आलेख

 ‘हट स्पट’ दाङमा पनि घटे कोरोना सङ्क्रमित

नारायणी रजौरे

करिब महिना दिन अघिसम्म कोरोनाको ‘हट स्पट' अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको दाङ जिल्लामा पछिल्लो हप्तामा सङ्क्रमितहरु घटेका छन्।

अहिले यस जिल्लामा कोरोनाका सङ्क्रमितको सङ्ख्या घटेको छ र यहाँका अस्पतालका शय्या पनि खाली हुँदै गएका छन्। करिब दुई साता अघिसम्म जिल्लामा कोरोना सङक्रमितको उपचार निकै कठिन थियो।

अस्पतालमा शय्या पाउन पनि निकै मुस्किल हुन्थ्यो। अस्पताल परिसरमै विरामी राखेर उपचार गराइएका तस्बिरहरु विभिन्न सञ्चारमाध्यममा आउने गर्दथे भने यहाँका अस्पतालहरुमा कोरोनाका सङ्क्रमितको ज्यान नगएको दिन नै हुदैनथ्यो।

शुरुमा अस्पतालमा शय्या मिलाउन र त्यसपछि अक्सिजन जुटाउन झन् समस्या थियो। पछिल्लो समयमा सङ्क्रमित घटेसँगै यी सबै समस्या हटेका छन् भने अस्पतालहरुमा शय्या खाली हुँदै गएका छन्।

यसको पछिल्लो उदाहरण कोरोना विशेष अस्पताल बेलझुण्डीलाई लिन सकिन्छ। कोरोना सङ्क्रमित बिरामीहरुको उपचारका लागि अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि २५ शय्याको अस्पताललाई एक सय शय्यासम्म पुर्‍याइएको थियो।

कैयौँ दिन त शय्या खाली नहुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर उपचार गरिएको थियो। अहिले त्यो कठिन अवस्था पनि हटेको अस्पतालले जनाएको छ।

कुनैबेला अस्पतालमा बिरामीका लागि शय्या खाली नहुने अस्पतालमा अहिले ३३ जनामात्र कोरोना सङक्रमित उपचाररत् छन् र उनीहरुमा पनि अक्सिजन या केहीको खाँचो महसुस भएको छैन भन्छन् सो अस्पतालका व्यवस्थापक दोर्ण वली।

कोरोना सङ्क्रमण दर घट्दै गएपछि अस्पतालमा आउने सङ्क्रमितको सङ्ख्या समेत घट्दै गएको व्यवस्थापक वलीले जानकरी दिए। उनले भने, 'गत वैशाख २८ गते यस जिल्लामा मात्र कोरोना सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको थियो। त्यस दिन यस अस्पतालमा मात्र आठ जनाको ज्यान गएको थियो।'

त्यस समयमा अस्पतालमा बिरामीलाई शय्या पाउन नै निकै मुस्किल रहेको र अहिले भने अस्पताल आउने बिरामीको सङ्ख्या ४० प्रतिशतले घटेका व्यवस्थापक वलीले बताए। उनले अस्पतालमा आउने बिरामीहरु मात्र नभएर पछिल्लो समय जिल्लामै सङ्क्रमितको सङ्ख्या घट्दै गएको पनि जानकारी दिए।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना आइसोलेशन वार्डमा पनि सङ्क्रमित घटेका छन्। जिल्लामा कोरोना सङ्क्रमण दर घटेसँगै अस्पतालमा भर्ना हुने कोरोना सङक्रमित बिरामीको सङ्ख्या समेत घटेको प्रतिष्ठानका व्यवस्थापक राजेन्द्र न्यौपानेले जानकारी दिए।

कोरोना सङ्क्रमित बिरामीका लागि उपचारका लागि बनाइएको ५० शय्यामध्ये अहिले अस्पतालमा पाँच जनामात्र सङ्क्रमित उपचारत अवस्थामा रहेको उनले बताए।

उनले प्रतिष्ठानमा अहिले कोरोना परीक्षणको दर घटेसँगै अस्पतालमा भर्ना हुन आउने बिरामीको सङ्ख्या समेत घटेको बताए। 'केही समयअघि बिरामीलाई राख्नै मुस्किल हुन्थ्यो तर अहिले त्यस्तो छैन', उनले भने, 'अहिले त अधिकांश शय्या खाली नै छन्।'

