जनता आवास कार्यक्रम अलपत्रः ‘गर्मी कसरी काट्ने सरकार?’

नेपालन्यूज

काठमाण्डौ

‘हाम्रो घर उजाडियो। कठ्याङ्ग्रिँदै जसोतसो जाडो त काट्यौं। तर, अब गर्मी कसरी काट्ने?,’ महोत्तरी भंगहा नगरपालिका–३ की रजियादेवी सदाले गुनासो गरिन्, ‘त्रिपालको गर्मी कसरी सहने? गर्मी आउन लाग्यो घरमा बालबच्चा छ। सर्प, बिच्छीलाई कसरी रोक्ने? ज्यानै जोगाउन गाह्रो भयो।’

साँझ पर्नसाथ रजियालाई रात काट्ने चिन्ताले सताउन थाल्छ। रजियाको परिवारमा ९ जना छन्। ओढ्ने–ओछ्याउने अभावमा कैयौँ रात घुर तापेरै जाडो काटेकी उनलाई गर्मीको चिन्ताले सताउन थालेको छ।

‘जनता आवास कार्यक्रम’ अन्तर्गत सरकारले पक्की घर बनाइदिने भन्दै उनको भएभरको छाप्रो भत्काइदिँदा उनको परिवार बिचल्लीमा परेको छ। प्रदेश सरकारले सुरु गरेको जनता आवास कार्यक्रम अलपत्र परेपछि प्रदेशका ८ हजार गरिब, दलित, पिछडिएका जाति तथा समुदायका मानिसहरूको जीवन कष्टकर बनेको छ। जनता आवास कार्यक्रम महोत्तरीमा अलपत्र परेपछि ७ सय ५३ घरपरिवार शीतलहरसँगै बढ्दो चिसोमा खुला आकाशमुनि रात काट्न बाध्य भएका थिए। तर, भर्खर सुरु भएको गर्मी, सर्प, बिच्छीलगायत विशालु किराको डरले उनीहरूमा त्रास फैलिएको छ।

प्रकाशित मिति: : 2020-03-06 01:14:27

प्रतिकृया दिनुहोस्