अमेरिकामा आज तीन राज्यमा चुनाव हुँदै, ‘सेन्ट प्याट्रिक्स डे’ परेड स्थगित

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

आज मार्च १७, २०२०। नेपालमा मंगलबार साँंझ पर्दैजाँदा यता विहान झरेको छ। 

कोरोनाको कहर नभएको भए मार्च महिनाको तेस्रो मंगलबार आज अमेरिकाले सेन्ट प्याट्रिक्स डे मनाउँथ्यो, यतिबेला त्यसैको तयारी सुरू भएको हुन्थ्यो। तर, परेड स्थगित भएकोले त्यसको तयारी हुने कुरै भएन। कोरोनाले हाहाकार मच्चाउँदा अमेरिकामा १० जनाभन्दा बढी मानिस पनि एकैसाथ नरहन ह्वाइट हाउसको  निर्देशिका जारी भएको छ, दुईजना मानिस बीचको दूरी पनि ६ फिटभन्दा बढी राख्न भनिएको अवस्था छ।

यस्तो विषम परिस्थितिमा पनि अमेरिकाका तीन राज्य इलिनोय, एरिजोना र फ्लोरिडामा भने राष्ट्रपति उम्मेद्वारीका लागि प्राइमरी चुनाव हुदैछ। आजै चुनाव हुने अर्को राज्य ओहायोका गभर्नरले भने कोरोनाको हाहाकारलाई कारण देखाउँदै सोमबार साँंझ अन्तिम समयमा आएर चुनाव स्थगित गरिदिएका छन्।

डेमोक्रेटिक पार्टीमा इलिनोयमा १५५, एरिजोनामा ६७ र फ्लोरिडामा २१९ गरी ४४१ डेलिगेट्सका लागि निर्वाचन हुदैछ। अहिले जो बाइडन ८४५ र बर्नी स्याण्डर्स ६९४ र तुल्सी गवार्ड २ डेलिगेट्सका साथ उम्मेद्वारी प्रतिस्पर्धामा छन्। डेमोक्रेटिक पार्टीमा राष्ट्रपति उम्मेद्वार जित्न १९९१ डेलिगेट्स आवश्यक हुन्छ। अहिलेको अवस्थामा त्यो जादुगरी संख्या कसैको पनि नपुग्ने लगभग निश्चित छ। 

उता, रिपब्लिकन पार्टीमा भने इलियोयमा ६७ र फ्लोरिडामा १२२ गरी १८९ डेलिगेट्सका लागि निर्वाचन हुदैछ। रिपब्लिकन पार्टीमा उम्मेद्वार हुन १२७६ डेलिगेट्स चाहिन्छ। अहिलेसम्म डोनल्ड ट्रम्पले १११३ डेलिगेट्स जित्दा उनका प्रतिस्पर्धी मासाचुसेट्सका पूर्व गभर्नर वेल्डले १ प्रतिस्पर्धी जितेका छन्। भोलिको निर्वाचनपछि ट्रम्पले उम्मेद्वार हुनका लागि चाहिने आवश्यकभन्दा धेरै नै डेलिगेट्स जितिसकेका हुनेछन्। 

अमेरिकाको सीडीसी (सेन्टर फर डिजिज सेन्टर एन्ड प्रिभेन्सन) ले ५० जना  वा त्योभन्दा बढी एकै ठाएमा भेला हुन नहुने निर्देशिका जारी गरिसकेको छ।अझ ह्वाइट हाउसले त १० जनाको सीमा तोकेको छ र दुई व्यक्तिको बीचको दूरी पनि कम्तिमा ६ फुट हुनुपर्ने भनेको छ। मानिसहरूलाई भरसक सार्वजनिक स्थानमा नजानु भनिएको छ र अझ ६० वर्षभन्दा माथिकालाई त बाहिर निस्कनै निरूत्साहित गरिएको छ। 

यस्तो भयावह अवस्थामा हुन लागेको निर्वाचनमा मतदाताको सहभागितालाई लिएर चासो र चिन्ता व्यक्त गरिएको छ। वृद्धवृद्धा मतदाताको न्युन सहभागिता हुँदा त्यसबाट बाइडनलाई फरक पार्न सक्ने अनुमान पनि केही राजनीतिक विश्लेषकले गरेका छन्। 

प्रकाशित मिति: : 2020-03-18 05:58:54

प्रतिकृया दिनुहोस्