एउटा सपनाको अन्तिम किनारतिर

वातावरण पुरै चिसो छ। वरिपरि जताततै तुषारो परेर सेताम्य छ। हिँडदा तुषारो कर्‍याउँ कर्‍याउँ चरमराउँछ। चिसोले ठिहिर्‍याँदा मुटुमै सुल पसेजसरी बेजोडले हुर्मतलिने पिडादिन्छ।

त्यस्तो ठण्डीमा एकाबिहानै गाउँको सिरानमा एक जना वयोवृद्ध मानिस अर्धनग्न ढलिरहेछन्। न मृत न पूर्ण बेहोस अर्धचेत अवस्थामा बर्बराईरहेछन्। मैलोले कटकटिएको एकसरो कपडा त्यो पनि शरीरको चौथाईको एक भागमा मात्र।

यस्तो लाग्छ, उनको त्यो सेतै फुलेको कपाल र चाउरिएको अनुहारमा असह्य बेदनाका असंख्य चोटहरू छिपेका छन्।

उनको एक्लो सन्तान मुक्तियुद्वमा सहिद भएका थिए। त्यसैले उनलाई सहिदका पिता भनिन्थ्यो। तिनै सहिदका पिता आज ‘न घर न गोठ’ यो दुर्दशामा घोप्टिरहेछन्।

मानिसहरू उनलाई काँधमा बोकेर घरतिर लग्दैछन्। उनीभने बेसुरले कराईरहेछन्। न कराउन पनि कसरी ‘न उनको खोजी गर्ने र बंश धान्ने सन्तान छ। अनि न उनको शरीरमा लुगा छ। न उनको मनभित्रैबाट आङमा घामनै लाग्छ।’

घरको संघारमा पुग्दा उनी एकैछिन सगबगाए र निश्चेत भए। सम्भवत: उनको अहिलेसम्मको उपस्थिति एउटा अधुरो सपनाको अन्तिम किनारा हो, जहाँबाट एउटा समयको कटु-साक्षात्कार समाप्त हुनेछ।

तर, उनको काँधमा टेकेर माथि उक्लिनेहरूको पैतालाका डामभने जस्ताको त्यस्तै देखिन्छ। जो, हिजो निगाले बाँसको नर्कटजस्तो सिकुटे थिए र आज तिनैको पेट धनपैसा र सुनचाँदिले बनेको जाँडको गोदाम जस्तो देखिन्छ भने टाउको स्वार्थसिद्धिको ढोकाखोल्ने औजार जस्तो।

प्रकाशित मिति: : 2020-03-08 01:08:23

प्रतिकृया दिनुहोस्