भैरहवामा मेन्डिस र सिरिबर्द्धना अनुबन्ध

बिएल संवाददाता

काठमाडाै‌ं

श्रीलंकाली क्रिकेट टिमका अल राउन्डर जीवन मेन्डिस र बायाँ हाते ब्याट्सम्यान मिलिन्डा सिरिबर्द्धना नेपाल आउने भएका छन्। उनीहरु कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चैत १ देखि १५ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–२० क्रिकेट खेल्न नेपाल आउन लागेका हुन्।

आइतबार पत्रकार सम्मेलन गर्दै मेन्डिस र सिरिबर्द्धनाले भैरहवा ग्लाडियटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्न लागेको जनाइएको छ।

श्रीलंकाका लागि जीवन मेन्डिसले ५८ एकदिवसीयमा कूल ६३६ रन १८ दशमलब ७० को औसतमा बनाएका छन्। मिलिन्डा सिरिबर्द्धनाले आफ्नो अन्तर्राष्ट्रिय एकदिवसीय करिअरमा २७ खेलमा श्रीलंकाको प्रतिनिधित्व गर्दै २२ दशमलब ४३ को औसतमा कुल ५१६ रन बनाएका छन्।

यस्तै भैरहवाले ओमानका बिलाल खानलाई पनि अनुबन्ध गरेको जनाएको छ। बिलाल खानले हालै काठमाडौँमा सम्पन्न आईसीसी लिग २ च्याम्पियनसिप अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका थिए। साथै उनले २०१९ को आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगितामा १८ विकेट लिई सबभन्दा बढी विकेट लिने खेलाडी बन्न सफल भएका थिए।

भैरहवाले यसअघि वेष्ट इण्डिजका क्रिकेटर ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ।

नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक रहेका पुबुदु दशानायाके मुख्य प्रशिक्षक रहेको भैरहवाले शरद भेषवाकरको कप्तानीमा ईपीएल खेल्ने छ।
 

प्रकाशित मिति: : 2020-03-02 04:53:07

प्रतिकृया दिनुहोस्