एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट : नेपालको लगातार दोस्रो हार

नेपालले एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटमा लगातार दोस्रो हार  व्यहोरेको छ।

थाइल्याण्डमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आइतबार नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। 

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि यो निर्णय नै हारको मूल कारण बन्यो। सुरूमै नेपाली बलरले गतिलो चुटाइ खाएका थिए। तर, पछि कमब्याक गर्दै मध्यमस्तरकै स्कोरमा उनीहरूले आफ्नो इनिङ सकाए । हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो।

१५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए।  उनले ४३ बलमा ४ चौका र १ छक्कासहित ४३ रन बनाएका हुन्। आउट हुनुपूर्व उनले  पहिलो विकेटका लागि ज्ञानेन्द्रले कुशल मल्लसँग ४२ रनको साझेदारी गरे। यता कुशल १९ रनमा आउट भए । उनले  ३ चौका प्रहार गरेका थिए। 

यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाए। करण केसी ७ रनमा आउट भए। त्यस्तै  विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरी समान ५ रनमा आउट हुँदा पारस खड्का ४ रनमा पेभेलियन फर्किए। पवन सर्राफ १ रनमा आउट हुँदा सन्दीप लामिछाने शून्य रनमा आउट भए।

हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । उनले ३‍.१ ओभर बलिङ गर्दै १६ रन खर्चियर ५ विकेट लिएका हुन्। यस्तै अफ्ताफ हुसेनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चियर ३ विकेट लिए।

४ ओभरमै १८ रन दिएका इशान खानले २ विकेट लिए।

हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिए। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए। उनले पहिलो विकेटका लागि साहिद वासिफसँग ५८ रनको साझेदारी गरेका थिए। वासिफ २३ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाएर आउट भए।

यस्तै कप्तान अजिज खानले २९ रन जोडे। उनले २० बलमा १ चौका र १ छक्कासहित २९ रन बनाएका हुन्। यता मोहमद अर्सादले २७ रन बनाए । जेम्स जोनले १३ रन जोड्दा वाकस खान ५ रनमा अविजित रहे।

नेपालका सन्दीप लामिछाने र सुशान भारीले २-२ विकेट लिए भने कुशल मल्लको भागमा १ विकेट पर्यो।

यो हारसँगै शीर्ष दुईमा रहदै एसिया कप छनोटमा पुग्ने नेपालको सपनामा धक्का लागेको छ। उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड गएको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो। अहिलेसम्म पनि नेपालले जीतको खाता खोल्न सकेको छैन। अब नेपालले तेस्रो खेलमा बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ।
 

प्रकाशित मिति: : 2020-03-02 00:16:31

प्रतिकृया दिनुहोस्