१०९ रन बनाएका ओमानी खेलाडी अकिब भन्छन्– नेपाली दर्शक देखेर उत्साहित भयाैं

दीप सुवेदी

काठमाडाैं

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पाहुना टोली ओमानसँग दोस्रो पटक पराजित भएको छ।

आइतबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेपाली बलर चल्न नसक्दा नेपाल ८ विकेटले पराजित भएको हो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै दिएको २ सय ४९ लक्ष्य ओमानले ४६‌.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो।

ओमानका लागि अकिब ईल्यासले उत्कृष्ठ इनिङ खेले। उनले १०८ बलमा १२ चौका र १ छक्का सहित १०९ रन बनाए। ओमानको जितमा अकिब अलयासले शतकीय पारी खेले। अकिबले १ सय ९ रन जोडे।

खेलपछि प्रतिक्रिया दिँदै अकिबले नेपाली दर्शकको खुलेर प्रशंशा गरे। 

‘मैले सायदै कहिले यस्तो दर्शक देखेकाे थिइन्। अब कहिले नेपाल आउँछु था छैन तर आजकाे खेलमा दर्शक देखेर म र मेरो टिम खेल्नको लागि अझ उत्साहित भयाैं’, अकिबले भने, ‘नेपाल हार्न लाग्दा मैले शतक बनाएको थिए। तर, नेपाली दर्शकले मैले शतक प्रहार गरेपछि मलाई साथ समेत दिए।’,अकिबले भने।

उनले नेपालको सामू खेल्न सजिलो नभएको पनि बताए। ‘करणले अगाडीको खेलमा दबाव दिएका थिए’, उनले भने,‘यो खेलमा पनि हामीलाई खुलेर खेल्न दिएनन्।’ तर पछिल्लो २ खेलमा लगातार ४–४ विकेट लिएका करण केसी ओमानविरुद्धको खेलमा भने विकेट विहीन भएका थिए।

नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले आज बलिङ र फिल्डिङ कमजोर भए पनि खेललाई खराब भन्न नमिल्ने बताए।

‘हामी हार्छौं भनेर खेलेका थिएनौं। जित्ने सोच नै थियो। तर ब्याड लक भन्नु पर्छ हामी हार्यौं’, खेलपछि उनले भने,‘कुनै पनि राम्रोसँग खेल्दा जित्ने सम्भावना ५० प्रतिशत हुन्छ। नेपालले आज २४९ रन बनाएको राम्रो नै हो जुन हाम्रो मैदानमा कम नै हुन्छ।’ 

प्रकाशित मिति: : 2020-02-10 06:52:37

प्रतिकृया दिनुहोस्