चल्ला मार्ने मालामाल, पाल्नेचाहिँ घाटामा ?

अनलाइनखबर

काठमाडाैं

 कपन चुनिखेलका सूर्यनारायण श्रेष्ठ ४३ वर्षका भए । पछिल्लो सात वर्षयता कुखुरा पालेरै परिवार धानिरहेका सूर्यनारायणलाई अहिले आफ्नै पेशाप्रति गुनासै गुनासो छ ।

कुखुरापालक कृषक भएर खेपेको पीडा सुनाउन सूर्यनारायण मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आए । ‘कुखुरा पालेर घर चलाउन कठिन भो भनेर सुनाउन आएको हुँ, आजै भन्दा बेस्सरी दाँत दुखिरहेको छ,’ सूर्यनारायणले दुःख बिसाए ।

कपनमा अहिले उनको खोरमा १५ सय कुखुरा छन् । ती कुखुराबाट आफूलाई फाइदा त परै जाओस्, लगानीसमेत नउठ्ने उनको गुनासो छ ।

सुन्दरीजल गागलफेदीमा ४ हजार कुखुरा पालेर व्यवसायमा रमाइरहेका ३५ वर्षे उर्गेन तामाङ पनि आफ्नो मेहनतले मूल्य नपाएको गुनासो गर्न विभाग आएका कृषकमध्ये एक हुन् ।

पछिल्लो दुई महिनामा कुखुरा पालेर घाटा खानुपरेको उनी बताउँछन् । ‘एउटा चल्लालाई मासुका लागि योग्य बनाएर बजारमा पठाउन दुई महिना लाग्छ, त्यसका लागि दिनरात नभनी काम गर्नुपर्छ, तर हामी मेहनतको मूल्य नपाएर ठगियौं,’ उर्गेनले दुखेसो सुनाए । ‘पहिले चार हजार कुखुरा बिक्री गर्दा किसानलाई एक लाख रुपैयाँसम्म नाफा बस्थ्यो । तर, अहिले नाफा त परैकै कुरा, दुई लाख भन्दा बढी घाटा खानुपरेको छ,’ उर्गेनले भने ।

प्रकाशित मिति: : 2020-02-19 20:18:45

प्रतिकृया दिनुहोस्