कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ११८

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले  बिहीबार जनाएका छन्।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ। 

गत मङ्गलबार एकै दिनमा यस भाइरसको सङ्क्रमणका कारण १३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको थियो  । बुधबारको दिन यस भाइरस सङ्क्रमणको कारण ११४ जनाको मत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ११८ पुगेको समाचारमा जनाइएको छ। 

बिहीबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुग्नुको साथै ७४ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन्। 
         
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन्। संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन्। यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: : 2020-02-21 02:50:20

प्रतिकृया दिनुहोस्