आश्रममा बाआमा-१५

‘छोराले बेवास्ता गर्‍याे, आश्रममा नयाँ जीवन पाएँ’ (भिडियोसहित)

नेपालीमा एउटा प्रख्यात उखान छ, ‘छोराले विवाह गरेर भित्र्याएकी बुहारीले सासू–ससुरालाई माया गर्दिनन्,’ तर त्यही उखान उल्टाे भयाे, पाटनकी ज्ञानीशोभा बज्रचार्यकाे जीवनमा। नौ महिना गर्भमा राखेर जन्माएका छोराले भन्दा धेरै माया उनलाई बुहारीले गरिन्। 


ज्ञानी बज्रचार्यलाई घरभन्दा प्यारो लाग्छ, आफू बसिरहेकाे मातातीर्थ वृद्धाश्रम। जहाँ उनले ९० काे उकालाे काटिरहेकी छिन्।

८ वर्षअघि पुगेकाे आश्रमलाई घर र त्यहाँका मानिसलाई आफ्नाे परिवार ठान्छिन्। ‘यही मेरो घर हो। यहाँका मानिस मेराे परिवार’, आश्रम देखाउँदै उनले भनिन्, ‘अब त मेराे अरथी पनि यहीँबाट उठ्नेछ।’

उमेरले ९ दशक पुगेकी ज्ञानीशाेभा बिहान सबेरै उठ्छिन्, खाजा खान्छिन् र आश्रमकै आमाहरूसँग गफिन थाल्छिन्। आफ्नै उमेरका दौँतरीहरूसँग खुसी रहने उनी आश्रम घुम्न आएका मान्छेहरूसँग पनि उत्तिकै रमाउँछिन्।

पाहुना बनेर आश्रम आएका मान्छेहरूलाई ‘दुई हात जोडेर’ स्वागत गर्ने उनी भन्छिन्, ‘उहाँहरूकै कारण त हामी सुखी र खुसी छाैँ।’

आश्रमभित्र छिरेका दाताहरूले समेत उनकाे स्वभावलाई रूचाउने गर्छन्। कसैले उनलाई माया गरेर बिस्कुट दिन्छन्। त्यो बिस्कुट उनले कमिजकाे पाेल्टामा पोका पारेर राख्छिन्। अनि भाेक लागेका बेला साथीहरूसँग बाँडेर खान्छिन्।

‘एक्लै खानेकुरा खान मन लाग्दैन। त्यसैले सबै जनासँग मिलेर खाने गरेकाे छु। उहाँहरू मलाई सुखदुखमा साथ दिने साथीहरू हुनुहुन्छ’, आफ्नाे छेउमा बसिरहेका साथीहरू देखाउँदै उनले भनिन्, ‘उहाँहरू पनि मैले जस्ताे सन्तान जन्माएर दु:ख पाएर आश्रम बस्नुभएकाे हाे।’

छाेराछाेरी भएर पनि बेवारिसे भएकी ज्ञानीशाेभा कहिलेकाहीँ विगत सम्झिएर रुन्छिन्। र आफूले गरेकाे दु:ख र संघर्षलाई उनी आश्रमका आमाहरूलाई सुनाउँछिन्। त्यो उनकाे मन भुलाउने मेसो हाे। 

०००

वि.स १९९० सालमा काठमाडौंको साँखुमा जन्मिइन्, ज्ञानीशाेभा। परिवारकी कान्छी छाेरी उनकाे एक दाइ र दिदी थिइन्। घरकी कान्छी उनी सानैदेखि मेहनती र साेझी थिइन्। जाे सधैं घरकाे धन्दापातमा अल्झिरहन्थिन्। दिदी घरायसी काममा व्यस्त हुन्थिन्। दाइ पढ्न जान्थे।

घरकाे कामकाज दिदीबाट सिकेकी ज्ञानी दाइझैं स्कुल जान चाहन्थिन्। तर उनकाे त्याे चाहना कहिल्यै पूरा हुन सकेन। किनकी उनले भनेअनुसार त्याे समय छाेरी मान्छेलाई पढाउने चलनै थिएन।


एमफिल गरेकी संगीता डाक्टर बन्न चाहन्थिन्, आश्रम पुगिन् (भिडियाेसहित)


ज्ञानीशोभाले एकदिन आमासँग आफ्नो इच्छा खुलेर भनिन्। तर ‘छोरी मान्छे पढ्यो भने बिग्रिन्छ’ भन्दै आमाले नमज्जासँग झपारिन्। पुरुष प्रधान मानिएकाे समाजका लागि ज्ञानीशोभाकाे त्याे साैम्य विद्राेह थियाे। तर आमाकाे हप्काइपछि पढ्ने चाहनालाई सदाका मनबाट हटाइन्।

घरमा आफूलाई पढ्न नदिएपछि उनले आमासँग सिलाइ–बुनाइकाे काम सिक्न थालिन्। ‘दिदीले घरको सारा काम गर्थिन्। त्यसैले दिनभरि म आमासँग काम गर्थें’, उनले सुनाइन्।

