अमेरिकामा नेपालीको बाक्लो बसोबास भएका न्युयोर्क र मेरिल्याण्डमा आपतकाल घोेषणा 

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकामा नेपालीको बाक्लो बसोबास भएका दुई राज्यमा आपतकाल घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमणका कारण आपतकालिन घोषणा गरिएका राज्य न्युयोर्क र मेरिल्याण्ड हुन्।

न्युयोर्कमा ८९ जना कोरोना भाइरस संक्रमित पाइएका छन् भने कोवेड-१९ को लक्षण देखिएका हजारौको संख्यामा क्वारेन्टाइनमा गएको बताइएको छ। उता, मेरिल्याण्डमा भने तीनजना मात्रै कोरोना भाइरस सक्रमित भेटिएका छन्। 

तर, यो समाचार तयार पारूञ्जेलसम्म अमेरिकामा रहेका कोही पनि नेपालीलाई कोरोना भाइरस संक्रमण भैसकेको पुष्टी हुन सकेको छैन।

अमेरिकी सरकारले जारी गरेको पछिल्लो आधिकारिक स्वास्थ्य बुलेटिनमा अमेरिकामा कोभेड-१९ बाट १९ जनाको मृत्यु भैसकेको छ। मृत्यु हुनेमा १६ जना वासिङ्टन राज्यका हुन् भने दुईजना फ्लोरिडा र एकजना क्यालिफोर्नियाका हुन् । 

अहिलेसम्म चार सय ४२ अमेरिकीलाई कोरोना भाइरस संक्रमण देखिएको छ। तीमध्ये अमेरिकाभित्रै संक्रमण पुष्टी भएकाको संख्या तीनसय ७२ छ भने ८८ जना अमेरिकी बाहिरबाट उद्धार गरिएका छन्। 

विदेशमा उद्धार गरिएका ८८ मध्ये  ४६ जना जापान भ्रमणमा रहेको डायमण्ड प्रिन्सेस क्रुजसिपबाट, २१ जना क्यालिफोर्नियामा रोकिएको ग्राण्ड प्रिन्सेस क्रुजसिपबाट र तीन जना चीनको युहानबाट उद्दार गरिएका हुन् ।

अमेरिकामा राजधानी वासिंटन डिसीमा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। यस अतिरिक्त ३१ राज्यमा यसको संक्रमण देखिएको छ। 

अमेरिकाको संघीय सरकारले जारी गरेको पछिल्लो स्वास्थ्य बुलेटिनअनुसार वार्सिटनमा १ सय ३,  न्युयोर्कमा ८९, क्यालिफोर्नियामा ८१, मासाचुसेट्समा १३,फ्लोरिडामामा ११,कोलोराडो र टेक्सासमा ८-८, जर्जिया र ओरेगनमा ७-७,  इलिनोयमा ६, एरिजोनामा ५, न्युजर्सी र पेन्सिलभेनियामा ४-४, रोड आइल्याण्डमा ३,  न्यु ह्याम्पशायर र नर्थ क्यारोलिनामा २-२, वासिंटन डी सी, ओक्लोहोमा, टेनेसी, युटाह, भर्जिनिया, हवाई, कान्सास, मिजौरी, मिनेसोटा, नेब्रास्का र नेभदामा १-१ जना कोरोना भाइरस संक्रमितको पहिचान भैसकेको छ। 

अमेरिकामा कोरोना भाइरस संक्रमित पहिलो विरामी भेटिएको एक साता मात्र भएको छ। तर, यो एक सातामै १९ जनाको मृत्यु हुनु र अमेरिकाभित्रै तीनसय ७२ जनालाई कोभेड-१९ हुनु चानचुने कुरा हैन। 

प्रकाशित मिति: : 2020-03-08 22:59:34

प्रतिकृया दिनुहोस्