पाण्ड्यासँगै भारतीय टिममा धवन र भुवनेश्वर फर्किए, राेहित र शामी बाहिरिए

अलराउण्डर हार्दिक पाण्ड्या, ब्याट्सम्यान शिखर धवन र बलर भुवनेश्वर कुमारले भारतीय क्रिकेट टिममा पुनरागमन गरेका छन्।

धवन गत जनवरीमा अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम एक दिवसिय खेलमा घाइते भएका थिए। हार्दिक पान्ड्याले गत सेप्टेम्बरमा दक्षिण अफ्रिकासँग तेस्रो टि२० खेलमा घाइते हुँदा ६ महिना टोली बाहिर रहे। भुवनेश्वर कुमार गत डिसेम्बरमा वेस्ट इन्डिजसँगको तेस्रो टि ट्वान्टी खेलमा घाइते भएका थिए।

विराट कोहलीको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा युवा ब्याट्सम्यान शुभमन गिलले पनि स्थान बनाएका छन्। न्यूजिल्याण्ड विरुद्धको सिरिजमा चोट लागेका रोहित शर्मा भने टिममा छैनन्। शर्मा टिममा नपरेपछि गिलले एक वर्षपछि टिममा पुनारागमन गरेका छन्।

यता न्युजिल्यान्डसँगको तीन ओडीआई सिरिजमा रहेका केदार जाधव, शिवम दुबे, शार्दुल ठाकुर, मोहम्मद शामी र मयंक अग्रवाल पनि बाहिर रहेका छन्। 

यी पाँचै खेलाडी न्यूजिल्याण्ड विरुद्धको एकदिवसीय सिरिजमा टिममा थिए। उक्त सिरिज भारतले ३-० ले हारेको थियो। नयाँ छनोट समिति आएपछि यो भारतको पहिलो टोली हो। छनोट समिति प्रमुखमा सुनिल जोशी आएका छन् भने सदस्यमा हार्भिन्दर सिंह छन्।

दक्षिण अफ्रिका र भारतबीचको पहिलो खेल फागुन २९ मा धर्मशाला, चैत्र २ मा लखनउ र चैत्र ५ गते कोलकतामा हुने छ। दक्षिण अफ्रिकाले क्विन्टन डि ककको कप्तानीमा युवा खेलाडीलाई समेट्दै भारतविरुद्ध हुने तीन ओडीआई सिरिजको लागि यस अघिनै टोली घोषणा गरि सकेको छ।

भारतीय टोली

शिखर धवन, पृथ्वी शा, विराट कोहली (कप्तान), केएल राहुल, मनिष पान्डे, श्रेयस ऐर, ऋषभ पन्त, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, युजवेन्द्र चहल, जस्प्रित बुमराह, नवदीप सैनी, कुलदीप यादव र सुभमन गिल।

प्रकाशित मिति: : 2020-03-09 09:07:14

प्रतिकृया दिनुहोस्