इथियोपियाः

द्वन्द्वले निम्त्याएको यौन क्रूरता

Photo– DW

अफ्रिकी देश इथियोपिया सन् २०२० को नोभेम्बरबाट फेरि सशस्त्र द्वन्द्वमा भासिएको छ। चलिरहेको गृहयुद्धमा इथियोपियालीहरू मानवअधिकार विरूद्धका अनेकौँ क्रूर अपराधहरू भोग्न बाध्य छन्। टिग्रे पृथकतावादी र उनीहरूविरुद्ध जारी सैन्य कारबाहीले देशमा थप गम्भीर संकट निम्त्याएको छ।

टिग्रे ‘पिपुल्स लिबरेसन फ्रन्ट’को संघर्षले देशको उत्तरी भागमा सर्वसाधारणको जनजीवनमा नराम्रो असर पारेको छ।

इथियोपियाको सशस्त्र द्वन्द्वले युवतीहरू सबैभन्दा धेरै पीडित छन्। ‘ह्युमन राइट्स वाच’लगायत विश्वभरका मानवअधिकार संगठनहरूले आ–आफ्ना प्रतिवेदनमा सशस्त्र द्वन्द्वले नरसंहार, बलात्कार र अन्य यौन हिंसा सतहमा ल्याएका छन्।

वाचले मुख्यतया गतवर्षको जुनदेखि यौन दुव्यवहारमा परेका थुप्रै महिलासँग संवाद गरेको छ। स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता, सामुदायिक संस्थाका सदस्यलाई समावेश गरेर प्रतिवेदन तयार पारेको छ। जसमा यौन हिंसाका ४३ घटनाहरूको विस्तृत समीक्षा गरिएको छ।

विद्रोही टिग्रे र सरकारी सैन्य फौजबीच जारी द्वन्द्वमा दुबैतर्फका लडाकूद्वारा महिलामाथि सामूहिक बलात्कारजस्ता व्यापक यौन हिंसाका अपराध भइरहेको प्रष्टै देख्न सकिन्छ।

अहिले द्वन्द्व यस्तो विन्दुमा पुगेको छ, जहाँ लैङ्गिक हिंसालाई जातीय हतियारका रूपमा प्रयोग भइरहेको छ। इथियोपियाली सेनाले देशभित्रका टिग्रे जातिका महिला र केटीहरूमाथि अभद्र व्यवहार गरिरहेको छ। संयुक्त राष्ट्रसंघले पनि द्वन्द्वसँग सम्बन्धित महिलामाथि भएको सामूहिक बलात्कारको पुष्टि गर्दै निन्दा गरेको छ।

‘इथियोपियाली मानवअधिकार आयोग’ र ‘संयुक्त राष्ट्रसंघ’को संयुक्त अनुसन्धान प्रतिवेदनले पनि द्वन्द्वमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाहरू पर्दाफास गरेको छ।

द्वन्द्वग्रस्त क्षेत्रमा लैङ्गिक हिंसा बढ्दै गएको स्पष्ट उल्लेख छ। इथियोपियाको महिला, बालबालिका तथा युवा मन्त्रालयको तथ्यांकअनुसार सन् २०२० नोभेम्बरदेखि २०२१ मेसम्म सहर तथा आसपासका क्षेत्रका १ हजार ३२४ बलात्कार पीडित महिलाहरू उपचारका लागि अस्पतालसम्म पुगेका छन्।

‘ह्युमन राइट्स वाच’ले गरेको अनुसन्धानले यौन हिंसा पीडित महिलाले गर्भावस्थामा अनेकौँ समस्या भोग्नुपरेको देखाएको छ। उनीहरूमाथि एचआईभी र हेपाटाइटिस–बी जस्ता यौन संचारित संक्रमणमा व्यापक वृद्धि भएको बताइएको छ।

हिंसाका क्रममा धेरै महिलालाई शरिारीक चोट लागेको थियो। जसमा कैयौं महिलाहरूको हड्डी समेत भाँचिएको अस्पताल स्रोतको दाबी छ।

यौन हिंसा पीडित महिलालाई डिप्रेसन र मानसिक रोगबाट बाहिर निकाल्ने व्यवस्था नभएकोप्रति सामाजिक कार्यकर्ताहरूले गुनासो गरेका छन्। तर, मानसिक रोगबाट पीडित थुप्रै महिलाको विस्तृत अध्ययन भइरहेको छ। इथियोपियाली सरकारले यौन हिंसाको रिपोर्टलाई स्वीकार गरेपनि निष्पक्ष छानबिन गर्न सकेको छैन। 

प्रकाशित मिति: : 2022-01-28 20:50:00

प्रतिकृया दिनुहोस्