पर्यावरणदेखि लोपोन्मुख संस्कृति जोगाउँदै थारु महिला (भिडियाे)

चितवन माडिका थारु समुदायका महिलाहरु पर्यावरण र आफ्नो संस्कृति जोगाउन लागि परेका छन् । यसका लागि उनीहरुले ८ वर्षअघि हरियाली महिला समुदायको स्थापना गरेका थिए। समुदायमा आवद्ध महिलाले वन फडानी राेक्न मात्र नभएर थारु समुदायको लाेप हुँदै गइरहेकाे संस्कृति तथा परम्परा राेक्न मौलिक भेषभुषामा सजिएर देशैभरी नै निःशुल्क पारम्परिक नृत्य प्रस्तुत गर्दै आइरहेका छन्। 

देशकाे दक्षिणी भेगमा रहेको माडि चितवन राष्ट्रिय निकुञ्जले घेरिएको क्षेत्र हाे। चारैतिर हरियाली र बीचमा समथर भूभागले गर्दा याे क्षेत्र रमणीय बनेको छ। माडि क्षेत्रका अधिकांश थारु समुदायको मुख्य पेशा कृषि हो। याे ठाउँकाे प्राकृतिक सौन्दर्यता जोगाइराख्न माडि नगरपालिका–३ बसन्तपुर इनारबरुवामा बसाेबास गर्ने थारु महिलाहरु जुटेका छन्। यसका लागि उनीहरुले हरियाली समुहको स्थापना गर्दै रुख काटेर फडानी गरेको जंगललाई फेरि वृक्षारोपण गरि सानो वनकाे आकार दिएका छन्।

केही समयअगाडी वृक्षारोपण गरेकाे ठाउँका बोटबिरुवा अहिले ठूलो हुँदै गएका छन्। यस्तै रुखहरु नासिँदै गएको खालि ठाउँमा निरन्तर महिलाहरु वृक्षारोपण गरि नै रहेका छन्। 

हरियाली समुहकी संयोजक ६० वर्षीय ईन्द्रदेवी महतो थारु भन्छिन्, ‘वन संरक्षणकै कारण हामी थारु महिला एक जुट भएका हाैं। वन जोगाउने अभियान सफल हुँदै गएपछि अहिले हामी लोप हुन लागेको थारु संस्कृतिलाई जोगाउन विभिन्न जिल्लामा गएर झाँकीसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छाैं।’    

पछिल्लो समय याे ठाउँमा जनसंख्या वृद्धि हुँदै गएपछि इन्धन र आवासको आवश्यकता बढेकाे र यसकाे पूर्तिका लागि वन फडानी हुन थालेकाे उनकाे ठम्याई छ। रुख मासिँदै गएपछि गाउँका युवतीदेखी वृद्ध महिलासम्म एकजुट भएकाे र वन संरक्षणमा लागेकाे उनकाे भनाई छ। समुहमा अधिकांश महिला गृहणी छन्। फुर्सदको समय समुदायका लागि केही गरौ भन्ने सोचका साथ थारु महिला आफ्नो परम्परा तथा वातावरणीय पर्यावरण जोगाउन आवद्ध भएका हुन्।  

इनारबरुवा गाउँमा अन्य समुदायको बसोबास रहेपनि थारु महिलाको उपस्थिति बाक्लाे छ। यही समुदायकाे ११ महिला मिलेर सुरुमा हरियाली वन जोगाउने योजना बनाएका थिए । करिब ८ बर्षदेखी वन संरक्षणमा लागेकी हरियाली सामुदायकी संयोजक महतो भन्छिन्– ‘सुरुवाती अवस्थामा बोटबिरुवा जोगाउन निकै गाह्रो हुन्थ्यो, जसकारण महिलाहरु घरको काम सकेर पालैपालो ३ देखी ४ जनाको समुह बनाई कुरुवा बस्थे। बिरुवा नासिँदै गएको ठाउँमा पुनः वृक्षारोपण गरिहाल्थे।’

बर्ष दिनमा बोटबिरुवा अलि ठूलो भएपछि वनको चारैतिर तारबार गरि संरक्षण गर्न थालिएकाे र ५ सय बोटबिरुवाबाट सुरु भएकाे अभियान अहिले १० हजार बिरुवा वृक्षारोपण गरि हुर्काइसकेकाे महताे बताउँछिन्। 

