कोरोना त्रासले न्यूयोर्कका रेष्टुरेन्ट बन्द, नेपाली व्यवसायी र विद्यार्थी संकटमा (भिडियाे)

संजोग आचार्य

न्यूयोर्क

कोरोना भाइरस अर्थात कोभिड–१९ काे प्रभाव विश्वकै प्रमुख व्यापारी केन्द्र न्यूयोर्क शरहमा थप जटिल हुन थालेको छ। नेपालीहरुको बाक्लो बस्ती रहेको ज्याक्सन हाइटमा अवस्थित दर्जनभन्दा बढी नेपाली रेष्टुरेष्ट बन्द हुने अवस्थामा पुगेका छन् ।

सरकारले कोरोनाको त्रास बढेपछि न्यूयोर्कमा राती अबेरसम्म खुल्ने रेष्टुरेष्ट बन्द गर्ने निर्णयले नेपाली व्यवसायीहरु मारमा परेका छन्। यता यस क्षेत्रमा काम गर्ने ठूलो संख्यामा नेपाली विद्यार्थी बेरोजगार हुन अवस्थामा पुगेका छन्। 
 
न्यूयोर्कमा कोरोनाको महामारी फैलिएपछि सरकारले दश जनाभन्दा बढी भेला हुन नदिने र मंगलबारदेखि सम्पूर्ण रेष्टुरेष्ट बन्द गर्न निर्देशन जारी गरेपछि यस क्षेत्रमा संलग्न व्यवसायीहरुले ठूलो घाटा व्यहोर्नु पर्ने भएको छ । 

पछिल्लो पटक ज्याक्सन हाइटमा दर्जन भन्दा बढी नेपाली रेष्टुरेष्ट खुलेका छन् । त्यसबाहेक यो क्षेत्रमा ठूलो संख्यामा नेपाली कामदार संलग्न छन् ।

न्यूयोर्क राज्यको क्वीन्समा मात्र हिमालयन याक, लालीगुँरास रेष्टुरेन्ट, नमस्ते रेष्टुरेष्ट, नेपाली भान्छा घर, थकाली रेष्टुरेष्ट, याक रेष्टुरेष्ट, सुम्नीमा रेष्टुरेन्ट, रेडपाण्डा रेस्टुरेन्ट, टावा रोटी, काठमाडौं फ्यूजन किचेन, बेम्बो हाउस एण्ड वारल, थकालीगायत दर्जनौ नेपाली रेष्टुरेन्ट खुलेका छन् ।

क्वीन्समा पछिल्लो पटक रेष्टुरेन्ट क्षेत्रमा नेपालीले लगानी बढाउदै गएका थिए। अमेरिकामा अध्ययनका लागि आउने धेरै विद्यार्थी रेष्टुरेन्टमा नै काम गर्ने गर्दछन्। अब उनीहरुलाई कोठा भाडा तिर्न पनि धौधौ हुने अवस्था आएको एक विद्यार्थीले बताए। त्यति मात्र हैन, ठूलो रकम खर्च गरेर तल्लो बाटो हुँदै  आएर रेष्टुरन्टमा काम गरी पैसा बचत गरिरहेका एक नेपालीले आफूहरुले यस्तो परिस्थितिको सामना अमेरिकामा गनुपर्छ भन्ने  सोचपनि नआएको जनाए। ‘कागज पत्र छैन, नेपाल जान पनि सक्दैनौं, यता रेष्टुरेन्ट पनि बन्द छ,’ बाग्लुङका एक सेफले भने, ‘कोरोनाको कारण क्रृणको भार अब थपिने छ।

नेपाली भान्छा घरका संचालक विमला हमाल कोरोना भाइरसको कारण व्यवसाय डामाडोल भएको बताइन्। अहिले व्यापार नभएपछि रेष्टुरेन्ट नै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाई छ।

प्रकाशित मिति: : 2020-03-18 06:15:00

प्रतिकृया दिनुहोस्