म भाग्यमानी रहेछु, घडेरी खोज्दा धन्न बालुवाटारमा परेन्छु: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू घडेरी खोज्दै हिँडेको र भवितव्यबाट जोगिएको बताएका छन्। जग्गा किन्ने व्यक्तिले धनीपूर्जा हेर्ने र मालपोतमा गएर जग्गा पास गर्ने भएकाले आफू भवितव्यबाट जोगिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘म भाग्यमानी रहेछु। म घडेरी खोज्दै हिँड्याथें, बालुवाटार धन्न परेनछ’प्रधानमन्त्री ओलीले मंगलबार साँझ बालुवाटारमा भने, ‘त्यसबेला यहाँ (बालुवाटारमा) किनबेच भइराख्या रहेछ, म घडेरी खोज्दै हिँड्याथें, धन्न बचेंछु। खोज्ने धनीपूर्जा हो, पास गर्ने मालपोतमा गएर हो। मैले बालकोट गएर किनें।’

तपाईकाे पनि कोही पर्नुभएन छ कि? भनेर पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले भने ‘किन्न त कतै–कतै किन्नुभयो होला, अन्तै किन्नु भो यहाँ (बालुवाटारमा) पर्नुभएको छैन।’

बालुवाटारको जग्गा प्रकरणमा कसलाई कारवाही गर्ने वा नगर्ने भन्ने विषय सरकारको नभएर अख्तियार र अदालतको भएको उनले बताए। ‘सरकारको काम जग्गा रोक्का गर्ने मात्र हो। अदालत र अख्तियार बन्ने होइन। हामीले त्यो जग्गा रोक्का राखेका छौं।’ प्रधानमन्त्री ओलीले भने।

आफूले यो काममा कतैबाट पनि हस्तक्षेप नगरी काम गरियोस् भनेर मातहतका निकायलाई निर्देशन दिएको समेत उनले जानकारी दिए। प्रधानमन्त्री ओलीले भने, ‘मैले प्रहरीमा, सरकारका निकायहरुमा पनि दबाव र हस्तक्षेपमा काम नगर्नका लागि निर्देशन दिएको छु। दबाव र हस्तक्षेपमा मबाट हुँदैन।’
 

प्रकाशित मिति: : 2020-02-06 08:38:54

प्रतिकृया दिनुहोस्