थाइल्याण्डले दिएको लक्ष्य नेपालले ५.३ ओभरमै पुरा गर्‍यो

घरेलु टोली थाइल्याण्डले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभरमा पुरा गरेको छ।

यो सँगै एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले पहिलो जीत दर्ता गरेको छ। बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले हराउँदै पहिलो जित निकालेको हो।

थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमै १ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनर कुशल मल्लले विष्फोटक ब्याटिङ गरे। उनले १८ बलमा ५ चौका र २ छक्का सहित ३६ रन जोडे। त्यस्तै पवन सर्राफले १० बलमा २ चौका र ३ छक्का सहित २७ रन बनाए भने ओपनिङमा आएका पारस खड्काले ९ रन बनाए। उनी नोफोन सेनामोन्त्रीको बलमा बोल्ड आउट भएका थिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो।

यो नेपालले टी-२० आईमा सबैभन्दा चाँडो लक्ष्य पूरा गरेको हो। 

नेपालले अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ। नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो।

साथै आज हुने अर्को हङकङ र सिंगापुरको नतिजाले ठूलो प्रभाव पार्ने छ। हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ। सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ। साथै नेपालले अन्तिम खेलमा सिंगापुरलाई फराकिलो अन्तरले हराउनुपर्छ। अन्य टोलीको नतिजा आफू अनुकुल आउनुपर्छ।

सन्दिपले बनाए नयाँ विश्व कीर्तिमान

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले अन्तराष्ट्रिय टी २० क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। थाइल्याण्डविरुद्धको जारी खेलमा  लगातार २२ बल कुनै रन नदिई लामिछानेले कीर्तिमान कायम गरेका हुन्। 

सन्दीपले ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।

यसअघि उक्त कीर्तिमान पाकिस्तानका फास्ट बलर मोहमद आमिरको नाममा रहेको थियो। उनले यूएइविरुद्धको खेलमा लगातार २१ डट बल फालेका थिए। 

अमिरसँगै अन्य ४ बलरले समेत उक्त उपलब्धी हासिल गरेका थिए।

प्रकाशित मिति: : 2020-03-04 23:03:34

प्रतिकृया दिनुहोस्