प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण जारी, अस्पतालले ४ बजे जानकारी दिने (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहान १० बजेपछि सुरु भएको मिर्गाैला प्रत्यारोपण करिब पाँच घन्टा लाग्ने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अस्पताल परिसरमा ठूलो संख्यामा भेला सञ्चारकर्मीलाई प्रधानमन्त्रीलाई अपरेसन थिएटरमा १० बजे लगिएको जानकारी दिँदै करिब पाँच घन्टामा प्रत्यारोपण सम्पन्न भइसक्ने बताए । उनले भने, ‘अपरान्ह ४ बजे स्वास्थ्य अवस्थाबारे जानकारी लिन हामीलाई पछ्याउनुस्, अस्पतालले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरी स्वास्थ्य बुलेटिन निकाल्छ ।’

प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले भने, ‘प्रधानमन्त्रीको नेपालमै गरिएको मिर्गौला पुनः प्रत्यारोपणले नेपालका विशेषज्ञ डाक्टरको क्षमतामाथिको विश्वासलाई बढाएको गरेको छ । नेपालका डाक्टरलाई काम गर्न प्रोत्साहन गरेको छ ।’

प्रधानमन्त्रीको मिर्गौला पुनःप्रत्यारोपण गरिएको त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म १० जनाको पुनः प्रत्यारोपण गरिएको छ । सबै प्रत्यारोपण सफल भएका छन् । प्रधानमन्त्री ओली पुनः प्रत्यारोपण गर्ने ११औं व्यक्ति हुन् ।

प्रकाशित मिति: : 2020-03-05 03:10:49

प्रतिकृया दिनुहोस्