दिनभरि काममा व्यस्त रहने उनकाे साथी भनेकै दिदी थिइन्। जाेसँग उनी अक्सर आफ्नाे मनकाे बेथा साट्ने गर्थिन्। तर १० वर्ष हुँदा उनकी दिदी अलि टाढा भइन्। आफूभन्दा ५ वर्ष जेठी दिदीकाे १४ वर्षमा विवाह भयाे।

‘दिदीको विवाह गर्ने रहर थिएन तर बाआमाले गरिदियो’, ८ दशकअघिको कुरा सम्झँदै उनले भनिन्, ‘मलाई छाडेर जानेबेला दिदी धेरै रुनुभएको थियो।’

विवाह गरेर पाटन पुगेकी दिदीलाई सम्झिएर रुने गर्थिन्, ज्ञानीशोभा। तर आमाले उनलाई ‘छोरी मान्छेले माइतीघर छाडेर जानैपर्छ’ भन्दै मायाले सम्झाउने गर्थिन्।

दिदीकाे विवाहपछि घरको सारा जिम्मेवारी उनको थाप्लोमा आइपर्‍यो। बिहानदेखि साँझसम्म उनी घरायसी काममा व्यस्त हुन थालिन्।

खाना पकाउनेदेखि गाेठालाे जाने सबै काम उनैले गर्थिन्। तर आफू जन्मेकाे घर छिट्टै ‘माइतीघर’ बन्यो ज्ञानीका लागि। १४ वर्षकाे उमेरमा उनी ‘दुलही’ भइन्। त्यो पनि आफ्नै भिनाजुकी।

भिनाजुसँग विवाह

वि.स २००० सालमा विवाह गरेकी दिदीले १९ वर्षकाे उमेरमा संसार त्यागिन्। बिरामी दिदीकाे निधनपछि बाआमाले उनलाई भिनाजुसँग विवाह गर्न दबाब दिए।

बाजा बजाएर विवाह गरेकी आफ्नै दिदीकाे श्रीमानसँग विवाह गर्ने रहर थिएन तर बाध्यताका अगाडि उनकाे केही लागेन। रूँदै उनले भिनाजुसँग विवाह गरिन्।

‘मेरी दिदीको एउटी छोरी थिइन्। उसको बिजोक हुन्छ भनेर आमाबुबाले मलाई भिनाजुसँग विवाह गर्न दबाब दिनुभयो’, विगत सम्झँदै उनले भनिन्, ‘मैले धेरै पटक विवाहलाई अस्वीकार गरेँ तर केही लागेन। भिनाजुसँग विवाह गर्नेपर्‍यो।’

४० वर्षका माइला गुर्जुसँग विवाह गरेर पाटन पुगेकी उनी घरायसी काम र छाेरीकाे स्याहारमा व्यस्त हुन थालिन्।

विवाह गरेकाे दुई वर्षपछि उनले पहिलाे सन्तान छाेरीलाई जन्म दिइन्। बर्सेनि उनले पाँच सन्तान जन्माइन्। दुई छाेरा र तीन छाेरी भए। जसकाे रेखदेख गर्नु नै उनकाे मुख्य काम थियाे।

‘मेरो काम भनेकै घरको रेखदेख र ६ जना छाेराछाेरीकाे हेरचाह गर्नुथियो’, उनले बताइन्।

माइलाको पाटनमा पाँच तल्लाको घर थियो तर पैसा कमाउनका लागि उनी मजदुरी गर्थे। ‘घरले मात्र खान दिँदैन। काम गर्नेपर्‍यो। बुढा काम गर्न बाहिर जान्थे’, उनले सुनाइन्।

एक जनाकाे भरमा चलिरहेकाे थियाे, उनकाे परिवार। तर २०३० सालमा बज्रपात भयो। घरका खम्बा माइलाले सदाका लागि संसार त्यागे। श्रीमानकाे निधनले विक्षिप्त भइन् ज्ञानीशाेभा। उनलाई छाेराछाेरीकाे चिन्ताले पिराेल्न थाल्याे। त्यसपछि उनले आमाबाट सिकेकाे सिपलाई अपनाउने निधाे गरिन्।


‘छोराबुहारीलाई दुख हुन्छ भनेर आश्रम आएँ’ (भिडियोसहित)


श्रीमानकाे निधनपछि बदलिएकाे जीवन

श्रीमानले छाडेर गएपछि छाेराछाेरीकाे उज्वल भविष्यका लागि उनले कपडा सिलाउने एउटा मेसिन किनिन्। त्यसपछि उनले कपडा सिलाएर जीविका चलाउन थालिन्।

कपडा सिलाएर घर खर्च उठाउन थालेकी ज्ञानीशाेभाकाे चर्चा विस्तारै टाेलतिर चुलिँदै गयाे। उनले सिलाएकाे कपडा राम्राे र टिकाउ हुने विश्वास बढ्दै गयाे। ‘मैले कपडा सिलाउन थालेपछि घरमा दु:ख भएन। जसोतसो घरको खर्च टार्थेँ’, उनले भनिन्।

