८० हजार नेपाली रहेकाे दक्षिण कोरियामा पनि कोरोना भाइरस फैलदैँ, स‌ंक्रमणमा ६ प्रान्त

कालिका न्याैपाने

सिओल,दक्षिण काेरिया

वैदेशिक राेजगारीका लागि नेपालीहरुकाे सबैभन्दा आकर्षणकाे केन्द्र मानिने दक्षिण काेरियामा पनि काेराेना भाइरसकाे संक्रमण बढ्न थालेकाे छ। काेरियाकाे स्थानीय पत्रपत्रिकाले शुक्रबार मात्र कोरोना भाइरसको ५२ वटा नयाँ संक्रमणको घटना फेला परेकाे दावी गरेपछि यहाँकाे अवस्था गम्भीर बन्न थालेकाे हाे। पछिल्लो तीन दिनयता कोरोना भाइरसको संक्रमण तीन गुणाले बढेकाे छ। हाल देशब्यापी रूपमा काेराेना भाइरसकाे संक्रमणकाे १ सय ५६ वटा घटना फेला परेकाे दावी स्थानीय पत्रपत्रिकाले गरेका छन्।

काेरियामा हाल वैदेशिक राेजगारीका लागि ८० हजारकाे हाराहारीमा नेपाली रहेका छन्। इपिएस प्रणालीबाटै बार्षिक रुपमा ७ हजार ८ सय नेपाली राेजगारीका लागि काेरिया आउने गरेका छन्। काेरियाले सन् २००८ देखि इपिएसमार्फत नेपालीहरुलाई विभिन्न क्षेत्रमा राेजगारीका लागि भित्र्याउने गरेकाे छ। 

नेपालीहरु कार्यरत सिओललगायतकाे ठाउँमा पनि काेराेना भाइरसकाे प्रकाेप देखिन थालेकाे छ। शुक्रबार मात्र राजधानी सिओलदेखि दक्षिणपूर्व ३ सय किलोमिटरमा पर्ने देगु शहरमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फेला परेको छ। पछिल्लो समय देखिएको ५२ मध्ये ४१ वटा संक्रमणको घटना यही शहरमा देखा परेको हो। 

देगुकै छिमेकी उत्तरी ग्योङसाङ प्रान्तमा थप तीन वटा घटना देखिएको कोरियाको केन्द्रिय रोगथाम विभागले जनाएको छ। देगु र सिओलमा देखिएको कोरोना भाइरसको संक्रमण कहाँबाट फैलियो भन्ने कोरियाली स्वास्थ्य अधिकारीले पत्ता लगाउन सकेका छैनन्। यो स्थानीय स्तरबाटै फैलिएको हो वा बाहिरबाट आयातित भन्ने कुराको अनुसन्धान भइरहेको छ। 

केन्द्रिय रोगथाम विभागले दक्षिणी ग्योङसाङ प्रान्तमा थप २ नयाँ घटना देखिएको पुष्टी गरेको छ। हालसम्म उत्तर र दक्षिण ग्योङसाङ, जेजु, चुङचेयोङ, सिओल र उत्तरी जोला गरी ६ प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिएको बताइएको छ।

देगुमा देखिएको ५२ नयाँ कोरोना भाइरस संक्रमणको घटनामा ३९ जना सिन्चेओन्जी  चर्चमा प्रार्थना गर्न आएका श्रद्धालु भएको बताइएको छ। कोरियाको केन्द्रिय रोगथाम विभागले यो घटनालाई कोरियामा अहिलेसम्म सबैभन्दा छिटो संक्रमण सरेको घटना मानेको छ। र, यसबाट सर्तक रहन आवहान गरेको छ। 

६१ वर्षीय दक्षिण कोरियाली महिला, जसमा गत साता कोरोना भाइरस सकारात्मक पाइएकाे थियो, उनी फेब्रुअरी ९ मा पुजाका लागि चर्च पुगेकी थिइन। उनको गत आइतबार निधन भएको थियो।    

प्रकाशित मिति: : 2020-02-21 22:42:38

प्रतिकृया दिनुहोस्