सवारीसाधनले रूट परमिट लिनु नपर्ने, लाइसेन्स आवेदन पनि बन्द

  यातायात व्यवस्था विभागले बिहीबारदेखि सार्वजनिक सवारीसाधनको रूट परमिट लिन नपर्ने जनाएको छ।

कोरोनाभाइरसको प्रभावले राजधानी लगायत कार्यस्थलहरू छोडेर जाने यात्रुलाई सार्वजनिक सवारीसाधन अभाव नहोस् र भीडभाड कम होस् भन्ने उद्देश्यले एक महिनाका लागि देशभर रुट पर्मिट खुल्ला रहने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागका महानिर्देशन गोगनबहादुर हमालका अनुसार नेपाल–भारत सञ्चालन हुँदै आएका सबै बस सेवा बन्द रहे पनि देशभर रुट पर्मिट खुला राख्ने जानकारी दिए।

यसैबीच विभागको निर्णयलाई यातायात व्यवसायीले सकारात्मक रुपमा लिएका छन्।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यो व्यवस्थाले यात्रुलाई सहज हुने भन्दै अहिले कतिपय गाडी चल्न नमानेको अवस्था रहेकाले सरकारले गरेको निर्णयबाट यात्रुहरुले चाहेका बेला सवारी पाउन सक्ने बताए।

यसैबीच विभागले नयाँ लाइसेन्सका लागि आवेदन लिने र ट्रायल दिने कार्य हाललाई स्थगित गरिने भएको छ। आगामी बुधबारदेखि लाइसेन्स नवीकरण र प्रतिलिपीबाहेक अन्य सेवाहरू बन्द हुने भएको छ।

प्रकाशित मिति: : 2020-03-20 07:44:25

प्रतिकृया दिनुहोस्