त्रिकोणात्मक सिरिजमा ओमानको शतप्रतिशत जित

बिएल संवाददाता

काठमाडाै‌ं

ओमानले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत जित हात पारेको छ। मंगलबार अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिजमा शत प्रतिशत जित निकालेको हो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा ओमानले अमेरिकालाई ९२ रनले हराउँदै ४ खेलमा ४ जित निकालेको हो।

ओमानले दिएको २ सय ७७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो।

पहिलो ओभरको अन्तिम बलमा बिलाल खानले मोनक पटेललाई विकेटकिपर सुरज कुमारबाट शुन्यमा क्याच आउट गराए। बिलाललेनै तेस्रो ओभरको दोस्रो बलमा स्टिभ टेलरलाई शून्यमा बादल सिंहबाट क्याच आउट गराए। ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमले ओपनर जेभियर मार्शललाई २३ रनमा एलबिडब्लू आउट गरेपछि अमेरिका सुरुवाती समयमै दबाबमा परेको थियो।

कप्तान जिशान मकसुदले १६ औं ओभरको पहिलो बलमा इयान होल्यान्डलाई २८ रनमा बोल्ड आउट गरे। जिशानलेनै विकेटकिपर अक्षय होमराजलाई ७ रनमा बोल्ड आउट गरेपछि अमेरिका १९.३ ओभरमा ७९–५ को कमजोर अवस्थामा पुगेको थियो।

तर अमेरिकाका लागि निसर्ग पटेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। छैटौं विकेटका लागि निसरग पटेल र आरोन जोन्सले ७० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए। अकीब इलियासको ३१ औं ओभरको पहिलो बलमा पटेल ठूलो सट खेल्नेक्रममा लङअनमा ५२ रनमा बादलबाट क्याच हुन पुगे। 

पटेलले ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। जोन्स ७९ बलमा ३ चौका सहित ४७ रनमा अविजित रहे।

यस्तै आरोन जोन्सले अविजित ४७ रन जोड्दा  इयान होल्याण्डले २८ रन बनाए। यस्तै जेभियर मार्शलले २३ र रुस्टी थेरनले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

अमेरिकालाई सस्तैमा समेट्न  बिलाल खानले ६.१ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। अकीब इलियासले ५ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए। जिशान मकसुद २ र मोहम्मद नदीमको नाममा १ विकेट रह्यो।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७६ रन बनायो।

टिमको स्कोर ३१ हुँदा २ विकेट गुमाएको ओमानी इनिङ्स कप्तान जिसन मक्सुद र उपकप्तान अकिब इल्यासले सम्हाल्दै दोहोरो शतकिय साझेदारी गरेका थिए।

तेस्रो विकेटका लागि यी दुईले २१६ रनको साझेदारी गरे। ४७औं ओभरको चौथो कलमा कप्तान मक्सुदलाई अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले स्टेभेन टेलरबाट क्याचआउट गराएपछि यो साझेदारी टुटेको थियो। मक्सुदले १०९ बल खेल्दै १० चौका र ४ छक्काको मद्दतमा १०९ बनाए।

ओमाना लागि ओडीआईमा शतक बनाउने उनी दोस्रो खेलाडी बने। यसअघि नेपालविरुद्ध अकिब इल्यासले पहिलो ओडीआई शतक प्रहार गरेका थिए।

उनले १२३ बल खेल्दै ११ चौका र १ छक्का मद्दतमा १०५ रन बनाए। ओमानका सन्दीप गौडले अविजित १३ रन बनाए।

अमेरिकाका लागि कप्तान नेत्रभाल्करले १० ओभरमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए। 

यस्तै रस्टी थेरोनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति: : 2020-02-12 05:30:06

प्रतिकृया दिनुहोस्