाह, मसेउरा, दाल, नुन, तेल सब भोलि आइकाना लैजाए, के भैछई त्?’ उसले फेरी एक घुट्को दारू घुट्कायो राता आखा पार्‍यो ऊ हिजो सम्झेर रन्थनियो सायद।

अनि फेरि बोल्न थाल्यो,‘तम्रा बुवाले त्यति भनिसके पछि मेरा बुवा क्या भन्ने छीया त्, ‘होइजाइ किसनुवा’ भने।

‘बाजेले पैला  मेरो  ब्या  गराए अनि कमैया बनाए  राजनीति हर्या। म सप्पै राउनो छु’ फेरि आफ्नै लाचारीमाथि एक हाँसो हाँस्यो।

उसले अलिकति झुठो बोल्यो, ‘म बाजेलाई निको मान्नो छु। आजकाल पन। तर, बाजेले आजसम्म मैसँग  बोल्याका छैन चौध पन्द्र वर्ष भैगो, सरकारले कमैया मुक्ति हर्यो हाम्रो क्या गल्ती भयो त, तमि भन त् अब।’

‘तेरो त केही गल्ती छैन,’ मैले उसको पुरानो तर कहिलेकाहीँ मात्र दुख्ने घाउमा अलिकति मल्हम लगाउन खोजेँ।

‘अनि आज भोलि के गर्छस त?’ मेरो जिज्ञासा कायम रहिरह्यो।

‘क्या हर्ने छिया, इट्टा भट्टा नो काम हड्दो छिया। यै चिसाउनो काम हरिसकिनैन,’ उसले थारूहरुको साझा दुःख पोख्यो।

‘एकदम लापरबाहीका साथ मैले सोधेँ,‘अनि त्यही जोइ क्या हद्दी छ त’

‘त्यो पन इटा भट्टा काम हद्दी छि’, आफ्नो कमजोरी स्वीकार्दै बोल्यो।

‘भने पछि तेरा दुःख उसाइ छन्,’ मैले दया देखाउँदै बोलेँ।

‘का जाने छिया दुःख?,’ उसले दया खोजिरह्यो।

‘अनि संस्थाले केही सहयोग गर्दैनन् र?’,मैले हिजो दिउँसोको कामको जस लिन खोजेँ।

‘रेडियौनो बोल्न दिना छन् त , मैले पन आज लागिकन दस पल्ट रेडियौनो  बोलि सकेँ’, उसले आफैंलाई जिस्कायो। उसलाई रक्सी लाग्यो सायद।

हिजो मात्र मैले काम गर्ने एनजीओले। मुक्तकमैया थारूहरू जो सुकुम्बासी बस्तिमा बसिरहेका छन् उनीहरूलाई माघीको अवसर पारेर न्यानो लुगा बाँढेका थियौं।

‘कस्तो कुरा गर्छ,’ मैले जस पाउने आश बाँकि राख्दै भने।

फेरि ऊ साचो बोल्न थाल्यो,‘विकासी धानको बिउ दिन्छन् अनि,’ बोल्न छाडेर  मुसुक्क हाँस्दै भन्यो।

‘घर त कै दिन घर उचाडिदिन्या हो सरकार धान बिउ कहाँ लाउन्याओ’, मलाई झनक्क रिस उठ्यो उसको कुरा सुनेर।

तै पनि म शान्त हुँदै उसलाई याद दिलाउन खोजेँ, ‘कस्तो कुरा गर्छस्। संस्थाले कम्बल, भाँडाकुँडा, सुपानेट झुल त दिइरहेको छ त।’

‘ती त दिएयाको छ, मेरा घर २० थाल चार भड्डु छन्’

फेरि सहि जवाफ दियो।

‘अनि के कुरा गर्‍या त?’, मैले जितेको महसुस गर्दै बोलेँ।

‘थालौ नि हाल्ने भात चाइनो छ कि नाइ?’ उसले सानो तर उसैलाई उत्तर था भएको प्रश्न गर्‍यो।

‘अनि तिमीहरूलाई सिप पनि सिकाइरहेको छ नि त?,’ मैले फेरि अर्को जस पाउने आस गरेँ।

ऊ अलिकति जंगिदै भन्यो,‘मैले मोटर सपार्ने तालिम लियाको छु, काम गर्न जाने बेला त पाँच हजार दिनिउ भन्नो, मेरा तिन केटाकेटी छन्, पाँच हजारले पुग्दो छ कि नाइ?’

यतिकैमा ढोकामा एक आइमाई देखा परि।

म्याक्सी लगाएकी एकदम  दुब्ली।

उसले एक्कासी चर्को स्वरमा एउटा प्रश्न गरि,‘कोरिया कित्ना खाइबो?’

मैले काइलीको हातमा सय रुपैया थमाउँदै भने, ‘बचेको पैसाले यसको उधारो घटाइदिनू।’

म ढोका बाहिर निस्केँ। त्यो आइमाई ढोका भित्र पसी।

प्रकाशित मिति: : 2020-02-05 03:09:37

प्रतिकृया दिनुहोस्