प्रशिक्षकले राजीनामा दिएर हाेइन, कप्तान अनुसारको प्रदर्शन नहुँदा हार्‍याैं: मल्ल

दीप सुवेदी

काठमाडाैं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताको मुखमा मूख्य प्रशिक्षक उमेश पटुवालले दिएको राजीनामाले खेलमा केही असर नगरेको बताएका छन्।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग १८ रनले पराजित भएपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन्। 

‘राजीनामाले खेलमा कुनै असर गरेको  छैन। हामीहरुले त्यसमा कुनै ध्यान दिएका छैंनौ। प्रशिक्षक यसअघि नै राजीनामा बुझाउँछु भन्नु भएको थियो। खेल हार्नुमा ओपनिङ पक्ष राम्रो नहुनुलाई मान्न सकिन्छ।’ उनले भने।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलोपल्ट कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान समेत रहेका पारस खड्काले ओपनिङ सम्हालेका हुन्। यो खेलमा १२ बल खेलका ज्ञानेन्द्रले मात्र १ रन जोड्दा पारस १४ बलमा ३ रन जोड्दै आउट भएका थिए।

‘ओपनिङ चल्न नसक्दा खेलले नै अर्को मोड लियो।’ उनले भने ‘हामीले कप्तान अनुसारको प्रदर्शन दिन सकेनौं।’

उनले शरद भेषवाकरको विकेट पतन भएपछि नेपालको हातबाट खेल टाढिएको पनि बताए।

मल्लले भने, ‘शरदको विकेट पतन भएपछि गेम हातबाट टाढा गएको हो। विनोद भण्डारी र शरद खेल्दासम्म नेपालकै पक्षमा थियो। विनोदको विकेट पनि गलत टाइममा गयो। प्रेसरहरु हामी माथि परिरह्यो।’  भेषवाकरले उत्कृष्ट पारी खेलेका थिए। उनी १०८ बलमा ५ चौका प्रहार गर्दै ५५ रन बनाएर आउट भए। 

यता विनोद भण्डारीले २४ बलमा २६ रन बनाए। उनी खवार अलिले ३३ औं ओभरमा फ्याँलेको पहिलो बलमा क्याच आउट भए। उनले प्रहार गरेको बल सन्दीप गौढले समातेका थिए।

के अर्को म्याचमा ब्याटिङ अर्डर चेन्ज हुन्छ त भन्ने जिज्ञासामा कप्तान मल्लले अहिले यही सेट राम्रो भएको बताए।  ‘अर्को म्याचमा ब्याटिङ लाइन अप चेन्ज गर्नुपर्ने खास कारण त म देख्दिन। पारस र म सेट भयौं भने तलसम्म सोँची रहनु पर्छ जस्तो लाग्दैन। हामी दुई जना सेट भयौं भने अर्काे खेलमा राम्रो प्रदर्शन गर्न सक्छौं।’ 

उनले आजको खेलमा नेपालका युवा बलर सुशन भारीको प्रदर्शनको राम्रो भएको बताए। ‘उसले राम्रो गर्यो। त्ससैले हामीले पनि बलिङमा कम ब्याक गरायौं,’ मल्लले भने।

यो खेलमा सुशनले १० ओभरमा १ मेडन राख्दै १४ रन मात्रै खर्चिएर ३ विकेट हात पारे। यस्तै भरपर्दा बलर सन्दीप लामिछाने १० ओभरमा १ मेडनसहित ४५ रन खर्चिए पनि विकेट लिन सकेनन्। 

‘डेब्यु गरेका खेलाडीहरुले राम्रो प्रदर्शन गरे। धेरै पछि लेफ्ट आर्म स्पिनरको रुपमा सुशनले राम्रो खेलेका छन्। अब यो फर्मलाई उनले कत्तिको निरन्तरता दिन सक्छ भन्ने न हो।’ मल्लले भने।

यता कप्तान मल्लले ओमानको ब्याटिङलाइन अप राम्रो भएको बताए। ‘ओमानको ब्याटिङलाइन अप राम्रो पनि थियो। खास गरि उनीहरुको अनुभवले पनि काम गरेको जस्तो लाग्छ। उनीहरुको अनुभवले धेरै काम गरेको हो।’

उनले अर्काे खेलमा हार नहुने जिकिर समेत गरे। ‘जित्नका लागि खेलिन्छ। आज के भयो भन्दा पनि अब नयाँ गेम कसरी जित्ने भन्न तर्फ सोच्छौं। हामीले ब्याटिङमा सुधार गर्नुपर्ने छ। अर्को म्याचमा हाम्रो हार हुँदैन।’

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको २ वर्षपछि नेपालले पहिलाेपल्ट घरेलु मैदानमा एकदिवसीय खेल खेलेको हो। सन् २०१८ मा भएको विश्वकप छनोटमा नेपालले एकदिवसीय अन्तराष्ट्रिय पाएको थियो।

एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि विदेशी भूमिमा ६ खेल खेलेको थियो।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिबार अमेरिकासँग खेल्दैछ।

नेपाल–ओमान र अमेरिकाबीच एक साता चल्ने त्रिदेशीय प्रतिस्पर्धामा हरेक देशले दुई–दुई गरी चार खेल खेल्नेछ।

जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्। सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका भएकाले नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

टोलीका शीर्ष ३ टोली सोझै विश्वकप छनोट चरणमा पुग्नेछन्। समूहमा अहिलेसम्म ८ खेलबाट ६ खेल जितेको अमेरिका शीर्ष स्थानमा छ। नेपालको भने सिरिजमा यो पहिलो खेल हो। घरेलु मैदानमा पहिलो खेलमै हार बेहोरेको नेपाललाई थप दवाब परेको छ।

प्रकाशित मिति: : 2020-02-06 07:47:37

प्रतिकृया दिनुहोस्