युरोपमा कोराना कहरः ७४ नेपाली क्वारेन्टाइनमा, फ्रान्समा तीन जना पक्राउ

बिष्णु पौडेल

लिजवन (पोर्चुगल)

भौतिक विकासको दृष्टिकोणले चरमचुलीमा पुगेको,स्वास्थ,शिक्षा,नागरिक सुरक्षाको पुर्ण प्रत्याभूति दिन सक्ने युरोपका देशहरु अहिले कोरोना भाइरसबाट आक्रान्त बनेका छन्। दिनहुँ संक्रमित र मृत्युहुनेको संख्या बढ्दो छ। संक्रमितको बढ्दो ग्राफ युरोपेली राष्टहरुको लागि चिन्ताको विषय वनेको छ। 

चीनवाट शुरु भएको कोरोना भाइरस युरोपमा भने प्राचीन शहर रोमको देश इटलीबाट शुरु भएको हो। एक महिनाको यो अवधीमा कोरोनो भाइरसले युरोपको जनजीवन अस्तव्यस्त बनाएको छ। बजारमा माक्स,सेनीटाईजर,ट्वाईलेट पेपरको अभाव छ। साना व्यापारीहरुले कृतिम अभाव सृजना गरि कालो वजारी गरेका छन्। सरकारी कार्यलयहरु प्राय बन्द छन्, सडक सुनसान छ। कोरोनाको कहरले मानिसहरु त्राहिमान छन्। 

कोरोना नियन्त्रणको लागि भएका प्रयासहरु युरोपमा प्राय असफल भएका छन्। संक्रमितहरुको संख्या हेर्दा युरोप लामो समय कोरोनाको चपेटामा फस्ने देखिन्छ। नियन्त्रणका प्रयास नभएको होइन् तर प्रभावकारी हुन सकेको छैन। मानिसहरु हतास मन स्थितीमा छन्। कोहीसँग नजिक बसेर बोल्न समेत डराएका छन्। चोक,बजार, गल्ली हुने जमघट प्राय बन्द भएको छ। 

सार्वजनिक यातायातमा एक,दुईजना भन्दा बढी यात्रुको उपस्थिती देखिदैन। अत्यावश्यक काम वाहेक कोही वाहिर हिडडुल गरेका छैनन्। एम्वुलेन्स अन्य समय भन्दा बढी आहोर दोहोर गरेका छन्। टोल, छिमेकमा अन्य रोगको विरामी भए पनि छिमेकीहरु कोरोना नै हो की भनी शंका गर्दै त्रसित बनेका छन्। कोरानाले यहाँका वासीन्दाहरु यतिसम्म त्रास फैलाएको छ की मानौ कोराना लाग्दैमा मृत्यु हुन्छ। 

युरोपका कयौ देशहरुमा ‘लकडाउन’ गरिएको छ भने आपतकाल घोषणा गरिएको छ। सुपरमार्केटहरुमा दैनिक उपभोग्य सामानको अभाव देखिएको छ। युरोपियन युनियनले खाध्यान्न संकट नभएको जनाए पनि बजारमा कृतिम अभाव सृजना गरिएको छ। जसको कारण दैनिक उपभोग्य सामाग्रीहरुको मुल्य बढेको छ। अधिकांश रेष्टुरेण्ट,होटलहरु ग्राहक नभएपछि बन्द भएका छन्। सुपरमार्केटहरुले सुचना टाँसगरि दैनिक केहि घण्टामात्र खुल्ने जनाएका छन्। पोर्चुगलमा सपिङ महलहरुमा कर्मचारीहरुले विदा चाहियो भनि व्यानर सहित विदाको अनुरोध गरेका छन्। सानासाना खुद्रा पसलहरु भने निर्वाद रुपमा खुलेका छन्। 

अधिका‌स होटल, रेष्टुरेन्टहरु बन्द भएपछि कामदारहरु समस्यामा परेका छन्। कामदारहरुको लागि सरकारले घोषणा गरेको राहत कार्यक्रममा गैरकानुनीरुपमा वसोवास गर्नेहरुको हकमा केहि सम्वोधन गरेको छैन। गैर कानुनीरुपमा युरोप बसेका नेपालीहरु बढी प्रभावित बनेका छन्। उनीहरु नेपालबाट पैसा झिकाई दैनिक गुजारा चलाउनु पर्ने अवस्थामा छन्। केहि लामो समयसम्म यस्तै अवस्था रहि रहेका समस्याले बिकराल रुप लिने अनुमान गर्न सकिन्छ। 

