चितुवा चित्कार! बैतडीमा २५ बालबालिकाको शिकार

बैतडी सदरमुकामको प्रमुख बजार गोठालापानी नजिकै एउटा बडेमानको होर्डिङबोर्ड टाङ्गिएको छ। र, त्यसमा लेखिएको छ– बैतडीमा चितुवाले अहिलेसम्म २३ जनालाई आफ्नो शिकार बनाईसकेको छ। त्यसैले साँझ र बिहान हिँडडुल गर्दा सावधानी अपनाउनु होला । 

पहिलो पल्ट यो होर्डिङबोर्ड देख्नेलाई लाग्न सक्छ, कहाँ आइएछ? बजार हैन राष्ट्रिय निकुञ्जमा त पुगिएन? 

होर्डिङ बोर्डमा लेखिएको तथ्याङ्कलाई यति बेला पुनर्विचार गर्दा यो वर्ष थप दुई अवोध बालकको शिकार चितुवाले गरेको छ। यसलाई पनि जोड्दा ज्यान गुमाउने बालकको संख्या २५ पुगेको छ। 

बैतडीमा यो घटना कयौं वर्षदेखि नियमित जस्तो छ। त्यसैले पीडित परिवारको चित्कार र रोदनलाई जो कोहीले सहजै अनुमान लगाउन सक्छन्।  

गत साता मात्र सुतिरहेको अवस्थामा मेलौली नगरपालिका–९ स्थित विशालपुर, डाँफे पिपलकी ९ वर्षीय बालिका सेतु लोहारलाई घरबाटै चितुवाले उठाएर लगेको थियो। गत मंगलबार यो घटना भएपछि आमाको आँखाबाट अहिलेसम्म आँशु थामिएको छैन। 

बिहान ४ बजे आमा गुनडी लोहार गाईवस्तुलाई घाँस दिन गोठमा गएको बेला घरभित्र पसेर चितुवाले सेतुको शिकार गरेको थियो। 

यो घटना हुनुभन्दा एक साताअघि बैतडीकै शिवनाथ गाउँपालिका–४ स्थित खडिक गाउँका १६ वर्षीय हर्केस साउदलाई चितुवाले आक्रमण गरेर घाईते बनाएको थियोे।  

चितुवाको त्रास बढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले पठाएका दुई विज्ञ शनिबार बैतडी सदरमुकामबाट मेलौली लागेका छन्।
वरिष्ठ वन्यजन्तु विज्ञ विष्णुबहादुर लामा र जुनियर वन्यजन्तु प्राविधिक रमेश दराई मेलौली पुगेका हुन । लामा चितुवा पहिचान गरी पक्रन विज्ञता राख्छन् । मारिएका २५ जना मध्ये १२ विशालपुरका छन्।

गत भदौमा शिवनाथ गाउँपालिकामा आमा मकैबारीमा काम गरिरहेको अवस्थामा धारामा खेलिरहेका  बालक सुदीप मडैलाई पनि चितुवाले शिकार बनाएको थियो। अधिकांस चितुवाका शिकार विपन्न वर्गका छन्। स्थानीयले गाउँमा विजुली नहुँदा अन्धकारको फाइदा उठाउँदै चितुवाले चलखेल बढाएको अनुमान गरेका छन्। उनीहरूले यसको रोकथामका लागि गाउँमा विद्युत आपूर्ति सहज गर्न माग गरिरहेका छन्। तर, उनीहरूको माग पुरा भएको छैन। 

बैतडी जिल्ला वन अधिकृत केशव पराजुली २०६८ यता मात्र चितुवाबाट मारिएकाहरूको तथ्याङ्क राख्न थलिएको बताउँदै यसअघि मारिएको व्यक्तिको तथ्याङ्क आफूहरूसँग नरहेको बताउँछन्। 

‘अहिलेको अवस्था हेर्दा, पक्कै पनि यसअघि चितुवाले मानव शिकार गरेको हुनुपर्छ,’ पराजुली भन्छन्–‘तल्लो स्वराड क्षेत्र चितुवा आतंकको पर्याय बनेको छ।’ 

बैतडीमा पाँच वर्षअघि वन्यजन्तु विज्ञ झमक कार्कीले एक भारतीय विज्ञसँग मिलेर ‘ह्युमन एण्ड वाईल्ड लाईफ कन्फ्लिक्ट ईन बैतडी’ शीर्षकमा अध्ययन गरेका थिए।

उनको अध्ययनको निचोडमा चितुवाको आहार र वासस्थान व्यवस्थापनमा जोड दिइएको छ । चितुवासँग स्थानीयबासीले सर्तकता अपनाउनु पर्नेमा पनि जोड दिइएको छ। 

