मणिपुरकाे साम्प्रदायिक हिंसाले निम्त्याएकाे एउटा कहालीलाग्दाे कथा–

‘उनीहरूले मेरो श्रीमान र छोरालाई मारे, छोरीलाई धेरैले पालैपालो बलात्कार गरे’

‘उनीहरूले मेरो श्रीमानलाई मारे। छोरालाई पनि मारे। मेरी छोरीको लुगा फुकालेर चारैतिर घुमाए, कुटपिट गरे अनि धेरैले पालैपालाे बलात्कार गरे। एकैदिनमा मैले सर्वश्व गुमाए। भिडियो भाइरल भएपछि पनि मलाई मुख्यमन्त्री र मन्त्रीले फोनसमेत गरेनन्।’

नाेट– समाचार सामग्रीमा पाठकलाई विचलित पार्न सक्ने विवरणहरू समावेश छन्।

कुराकानी गर्दै जाँदा पीडित युवतीकी आमा चर्को स्वरले रुन थाल्छिन्। उनी करिब आधा घन्टा लगातार रोइन्।

उनी–यिनै छोरीकी आमा हुन्, जसलाई १९ जुलाईमा निर्वस्त्र बनाएर हिँडाएको भाइरल भिडियोमा देखिन्थ्याे। भारतको पूर्वोत्तर राज्य मणिपुर, यतिबेला साम्प्रदायिक हिंसाभित्र जलिरहेको छ। मणिपुरमा दुई जातीय समूह मैतेई र कुकी एकआपसमा भिडिरहेका छन्। 

गएको मे ४ मा एक २१ वर्षीया युवतीसहित ३ जना महिलालाई मैतेई समुदायको भीडले लुगा फुकालेर बाटो–बाटोमा घुमाएको थियो।

क्रूर मैतेईहरूले ती युवतीलाई सामूहिक बलात्कारसमेत गरेका थिए। युवतीको हालत देखेर आमा गहिरो शोकमा छिन्। मैतेईहरूको डर कायमै छ। युवतीलाई कुकीहरूले गुप्त स्थानमा लुकाएका छन्। 

तर पीडितकी आमा चुराचान्दपुरमै छिन्, उनी दिनभर रोइरहन्छिन्। अनि आँशु खसाल्दै भन्छिन्, ‘ मभित्र छोरीलाई भेट्ने हिम्मतसमेत छैन।’ 

मणिपुरमा गएको ३ मे–देखि साम्प्रदायिक हिंसा सुरु थियो। उपत्यकाबासी मैतेई र पहाडिया कुकीबीच दंगा मच्चियो। सबैतिर बङ्कर बनाइयो। दुवैतिरका सर्वसाधारण बन्दुक बोकेर टोल–टोलमा तैनाथ भए। यी दुई जातीय समूह अहिले पनि भिडिरहेका छन्। 

मणिपुरमा नरसंहार कायमै छ। तर महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडियो भाइरल भएपछि मणिपुर हिंसाका कैयौं घटनाहरू बाहिरिएका छन्। 

२४ जुलाई २०२३, स्थान– थोउबाल

चुराचान्दपुर मणिपुरको दोस्रो ठूलो सहर हो। यो सहर अहिले कुकी समाजको राजधानीजस्तै छ। 

साँघुरा गल्लीहरू पार गरेपछि एउटा झुपडीमा पुगिन्छ।

मणिपुरको पहाडी भेगमा धेरैजसो घरहरू धुपीसल्लाजस्तै हुन्छन्। पीडित युवतीको घरपनि उस्तै–उस्तै छ।

फलामको ढोकाबाट आँगन टेक्दै एउटा कोठाभित्र छिर्न सकिन्छ। 

कोठाभित्र केही महिलाहरू थिए। उनीहरू पीडामा थिए। कुनापट्टी महिलाको भीडमा एकजना केटा पनि थिए। उनीहरू एकछिन बोल्थे, एकछिन मौन हुन्थे।

छेउतिर ‘आफ्नै सुरमा टोलाइरहेकी आमा’लाई एउटी महिलाले चोर औँला उठाउँदै हामीतिर देखाइन्। यी उनै युवतीकी आमा हुन्, जसकी छोरीलाई मैतेईहरूले लुगा फुकालेर चारैतिर घुमाए अनि सामूहिक बलात्कार गरे।

हामीलाई देखेपछि ती ४२ वर्षीया महिला चिच्याइ–चिच्याइ रुन थालिन्। उनी सासै नफेरेर रोइन्, एकोहोरो रोइरहिन्।
छेउछाउका महिलाहरू केहीबेर चुपचाप बसे। 

