कोरोना भाइरस: काेरियामा सङ्क्रमितको सङ्ख्या ४ सय ३३ पुग्याे, दुई जनाकाे ज्यान गयाे

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढेको छ।

शुक्रबारसम्ममा २ सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन २ सय ४ जनामा सङ्क्रमण भएर सङ्क्रमितको सङ्ख्या ४ सय ३३ पुगेको बीबीसीले जनाएको छ।

दक्षिण कोरियामा कोरोना भाइरसबाट दुई जनाको ज्यान गइसकेको छ। डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ। डाएगुका सडकमा मानिस निस्कन छाडेका छन्।

चीनमा अहिलेसम्म कोरोना भाइरसको कारण २ हजार ३ सय ४५ जनाको ज्यान गएको छ भने ७६ हजार दुई  सय ८८ जनामा सङ्क्रमण भएको पाइएको छ। चीनबाहिर विभिन्न देशमा गरी २० जनाको ज्यान गएको र १ हजार २ सयभन्दा धेरैमा सङ्क्रमण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

यसैबीच जापानको योकोहामा बन्दरगाह क्वारेन्टाइनमा रहेको पानीजहाजबाट उद्धार गरेर अमेरिका लगेकामध्ये ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। गएको हप्ता अमेरिकाले पानीजहाजमा रहेका आफ्ना ४ सय नागरिकमध्ये सङ्क्रमण भएका ४० जनालाई जापानमै उपचारका लागि छाडेर ३ सय ६० जनालाई स्वदेश लगेको थियो।

अमेरिकाले परीक्षणका क्रममा कोरोना सङ्क्रमण नभएको पुष्टि भएपछि आफ्ना नागरिक लगेको भए पनि १४ दिने क्वारेन्टाइनमा राखेको बेला सङक्रमण देखिएको बीबीसीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-02-23 20:40:06

प्रतिकृया दिनुहोस्