‘वासस्थान विनाश र डोजरे विकासका कारण चितुवाको वासस्थानमा मान्छे र मान्छेको वासस्थानमा चितुवा जस्तो स्थिति छ। चितुवाको वासस्थान विनाश हुँदै गइरहेकाले यसतर्फ ध्यान दिनु उचित हुनेछ,’ उनको लेखमा समावेश छ। 

चितुवाको वासस्थानमा सल्लो प्रजातिको अतिक्रमणले पनि उसलाई गाह्रो भएको देखिएकाले सल्लो विस्थापित गरेर झाडी तथा बुट्यान प्रजातिमा ध्यानदिन पनि उनले सुझाएका छन्।

केही वर्षदेखि बैतडीमा चितुवा यति बदनाम भएको छ की, चालु आर्थिक वर्षमा मात्रै तल्लो स्वराड क्षेत्रमा ८ र दोगडा केदार गाउँपालिकामा १ गरि ९ चितुुवा स्थानीयले थापेको पासोमा परिसकेका छन्।

बैतडीमा चितुवाले विशेष गरी पुरानो डडेल्धुरा रहेको तल्लो स्वराड क्षेत्रमा बढी आतंक मच्चाएको पाइन्छ । मेलौली नगरपालिकालगायत शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको महाकाली र सुर्नाया नदी किनारमा चितुवा वढी सक्रिय रहेको पाइन्छ। 

चितुवाले खासगरी बालक, महिला र अशक्तलाई शिकार बनाउने गरेको भए पनि स्थानीयले  सावधानी अपनाउने गरेका छैनन्। राती अवेरसम्म बारीमा कामगर्ने घरका झ्याल ढोका राम्ररी बन्द नगर्ने जस्ता असाबधानीका कारण पनि घटनालाई वढावा मिलेको पाइन्छ।

गत भदौको घटनापछि स्थलगत सामाजिक अध्ययनमा गएका स्थानीय सञ्चारकर्मी गोकर्ण दयालले आफूले मात्र यो क्षेत्रमा तीन वटा पूर्ण नजलेका मानवीय शव भेटेको बताउँछन। यो गम्भीर लापरवाही हो। विज्ञहरूले मानवीय मासु यस्ता लापरवाहीले चितुवाको मुख लाग्ने गरेको र चितुवा मानवी मासुमा पल्कने गरेको समेत बताउँदै आएका छन्। 

अहिलेसम्म घटनामा चितुवाले बिहान ४ देखि ६ बजे र साँझ ६ देखि ९ बजेकोे बीचमा घटना घटाएको देखिन्छ । ‘यो समयमा सावधानी अपनाएर समुहमा हिड्ने बानी बसाए मात्रै पनि चितुवा आक्रमणका घटनामा कमी आउने थियो,’ दयाल मान्छन्।

सरकारले चितुवाबाट मारिएका परिवारलाई १० लाख राहत दिने गरेको छ । घाईतेलाई समेत उपचारको व्यवस्था गरेको छ । राष्ट्रिय निकुञ्ज विभागले सुदूरमा कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमार्फत यो सेवा दिने गरेको छ। 

८ वर्षमा ज्यान गुमाउनेमा बिशालपुरका वीरबहादुर चन्द (डेढ वर्ष ), उदयदेवका सुनिल साउद (अढाई वर्ष), पञ्चेश्वरकी सुनिता साउद (१० वर्ष), किथ्थीदेवी साउद (२७ वर्ष), आशाकुमारी कोली (१३ वर्ष), निर्मला कुमारी (११ वर्ष), विशालपुरका दिपक चन्द (४ वर्ष), नवीन भट्ट (६ वर्ष), सुरज लोहार (१० वर्ष), चम्फाकुमारी भट्ट (११ वर्ष) का छन्। 

आमचोराकी सुप्रिया चन्द (४ वर्ष) र मञ्जु चन्द (८ वर्ष) छन्। गिरेगाडाका सन्तोष चन्द (७ वर्ष),शर्मालीकी पार्वती चन्द, आमचोराका महेश चन्द (४ वर्ष), विशालपुरकी कोपिला चन्द (डेढ वर्ष), प्रतिष्ठाकुमारी बिष्ट (३ वर्ष), सपना लुहार (१६ वर्ष), डम्बर सोनी (८ वर्ष) विशालपुरकै हुन। उदयदेवकी ललिता साउद (६ वर्ष), उदयदेवका चन्चला साउद (७ वर्ष),  महाकालीका सचिन साउद, उजली साउद (१२ वर्ष) र शिवनाथका सुदिप मडै (७ वर्ष) र सेतु लोहार (९ वर्ष) पनि चितुवाको शिकार भएका थिए ।

तस्वीर लोकेश साउँद
 

प्रकाशित मिति: : 2020-03-15 19:45:00

प्रतिकृया दिनुहोस्