चर्चित भारतीय कोरियोग्राफर आचार्यविरूद्ध यौन शोषणको उजुरी

एजेन्सी

मुम्बई

बलिउडका चर्चित कोरियोग्राफर गणेश आचार्यमाथि यौन शोषणको उजुरी प्रहरीमा दर्ता भएको छ। बुधबार अम्बोली पुलिस स्टेशनमा उनीविरूद्ध उजुरी दर्ता भएको हो। उजुरीमा थप दुई महिला जयश्री केलकंर र प्रिति लाडकाे नाम पनि संलग्न छ। 

प्रहरीमा उजुरी दर्ता गरेकी पीडित महिलाले २६ जनवरीमा आफूमाथि कुटपिट भएको बताएकी छिन्। 

अतिरिक्त प्रहरी आयुक्त मनोज शर्माले भने, ‘गणेश आचार्य र दुबै महिलाविरूद्ध उजुरी दर्ता भइसकेको छ। छानबीनको काम बाँकी छ।’ 

गत महिना आफूलाई जबरदस्ती एडल्ट फिल्म देखाउन खोजेको आरोप ३३ वर्षीय पीडित महिलाले लगाएकी थिइन। गणेश हाल भारतीय फिल्म एवम् टेलिभिजन कोरियोग्राफर्स संघको महासचिव पदमा नियुक्त छन्। 

उजुरी दर्ता गरेकी महिलाले सन् २००९–१० तिर आफू गणेशको अफिसमा भेट्न गएको र त्यही उनले एडल्ट भिडियो हेर्न बाध्य पारेको आरोप लगाइन्। गत साता एक पत्रकार सम्मेलनमा गणेशले आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए।
 

प्रकाशित मिति: : 2020-02-06 11:46:00

प्रतिकृया दिनुहोस्