डेनमार्क,अष्ट्रिया,स्लोभाकिया,,पोल्याण्ड,स्पेन,इटली लगायतका देशहले हवाई अन्य देशबाट आउने हवाई यातायातहरु बन्द गरेका छन्। अनुमति पत्रवाहेक आफ्ना नागरिकलाई अन्य देशजान रोक लगाएको छ। 

विश्व स्वास्थ संगठनले युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको भन्दै चेतावनी दिएको छ। केन्द्रले सर्तकता अपनाउन सवै राष्ट्रहरुलाई आग्रह गरेको छ। संगठनका प्रमुख टेडरोज ए ग्रेब्रेयेसोसले सो आग्रह गरेका हुन्। 

पोर्चुगलमा ७४ जना नेपालीहरु क्वारेन्टाइनमा

पोर्चुगलको फारोस्थित कृषीफर्ममा काम गर्ने ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। ती मध्ये एक जनालाई कोरोना भाइरस देखिएको छ। एक स्थानमा काम गर्ने नेपालीहरुलाई क्वारेन्टाइनमा राखेपछि यहाँ बस्ने नेपालीहरु त्रसित भएका छन्।

पोर्चुगलमा २२ हजार नेपालीहरु वसोवास गर्ने अनुमान गरिएको छ। नेपालीहरु कति छन् भन्ने आधिकारीक तथ्याङ छैन। ५ हजारभन्दा बढी खेतीमा काम गर्दै आएका छन्। एक नेपालीलाई सामान्य लक्षण देखिएपछि अस्पताल लगिएको थियो खेतीमा काम गर्दै आएका सरोज भाटले भने अस्पतालले उनलाई कोरोना संक्रमित भएको प्रमाणीत गरेपछि अरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको हो।

प्रमाणीत हुन केहि दिन लाग्छ उनले भने ‘खेती कामगर्ने नेपालीहरु अहिले त्रसित बनेका छन् पोर्च‘ुगलको अस्थायीकार्ड नभएका धेरै नेपालीहरुले खेतीमा काम गर्छन् अहिले काम छैन। खान बस्न समस्या छ।’ 

खेतीमा काम गर्ने दर्जनौ नेपालीहरु कामबाट निकालिएका छन्। सरकारले छ महिना अघिसम्म काम गरेको पेपर हुनेलाई कामको आधारमा राहत स्वरुप मासिक रुपमा ६० प्रतिशत रकम उपलव्ध गराउने घोषणा गरेको छ तर कार्ड नहुनेको हकमा भने केहि बोलेको छैन। सरकारले गैर कानुनीरुपमा पोर्चुगल वसोवास गर्दै आएका र यहाँको पेपर नभएकाहरुको विषयमा केहि उल्लेख नगरेको कारण पेपर विहिन नेपालीहरु समस्यामा परेका हुन्। 

फ्रान्समा तीन नेपालीमा भाइरसको आशंका

कोरोना भाइरसको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएको छ। उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर र्पािपनियोँ अस्पतालमा भर्ना गराएको छ। इटलीबाट स्पेन हुँदै फ्रान्स पुगेका उनीहरुको नाम सार्वजनिक गरिएको छैन। स्पेनको कातालोन्य क्षेत्रवाट नियन्त्रणमा लिई सोधपुछ गरेपछि उनीहरुलाई सीमा रक्षक प्रहरीको जिम्मा लगाएको थियो। 

कोरोना भाइरस चीनको सीमा नाघेर विश्वको १ सय ६२ देशमा फैलिएको छ। अहिले यसको ‘इपिसेन्टर’ इटली वनेको छ। यो समचार तयार पार्दासम्म विश्वभर ७ हजार १ सय २१ ज्यान गुमाएका छन् भने १ लाख ८१ हजार २ सय ३ जना मानिसहरु संक्रमित भएका छन्। विगत ४६ दिनदेखि फैलिएको कोरोनो भाइरसले सम्पुर्ण विश्वको होस उडाइदिएको छ। यो भाइरस कहिलेसम्म नियन्त्रण हुने अनुमान समेत गर्न सकिदैन। 

प्रकाशित मिति: : 2020-03-17 19:56:12

प्रतिकृया दिनुहोस्