त्रिकोणात्मक सिरिज: आज नेपाल र अमेरिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपाल शनिबार अमेरिकाविरुद्ध खेल्दैछ। यो खेल नेपालका लागि प्रतिष्ठासँग जोडिएको खेल पनि हो। अमेरिका र नेपालको खेललाई सबै दर्शकले कुरेर पनि बसेका छन्।

त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

सन् २०१० पछि पहिलो पटक नेपाली भूमीमा खेल्न आएको अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएको थियो। नेपाल पनि ओमानसँग १८ रनले नै पराजित भइसकेकाे छ। नेपाल फितलाे ब्याटिङ प्रदर्शनका कारण पहिलो खेल गुमाउन बाध्य भएको थियो। शनिबार नेपालले अमेरिकाविरुद्ध जित निकाल्दै खेलमा पुनरागमन गर्ने ठूलाे संभावना रहेकाे छ।

एसोसियट क्रिकेटमा नेपाल र अमेरिका चिरप्रतिद्धन्द्धी पनि हुन्। सन् २००८ देखि विभिन्न प्रतियोगितामा खेल्दै आएकाे नेपाल र अमेरिकाबीचकाे खेलमा नेपाल घरेलु मैदानका कारण केही बलियाे देखिन्छ।

यसअघि धेरै जसाे प्रतियाेगितामा अघिल्लो चरण प्रवेश गर्न नेपालले अमेरिकालाई नै सिकार बनाउँदै आइरहेकाे छ। त्यसैले यसपालि पनि पुरानाे मान्यता दाेहरिनेमा खेलप्रेमी नेपाली ढुक्क छन्।

सन् २०१० मा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५ मा नेपाल कीर्तिपुर मैदानमा अमेरिकाविरुद्ध नै सफलता हात पारेर डिभिजन चारमा उक्लिएको थियो। 

अमेरिकामा क्रिकेट खासै महत्वको खेल हाेइन। विभिन्न देशबाट आप्रवासीका रुपमा भित्रिएका क्रिकेट प्रेमीको लगाव र केही सरकारी पक्षको सहयोगमा अमेरिकामा क्रिकेट बोर्डले निरन्तर काम गर्दै आइरहेकाे छ। 

२०१२ मा भएको डिभिजन चारमा नेपाल र अमेरिका फेरि भिडेका थिए। जसमा नेपाल विजेता बन्दा अमेरिका दोस्रो भएको थियो। नेपाल र अमेरिकाले २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रीमा पनि खेलेका थिए। यति बेला नेपाल च्याम्पियन भएर डिभिजन दुई मा उक्लियो भने अमेरिका डिभिजन तीनमै यथावत रह्यो। सो प्रतियोगितामा अमेरिका तेस्रो भएको थियो।

२०१४ मा भएको डिभिजन थ्री मा भने अमेरिका फेरि रेलिगेट भएर डिभिजन चारमा झरेकाे थियाे। १५ जुन २०१५ मा अमेरिकी क्रिकेट आइसीसीको प्रतिबन्धमा पर्यो। बोर्ड प्रतिबन्धमा परेपनि खेलाडीलाई खेल्न पाउने अधिकार आइसीसीले दिएकाे थियो। यहि अवस्था नेपालका लागि पनि लागू भएको थियो। नेपाल क्रिकेट संघ प्रतिबन्धमा पर्दा राष्ट्रिय खेलाडीले पनि खेल्न पाएका थिए।

२०१६ मा भएको डिभिजन चार मा अमेरिका दोस्रो स्थानमा रहदै थ्री मा उक्लिएकाे थियो। तर सो प्रतियोगितामा तेस्रो भएपछि न घटुवा भयो न बटुवा नै। यो बेलासम्म नेपाली क्रिकेट टिम डिभिजन दुईमा पुगेर आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको थियो।

२०१७ मा अमेरिकी क्रिकेटमा नयाँ कार्यसमिति गठन भयो। जसका कारण यूएसए क्रिकेट भनेर बोर्ड गठन भयो। जसलाई आइसीसीले नयाँ सदस्यता प्रदान गर्यो।

२०१८ मा अमेरिका विश्व क्रिकेट लिग दुईमा बुढवा भयो। सिंगापुरमा भएको प्रतियोगितामा उसले ऐतिहासिक सफलता हात पार्यो। यसपटक अमेरिकी क्रिकेट टिमको प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायके रहेका थिए। नेपाललाई ऐतिहासिक सफलता दिलाएका पुबुदुले अमेरिकालाई पनि नयाँ उचाईमा पुर्याए।

डिभिजन दुईमा शीर्ष चारमा रहेपछि अमेरिकाले विश्वकप क्रिकेट लिग दुई खेल्ने मौका पायो। जुन अमेरिकाका लागि २०२२ को विश्वकप क्रिकेटको छनोटको ढोका खोल्नेछ। यसैका लागि अमेरिका पुरानो रणमूभीमा खेल्दैछ। 

यसअघिको अमेरिकी टिम र अहिलेकोमा निकै भिन्नता छ। यसपटक अमेरिकी टिममा अष्ट्रेलिया, इंग्ल्याण्ड, वेष्ट इन्डिजका खेलाडीको बाहुल्यता रहेको छ। उसले अहिलेसम्म खेलेका आठ खेलमा अमेरिकाका मुख्यगरि दुई खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ। जसमा आरोन जोन्स र मोनांक पटेल रहेका छन्। यी दुई खेलाडी जारी प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सूचिमा शिर्ष १० मा रहेका छन्। जोन्स दोस्रो स्थानमा छन भने पटेल आठौं स्थानमा छन।

जोन्सले आठ खेलमा तीन सय ४६ रन बनाएका छन्। जसमा उच्च स्कोर ९५ रन रहेको छ। उनले अहिलेसम्म तीन वटा अर्धशतक बनाएका छन्। यस्ते पटेलले आठ खेलमा दुई सय २१ रन बनाएका छन्। जसमा उनले पछि दुई वटा अर्धशतक हिर्काएका छन्।

यस्तै अर्का डरलाग्दा खेलाडी स्टेभेन रायन टेलर छन्। अलराउण्डर टेलरले ब्याटिङमा एक सय ८२ रन बनाएका छन् भने बलिङमा ८ विकेट लिएका छन्।

नेपाली भूमीमा पनि राम्रो नतिजाको अपेक्षा गरिरहेको अमेरिकी टिम मुख्य गरि चार खेलाडीमा भर परेको छ। कीर्तिपुर मैदानमा पनि अमेरिकालाई खेल्न त्यति सजिलो भने हुने छैन।

यसपटक टिममा रहेका रोस्टी थोरन नेपाली टिमसँग खेलिसकेका खेलाडी हुन। पारस खड्का सहितका ६ खेलाडी अमेरिकामा टु एक्स क्रिकेट खेल्न जाँदा थोरनले पनि नेपाली राइनोज टिमबाट खेलेका थिए। उनी विस्फोटक ब्याट्सम्यान हुन्। ब्याटिङ लाइनअपको अन्तिम तिर आउने उनी टिमले चाहेको बेला विस्फोटक इनिङ  खेल्न माहिर मानिन्छन्। 

नेपाल–ओमान र अमेरिकाबीच एक साता चल्ने त्रिदेशीय प्रतिस्पर्धामा हरेक देशले दुई–दुई गरी चार खेल खेल्नेछ।

जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्। सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका भएकाले नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ। उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ।

नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रने छ।

प्रकाशित मिति: : 2020-02-08 19:30:11

प्रतिकृया दिनुहोस्