बालुवाटारको सरकारी जग्गा प्रकरण: गच्छदार सांसदबाट निलम्बित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्।

बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी पाइएपछि उनी निलम्बनमा परेका हुन्। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललिता निवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो।

त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए। गच्छदारले नै बालुवाटारमा प्रधानमन्त्री निवासभित्रको जग्गा सट्टापट्टा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएका थिए।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगसम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2020-02-06 07:29:41

प्रतिकृया दिनुहोस्