सिन्धुपाल्चोकमा कोरोना भाइरससँग मिल्ने शंकास्पद रोग, औषधि र माक्स पठाइयाे

दीप सुवेदी

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरस जस्तै शंकास्पद रोगको लक्षण देखिएको छ।

गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा सोमबारदेखि कोरोना भाइरसको लक्षणसँग मिल्दो ज्वरोको बिरामी भेटिएको हो।

गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार हालसम्म बिरामीको संख्यका एक सय नाघिसकेको छ। ‘उनीहरु सबैमा रुघा,खोकी र ज्वरोको संङ्क्रमण देखिएको छ’, उनले भने।

उनका अनुसार गाउपालिकाले बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको छ। गाउँपालिकामा डाक्टर नभएकाले बिरामीको स्वास्थ्य परीक्षण गर्न छिमेकी गाउँपालिका जलबिरे स्वास्थ्य इकाइका डाक्टर पिताम्बर खनाललाई लैजान लागिएको पनि उनले बताए।

गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्य परीक्षणको लागि विशेषज्ञसहितको टोली पठाउन अनुरोध पनि गरिसकेको छ। मन्त्रालयले बुधबार यसबारेमा थप छलफल गर्ने भएको छ।

बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन अनुरोध गरेका छन्।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि यस विषयमा पत्र पठाएको उनले जानकारी दिए। 

याे पनि

सिन्धुपाल्चोकमा भेटियाे कोरोना जस्तै शंकास्पद रोग, एकसय भन्दा बढि बिरामी

प्रकाशित मिति: : 2020-02-12 21:34:01

प्रतिकृया दिनुहोस्