श्रम स्वीकृति विना गोरखामा काम गर्दै आएका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठाएको छ ।
आरुघाट गाउँपालिका–३ सोतीमा निर्माण हुन लागेको अपर बुढीगण्डकी जलविद्युत आयोजनामा काम गर्दै आएका उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको एसपी ओमप्रसाद अधिकारीले बताए ।
जलविद्युत आयोजनाको प्रारम्भिक सर्भेका लागि माटो परीक्षण लगायतका काम गर्दै आएका उनीहरुलाई सोतीबाट नियन्त्रणमा लिइएको हो ।
उनीहरु मध्ये केहीसँग पासपोर्ट समेत नभएको अधिकारीले जानकारी दिए । ‘पासपोर्ट भएकाहरुको पनि श्रम स्वीकृति छैन, टुरिस्ट भिसामा आएर अनाधिकृत रुपमा काम गर्दै आएका रहेछन्,’ उनले भने ।