भारतको उडिसास्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की एकजना नेपाली विद्यार्थी मृत फेला परेकी छिन्।
विश्वविद्यालय प्रशासनसँग दिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टी गरेको जनाएको छ। भारतीय सञ्चारमाध्यमहरूले पनि केआईआईटीमा नेपाली विद्यार्थी मृत फेला परेकाे भनेर समाचारहरू लेखेका छन्।
घटनास्थल अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। उनी बारा सिमरौनगढकी हुन्। उनकाे नाम भने खुलाइएकाे छैन। बिहीबार साँझ नियमित जाँचकाे क्रममा ढाेका नखुलेपछि कर्मचारीहरू ढाेका फुटाएका थिए।
उनी छात्रवासकाे चौथाे तलास्थित आफ्नै कोठामा मृत भेटिएकी हुन्।
यही विश्वविद्यालयमा यसअघि पनि नेपाली विद्यार्थी प्रकृती लम्साल मृत फेला परेकी थिइन्। त्यो बेला उनलाई पछ्याइरहेका एकजना भारतीय युवकले उनलाई निरन्तर मानसिक यातना र ब्ल्याकमेलिङ गर्दै आएका थिए।
घटनापछि उनको मृत्युबारे छानबिन हुनुपर्ने भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेका थिए। तर विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई अपशब्द बोल्दै त्यहाँबाट निकालेको थियो।