उनले अहिले दैनिक ४० देखि एकसयको हाराहारीमा कोरोना परीक्षण हुने गरेको बताए। यता कोरोनाका बिरामीलाई लक्षित गरी तुलसीपुरमा सञ्चालन गरिएको तुलसीपुर मेट्रो आइसोलेशनमा पनि आज ११ जनामात्र कोरोनाका बिरामीहरु उपचाररत् छन्।

तुलसीपुरमा कोरोनाका बिरामीहरु अत्यधिक बढ्न थालेपछि गत वैशाख २८ गते सो अस्पताल तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो।

उपमहानगरपालिकाको वडा नं ८को अश्वारामा सञ्चालनमा ल्याएको अस्पताल व्यवस्थापन तथा कोरोना महामारी नियन्त्रणका लागि यहाँका विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले पनि सहयोग गरिरहेको उपमहानगरपालिकाले जनाएको छ।

यहाँका नागरिकहरुले आर्थिकदेखि अस्पताल व्यवस्थापनमा सहयोग गरेका पनि बताइएको छ। सो अस्पतालका लागि विदेशमा बस्दै आएका तुलसीपुर तथा पश्चिम दाङबासीहरुले पनि सहयोग गरेका छन्।

नगरप्रमुख घनश्याम पाण्डेको पहलमा स्वदेशी तथा विदेशी संघसंस्थाहरुबाट अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ। यहाँका युवाहरुले अस्पतालको लागि  आर्थिक सहयोग अभियान पनि थालेका थिए।

आफुहरुले थालेको अभियानबाट रु ११ लाख भन्दाबढी रकम सङ्कलन गरी अस्पताललाई हस्तारण गरेको समाजसेवी पदम पोख्रेलले जानकारी दिएका छन्। जिल्लाका १० वटा स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको सो अस्पताल नमूनायोग्य तथा सुविधायुक्त रहेको यहाँका नागरिकहरु बताउँछन्।

सो अस्पताल सञ्चालनमा आएदेखि हालसम्म एकसय २९जना कोरोनाका बिरामीको उपचारकालगि आएको अस्पातलका कोभिड ‘फोकल पर्सन' विमल केसीले जानकारी दिए। उनका अनुसार तीमध्ये ८० जना उपचारपछि निको भएर घर फर्केका छन्। तेत्तीस जनालाई थप उपचारको लागि रेफर गरिएको छ भने पाँच जनाको मृत्यु भएको थियो।

हाल अस्पतालमा सात जना महिलासहित ११ जना बिरामी उपचाररत छन। पचास शय्याको अक्सिजनसहितको आइसोलेशन अस्पताल गत वैशाख २८ गतेरातीदेखि सञ्चालनमा ल्याइएको हो।

'यहाँका नागरिकहरुले स्वतस्फूर्त रुपमा सहयोग गर्नुभएको छ, सहयोगी मनहरुलाई धन्यवाद  ज्ञापन गर्दछौँ। सबैले गरेको सहयोगलाई केही दिनपछि पूर्ण विवरणसहित सार्वजनिक गर्छौँ' उपप्रमुख माया आचार्यले भनिन्। तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने सबैलाई धन्यवाद दिएका छन्।

नगर प्रमुख पाण्डेले कोरोना विरुद्धको युद्धमा लड्दै जाँदा सहयोग पनि जुट्दै गएकाले आइसोलेशन सञ्चालनमा सफलता प्राप्त गरेको र अहिले सङ्क्रमण दरपनि घट्दो रहेको बताए। उनले विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोना विरुद्धको अभियानमा लड्न सहज भएको बताए।

त्यस्तै देउखुरीको लमहीमा रहेको देउखुरी कोरोना विशेष आइसोलेशनमा समेत कोरोना सङक्रमितको सङ्ख्या घट्दै गएको छ। पच्चीस शय्याको आइसोलेशन केन्द्रमा अहिले सात जनामात्र कोरोना सङक्रमितको उपचार भइरहेको सो केन्द्रले जनाएको छ। कुनै बेला एक दिनमा २३ जना सङ्क्रमितले उपचार गराएको यस केन्द्रमा अहिले बिरामी खासै आएका छैनन्।