श्रीमानकाे निधनपछि आत्मनिर्भर बनेकी उनले जेठा छाेरा स्वयम्भूराजलाई उच्च शिक्षा दिइन्। छाेरीहरूकाे धुमधामसँग विवाह गराइदिइन्। ‘राम्रो घरबाट विवाहको प्रस्ताव आयो। त्यसपछि छोरीहरूको विवाह गराइदिएँ’ उनले सुनाइन्।

पाखुरामा बल भइन्जेल सन्तानका लागि घोटिएकी उनी बुढेसकालमा छाेराकाे आँखाको कसिङ्गर भइन्। विस्तारै उनी छाेराकाे अपहेलना खेप्न बाध्य भइन्। ‘आफूसँग पैसा र ताकत हुँदा मात्र छोराछोरी आफ्नो हुँदो रहेछन्। पैसा नहुँदा कोही आफ्नो नहुँदा रहेछन्’, विगत सम्झिएर भावुक भइन् ज्ञानी।

‘छोरा सधैं मलाई गाली गर्थ्यो। खाना खानसमेत दिँदैनथ्यो। दिए पनि उनीहरू खाएर बाँकी भएको बासी भात दिन्थ्यो। त्याे खाना खाँदा धेरै राेएँ’, अझै दुख्छ उनलाई ‘सायद छाेराले धेरै दुखायो कि!’

छाेराले आँसुकाे खाना खुवाए पनि बुहारी भने माया नै गर्थिन्। ‘मान्छेले बुहारी नराम्रो भन्छ तर मेरो लागि त बुहारी नै राम्रो। मलाई मेरो छोराले माया गरेन तर बुहारीले छोरीजस्तो माया दियो’, उनले भनिन्।

बुहारीले माया गरे पनि उनी छाेराकाे कारण निकै दुखी थिइन्। सधैं गालीगलाैज सुनेर दिक्दार बनेकी उनले सदाका लागि घर छाड्ने निधाे गरिन्।

वसन्तपुरकाे भैरवथानमा उनी रूँदै थिइन्। त्यति नै बेला उनलाई एक मास्टरले रुनुकाे कारण साेधे। उनले ती मास्टरसँग आफूले भाेगेकाे दु:ख सुनाइन्। त्यसपछि मास्टरले उनलाई ‘जाने हाे’ भनेर प्रश्न गरे। अपरिचित केटा मान्छेले सिधैँ जाने भनेर साेध्दा ज्ञानीशाेभाले ‘कहाँ’ भनेर साेधिन्। ती मान्छेकाे जवाफ थियाे- ‘आश्रम।’

छोराको अपहेलना सहनुभन्दा आश्रम गएर बस्नु नै निकाे लाग्याे उनलाई। त्यहीँबाटै आश्रम जान तयार भइन्। र ‘मातातीर्थ वृद्धाश्रम’ पुगिन्। पहिलाेपटक आश्रम पुग्दा उनी निराश थिइन् तर अहिले उनी खुसी छिन्। भन्छिन्, ‘आश्रममा मैले नयाँ जीवन पाएँ।’


बेवारिसे आमाहरूको सहारा बनिरहेको ‘मातातीर्थ’ (भिडियोसहित)


घर–परिवारबाट टाढिएर आश्रम बसेकी उनी कान्छा छाेरा राजुलाई स्मरण गरेर भावुक हुन्छिन्। र छाेराले विगतमा बाेलेकाे ती शब्दहरू सम्झिन्छिन्।

कमजाेर शरीर र थकाइका बावजुद पनि उनी खुट्टाले मेसिन चलाएर लुगा छेक्नमा व्यस्त हुन्थिन्। त्याे देखर उनलाई १० वर्षका कान्छा छाेराले भन्ने गर्थे, ‘आमा तपाईंले हाम्रो लागि धेरै दु:ख गर्नुहुन्छ। म ठूलो भएर तपाईंंलाई पाल्छु है!’

ती मधुरा यादले अझै झस्काउँछ उनलाई। १२ वर्षको कान्छो छोरालाई चट्याङले लगेकाे थियो। ‘कान्छो बाँचेकाे भए सायद यस्ताे दु:ख पाउन्नथेँ कि!’ सन्तान प्रेमकाे आश अझै छ।

बाआमा नहेर्ने छाेराछाेरीलाई के छ कानुन?

२०७४ सालमा संशोधन भएको जेष्ठ नागरिकसम्बन्धी ऐनले छोराछोरीले आमाबुबालाई हेरविचार र सुरक्षा गर्नुपर्छ भनेर उल्लेख गरिएको छ। कानुनअनुसार ज्येष्ठ नागरिक एवं आर्थिक अवस्था कमजोर भएका आमाबुवालाई छोराछोरीले अनिवार्य रुपमा हेर्नुपर्छ।

ज्येष्ठ नागरिक ऐनअनुसार कुनै अभिभावकले छोराछोरीविरूद्ध उजुरी हालेमा ६ महिना कैद वा ३ हजारदेखि २५ हजारसम्म जरिवाना हुनसक्छ।

प्रकाशित मिति: : 2023-07-10 22:00:00

प्रतिकृया दिनुहोस्