इँटा र धुलोको थुप्रोमा फक्रिरहेका कोपिलाहरू

जिन्दगीको सुरुवात नै धुलोबाट हुन्छ, कलिला पैतालाहरु धुलोमै घिस्रिन सुरु गर्छन्। र, बिस्तारै तातेताते गर्दै इँटाको थुप्रोसम्म पुग्छन्। यस्तै कोपिलाहरु भक्तपुरस्थित इँटा उद्योगमा आफ्नै सुरमा खेलिरहेका भेटिन्छन्।

कोही तातेताते सुरु गरेका, कोही धुलोसँगै रहर साटिरहेका त कोही त्यहीँ धुलो र इँटामाथि पसिना पोखिरहेका।

उमेर उस्तै, रहर पनि उस्तै। कापी-कलम समातेर कखरा सिकिरहेकाहरुको जस्तै। अनि आमाबुबाको हात समातेर हिंडिरहेकाहरुको जस्तै।

तर, कापी-कलम समाउने ती हातहरु धुलोमा रुमल्लिरहेका छन्। भर्खर बनाएर खलोमा सुकाएको इँटाजसरी नै  सुकाउँदै लगेको छ बाध्यताको रापले उनीहरुको भविष्यको सुन्दर सपना।

ती मुटु नै चसक्क बनाउने अमिट दृश्यहरु क्यामेरामा कैद भइरहेका छन्। क्यामेरामा कैद हुन नसकेका तस्बिरहरु आँखाभरि छाएका छन्। यो उनीहरुको कुनै रहर नभएर परिस्थितिको कथा हो, बाँच्नकै लागि संघर्षको धुलोमा भेटिएका पालुवाको।

प्रकाशित मिति: : 2020-02-22 05:28:08

प्रतिकृया दिनुहोस्