त्यस्तै शान्तिनगर गाउँपालिकामा रहेको कोरोना विशेष आइसोलेशनमा अहिले दुईजना मात्र सङक्रमित रहेको शान्तिनगर गाउँपालिकाले जनाएको छ। बीस शय्याको आइसोलेशनमा अहिले दुई जना सङक्रमितलाई राखेर उपचार भइरहेको शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताउए।

यसैबीच जिल्लामा मङ्गलबार १३ जनामा मात्र कोरोना सङक्रमण पुष्टि भएको बताइएको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार मङ्गलबार ४० जनाको कोरोना परीक्षण गर्दा आठ महिला र पाँच पुरुष गरी १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनालाई जितेका छन्।

योसँगै जिल्लामा वैशाख यता कोरोनालाई जित्नेको सङ्ख्या सात हजार ४२ पुगेको छ भने सङक्रमितको सङ्ख्या सात हजार पाँच सय ९१ पुगेको छ। यसमध्ये दुई सय ७१ जना होमआइसोलेशनमा बसेका छन्।

यस्तै ८४ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने १५ जना आइसियुमा उपचाररत रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको केन्द्रले जनाएको छ। जिल्लामा वैशाख यता हालसम्म  कोरोनाबाट एक सय ९४ जनाको मृत्यु भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी र आइसियू सेवा शुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबारदेखि बहिरङ्ग सेवा (ओपिडी) सेवा र आइसियू सेवा शुरु गरेको छ। कोभिड( १९ महामारीको तीव्र सङक्रमणका कारण रोकिएको ओपिडी, शल्यक्रिया र आइसियू सेवा सोमबारदेखि शुरु गरिएको हो।

प्रतिष्ठानले गत वैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो। पछिल्लो समय कोरोना सङ्क्रमणको दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु शुरु गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिइन्।

उनले आजदेखि नै आइसियू सेवा समेत शुरु गरिएको र जटिल प्रकृतिका रोगका बिरामीहरुको उपचार सुचारु गरिने जानकारी दिइन्। प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, ज्येष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी  लिएर आउन आग्रह पनि गरेको छ।

लमही अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

कोरोना सङ्क्रमणकोे व्यवस्थापनमा केही सहयोग पुगोस् भन्ने उदेश्यले क्यानडाबाट लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ। लमही नगरपालिका-५ स्थायी घरभई हाल क्यानडा बसोबास गर्दै आभएका निरञ्जन थापाले साथीहरुसँग आर्थिक सङ्कलन गरी पठाएको तीन थान अक्सिजन कन्सन्ट्रेटर, दुईवटा शय्यालगायतका स्वास्थ्य सामाग्री सहयोग गरेका हुन्।

उक्त स्वास्थ्य सामाग्रीमध्ये दुई थान अक्सिजन कन्सन्ट्रेटर र दुईवटा शय्या लमही अस्पताललाई थापाका बुवा नरेन्द्र थापा र आमा पार्वतीदेवी थापाले सोमबार लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, उपप्रमुख देवका बेलबासे र लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जिता महतोलाई हस्तान्तरण  गरेका छन्। यस्तै सिसहनियाँ स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर मेशिनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।

असार ८ सम्म थपियो निषेधाज्ञा

दाङमा निषेधाज्ञा एक हप्ता थपिएको छ। जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले यस्तो निणर्य गरेको हो।

जिल्लामा कोरोना सङक्रमणमा कमी आएपछि यसअघि गरिएका केही निणर्यलाई परिमार्जनगर्दै निषेधाज्ञालाई असार ८ गतेसम्म लम्ब्याउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार त्यसपछि भने यहाँका होटल पनि सञ्चालन हुने भएका छन्। ती होटेलले सुरक्षा मापदण्ड पालना गरी खानेकुरा तयार गरेर प्याकिङ गरेर दिउँसो ३ बजेसम्म  बेच्न पाउने भएका छन्।

त्यस्तै सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन्। जिल्लास्थित सरकारी कार्यालयहरु विहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने निणर्य भएको छ।

त्यसैगरी यहाँको स्थानीय बजार विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने, बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्ने निणर्यलाई यथावत राखिएको छ। यसअघि असार १ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो।रासस

प्रकाशित मिति: : 2021-06-16 14:43:00

प्रतिकृया दिनुहोस्