थारु महिलाको यो सराहनीय प्रयासलाई चितवन राष्ट्रिय निकुञ्ज कसराले पनि सहयोग गर्दै आएको छ। आफूहरुले थालेकाे अभियानलाई वनले समेत मान्यता दिएपछि महिलाहरु निकै हर्षित छन्। याे अभियानमा करिब १ सय ३५ घरधुरीका थारु महिला आवद्ध छन्। थारु महिलाले थालेकाे याे अभियानले चर्चा पाएपछि अवलाेकन गर्न आन्तरिक तथा बाह्रय पर्यटक गाउँ आउन थालेका छन्। यसले स्थानीय वासिन्दा दंग छन्।

पर्यावरण जोगाउन थारु महिलाहरु समुहमा आवद्ध भएर हरेक जिल्लामा गई पारम्परिक नृत्यको प्रस्तुति गर्दै आफ्नो संस्कृतिसमेत जगेर्ना गर्दैछन्। समुहका महिलाहरु कालो चाेलो र सेतो धोतिमा चाँदीकै हसुली, गुडहुला छर्रा, मट्ठा, पैसैपैसाले बनाएको चकटी, चन्द्रहार, नाकको बुलाकी, फोँफी, कनफुल तथा मँगीया जस्ता गहना धारण गरि सांस्कृतिक कार्यक्रममा झाँकी, झमटा, ठकराका साथै आधुनिक थारु संगीतमा नृत्य प्रस्तुत गर्छन्। 

नेपालको दक्षिणी भेगमा अवस्थित तराईको पूर्वमेचीदेखी पश्चिम महाकालीसम्मको हरेक जिल्लामा थारु समुदायको बसोबास रहेकाले पारम्परिक नृत्यमार्फत समुहलाई निरन्तर अगाडी बढाइरहेको महतो बताउँछिन्।

उनका अनुसार पछिल्लो समय थारुको संस्कृति हराउँदै गएको महसुस हुन थालेपछि समुहका महिलाहरु यसतर्फ अग्रसर भएका हुन्। महिलालाई सांस्कृतिक कार्यक्रमका लागि घरबाहिर निस्कन कुनै रोकटाेक छैन। समुहमा आवद्ध हरेक महिलाले श्रीमानको साथ र सहयोग पाएका छन्। कुनै महिलाको श्रीमानले हस्तक्षेप गरे सम्पूर्ण महिला एकजुट भई घरपरिवारलाई बुझाउने गरेको महतो बताउँछिन्। यसरी थारुको पहिचान कायम गर्न समुहको मार्फत १४ वर्षीय किशोरी देखी ७० वर्षीय वृद्ध समेत लागि परेका छन्।

चितवनको माडिदेखि सुरु भएकाे झाँकी नृत्य अहिले पश्चिमको दाङ हुँदै तराईको बारा,पर्सा,रौतहटलगायतको जिल्लासम्म पुगेकाे छ। चितवनको थारु कल्याणकारी संस्थामार्फत प्रादेशिक तथा राष्ट्रिय कार्यक्रममा पनि भाग लिने गरेका छन्। थारुको पहिचान जोगाउन लागि परेका ती महिला आवतजावत खर्च लिएर निःशुल्क झाँकी प्रस्तुत गर्ने गरेको समुहकी अध्यक्ष महतो बताउँछिन्। आधुनिक युवापुस्तामा थारु जातिमा लगाईने विशेष प्रकारको भेषभुषा हराउदै गएको समुहमा आवद्ध वृद्ध महिलाको बुझाई छ। यस्तो अवस्थामा समुहकी महिला आफ्नो व्यक्तिगत खर्चमा गहना जोडेर नयाँ पुस्तालाई आकर्षित गर्न सांस्कृतिक कार्यक्रममा प्रस्तुत गर्ने गरेका छन्।

माडिका थारु महिलाले गरेको यो प्रयास चारैतिर चर्चाको विषय बनेको छ। यस कार्यबाट अहिले अन्य समुदायका महिलासमेत प्रभावित भएका छन्। समुदाय परिवर्तनका लागि थारु महिलाले चालेको उदारणीय कार्यबाट पुरुषको सोचमा समेत सकारात्मक परिवर्तन आएको उनीहरुकाे ठ्म्याई छ।

प्रकाशित मिति: : 2020-03-09 03:19:00

प्रतिकृया दिनुहोस्