मलाई डर छ

मैले हररात देख्ने दु:स्वप्नहरू

कहीँ मेरै आँखा सामुन्ने

विषाक्त विपना भएर नउभिऊन्

मलाई डर छ.....।

 

प्राय:

हरेक रात

ठूला ठूला पहाडका देवहरू

बादलका आकृतिझैँ

रूपान्तरित हुन्छन्

विशालकाय दानव-आकृतिमा

मुख बाएर

प्रलयको विभीषिका गर्जिँदै

दौडिन्छन् मैतिर

टा.........ढा टा........ढासम्म लखेट्दै

अनकण्टारमा

झम्टिन्छन्

भोकी बघिनीझैँ

प्रत्येक बिहान नींद टुट्ने बित्तिकै

चारैतिर

संत्रस्त आँखा घुमाएर हेर्ने गर्छु

मलाई डर छ

कतै मेरो छायाले मैलाई ननिलोस्

दुर्भाग्यको अजिङ्गर भएर

मलाई डर छ.......।

 

कहिले,कवाजमा उत्रिएको फौजसरह

देवदारुको घना जङ्गल

विराट सेनामा परिणत हुन्छ

शत्रु पक्षको

अभेद्य चक्रव्यूह बनेर

अघि बढ्न थाल्छ

मन र मुटुभरि

मुरी मुरी मृगतृष्णा बोकेर

एउटा पराजित बादशाहझैँ

बेतोड भागिरहेको हुन्छु

कहालिलाग्दो मरुभूमिमा

काँतर नजरका आँचल फैलाएर

दिशा विदिशामा

सहायताको भीख माँगिरहेको हुन्छु

त्यहाँ-

मुख बङ्ग्याएर गिजाइरहेका हुन्छन्

मलाई मेरै अनुचरहरू

म पसिनाले लथपथ

मडारिइरहेको हुन्छु ओछ्यानमा

मलाई डर छ

बागी नबनून् मेरा अवयवहरू

मेरै विद्रोहमा

मलाई डर छ.....।

 

मेरो आस्थाको सरोवर

एकरात

निर्मम सुनामीमा बदलिन्छ र

बगाइदिन्छ

मैले देखेका केही

आशावादी सपनाहरू

उफ्!

मेरा अङ्ग अङ्गबाट

प्याजका पत्रझैँ

पत्र पत्र भएर उप्किन्छन्

मेरा शील र सदाचारहरू

मेरो चरित्रको निर्माणाधीन भवन

तासको महलजस्तै

असरल्ल छरिन्छ भैँभरि

म अत्तालिइरहेको हुन्छु

निंद्रैमा

मलाई डर छ

मेरो प्रेमको महल

भताभुङ्ग नहोस्

मेरै लाशमाथि

मलाई डर छ.....।

 

अचेल-

अजस्र बगिरहेकी ऐरावती देख्ने गर्छु

सपनामा

जससँगसँगै

अघि बढिरहेको हुन्छु म

अनन्त जीवनको सागर भेट्न

हो

अचेल

खाखाभोराजीको आरोहणमा

हिउँका खुड्किला उक्लिरहेको हुन्छु

सगरमाथाको सर्वोच्च शिखर छुन

तर-

सशङ्कित मन छट्पटाइरेको हुन्छ

सपनामा।

मलाई डर छ

झीनो आशाको एक किरण

यो सपना पनि

कतै छताछुल्ल नपोखियोस्

शीतका सपनातुल्य

जत्रतत्र

बूँद बूँद भएर

नछिरल्लियोस्

मलाई डर छ.......।

 

     ◦    ऐरावती- उत्तर म्यान्माबाट दक्षिणतिर बग्दै याँगौँ पुगेर समुद्रमा मिसिएकी एक प्रसिद्ध नदी।

     ◦    खाखाभोराजी- उत्तर म्यान्मारमा स्थित उच्च हिमशिखर।

प्रकाशित मिति: : 2020-03-17 03:13:42

प्रतिकृया दिनुहोस्