युवतीकी आमा रोएको देखेर उनीहरू पनि रोए। एकैछिनमा नजिकै बसेको केटा पनि रुन लागे। आँसु झरेर रित्तिएका छन्, आँखा सायद। तर पनि नरोएर बोल्न सक्दिनन् पीडित युवतीकी आमा। 

तीन महिनाभित्र प्यारो श्रीमान र पहिलो सन्तान गुमाएपछि उनलाई जिन्दगी अपूराेजस्तै लाग्दैछ। अब उनीसित १८ वर्षीया छोरा र बलात्कार पीडित छोरी मात्र बाँकी छन्। अरु त सबै लिइहाल्यो मणिपुर हिंसाले।

शान्त थियो चुराचान्दपुरको झुपडी। शान्त थिए वरिपरि बसेका सबैजना। छोरीको बिग्रिएको हालत सम्झेर रुँदा–रुँदा थाकेपछि एकैछिन रोकिइन् उनी।

नाक पुछ्दै, हातका औँला पड्काउँदै भनिन्, ‘मे ४ पछि मैले छोरीसँग कुराकानी गर्ने हिम्मतसमेत गरेकी छैन। उसलाई भेटेकी पनि छैन। दुई मिनेट एक्लै बस्दा पनि रुन मन लाग्छ। मान्छे आउँछन्, बारम्बार सम्झना दिलाउँछन्, म डिप्रेसनमा छु। कसैसँग कुरा गर्न मन छैन। कसैको अनुहार हेर्ने पनि मन छैन।’

उनी चुपचाप भइन्, फेरि रुँन थालिन्।

सामूहिक बलात्कारपछि बाँचेकी २१ वर्षीय युवतीलाई स्थानीय कुकी नेताहरूले सुरक्षित स्थानमा लगेर राखेका छन्।

यौन हिंसाको पीडाबाट छट्पटिरहेकी छिन् उनी। एक्लै छिन्। मणिपुर भुलिसकेकी छिन्, तर त्याे घटनाले उनलाई तर्साइरहन्छ।  

पीडित युवतीकी आमा बेलाबेला शान्त हुन्छिन्, त्यसपछि भन्छिन्, ‘मणिपुर जलेको तीन महिना पुग्नैलाग्यो। सामाजिक कार्यकर्ता र मिडियाकर्मी आए। तर अहिलेसम्म मणिपुर सरकारबाट एकजना मन्त्री वा अधिकारी आएका छैनन्! मुख्यमन्त्रीले फोनसमेत गरेनन्। मलाई कस्तो छ भनेर कोही सोध्नसमेत आएन। मैले हिम्मत हारिसके! अब यो कहालीलाग्दो कथा सुनाउन सक्दिनँ।’

उनी फेरि मौन भइन्– एकछिन पूरै मौनता छायाे...

केहीबेर चुप लागेपछि पीडितकी आमा फेरि बोल्छिन्।

‘मेरी छोरीकाे सानैदेखि ठूलाे सपना थियाे। बीए गर्दै थिइन्, अहिले पाँचौ वर्षको सेमेस्टर चलिरहेको थियो। उसलाई मुटुको समस्या थियो। छाेरीलाई मैतेईहरूले लुटे। घटनापछि बेहोस भइन्। मेरी छोरी धेरै दिनसम्म एक शब्द पनि बोलिनन्।’

बलात्कार पीडित युवतीको घरपरिवार गरीबीसँग जुँधिरहेको छ। 

युवतीका बुबाले चर्चमा सानोतिनो काम गर्थे। तर के गर्नु बुबाको गिरिजाघरमै र जेठो दाइको मैतेई समूहको भीडले हत्या गर्‍यो। 

जबकि परिवारको एकमात्र कमाउने व्यक्ति बुबा र जेठो दाइ थिए। अब परिवारको अन्तिम आशा बनिरहेका छन् १८ वर्षीया फुच्चे भाइ।

उनी सेनामा भर्ती हुन चाहन्छन्। छेउतिरै थिए। तर उनी केही बोलेनन्, तरकारी काटिरहे। पीडित एयर होस्टेस बन्न चाहन्थिन्, आमा भन्छिन्, ‘अब छोरीको एयर होस्टेस बन्ने सपना सपनामै सीमित रह्यो...।’

भारतीय राज्य मणिपुरमा हिंसा सुरु भएको तीन महिना भइसक्यो। गोलीबारी र हिंसाका समाचार आइरहेका छन्। (याे सामग्री भारतीय पत्रिका ‘दैनिक भास्कर’काे सहयाेगमा तयार पारिएकाे हाे।)


जलिरहेछ मणिपुर

प्रकाशित मिति: : 2023-07-27 07:38:00

प्रतिकृया दिनुहोस्