नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान भेट गरेका छन्।
बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच करिव आधा घण्टा कुराकानी भएको थियो। मृगौला प्रत्यारोपणका लागि ओली १९ फागुनमा महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका थिए। २१ फागुनमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। उनी दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शुक्रबार शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्।
ओली अस्पताल भर्ना हुनुअघि नेकपाभित्रको विवाद उत्कर्षमा थियो। वामदेव गौतमलाई कि युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउने भन्ने विषयमा नेकपा नेताहरु विभाजित भएका थिए। यही विषयमा कुरा भएको स्रोतले जानकारी दिएको छ।
पार्टी निर्णय नभएपनि २१ फागुनमा खतिवडा अर्थमन्त्रीमा पुन नियुक्त भइसकेका छन्।
यसअघि १५ फागुनमा भएको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेकामा प्रधानमन्त्री ओली असहमत थिए। अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा पठाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो।
सचिवालयले सर्वसम्मत निर्णय गरे पनि ओलीले त्यसलाई कार्यान्वयन गरेका छैनन्, जसले गर्दा नेकपाभित्र यस सम्बन्धी विवाद यथावत छ।