अमेरिकी सिनेटमा हरेक वयस्कलाई १२०० को राहत चेक दिने प्रस्ताव

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी सिनेटमा बहुमतमा रहेको सत्तारूढ रिपब्लिकन पार्टीले एउटा प्रस्ताव टेबल गरेर कोरोना भाइरस राहत चेकलाई अलि मूर्तरूप दिने प्रयास गरेको छ।

सिनेटमा बहुमतका नेता मिच म्याक्कोनेलले प्रस्ताव गरेको १ ट्रिलियन डलरको विधेयकमा हरेक अमेरिकीलाई १२००, दम्पतिलाई २४०० र दुई जनासम्म सन्तानलाई ५०० का दरले राहत चेक दिने प्रस्ताव गरिएको छ। 

उनको प्रस्तावमा  एयरलाइन्स र प्रभावित उद्योग क्षेत्रलाई २०० बिलियन ऋण दिने र साना व्यवसायलाई नतिर्नुपर्ने खालको ३०० बिलियन ऋण दिने प्रस्ताव छ। तर, साना व्यवसायलाई दिइने यस्तो ऋण भने तलब खुवाउन, मोर्गेज तिर्न र युटिलिटी बिल तिर्नका लागि खर्च गर्नुपर्ने हुन्छ।

यसैबीच यो विधेयकलाई सत्तारूढ पार्टीकै केही प्रभावशाली दक्षिणपन्थी सिनेटरले रूचाएका छैनन्। उनीहरू नगद सहयोग दिने, सबैलाई दिनेलगायतका उदार प्रावधानविरूद्ध उभिएका छन्। 

तर, उनीहरू विरोधमा रहे पनि यो बाइ पार्टिसन विलका रूपमा केही संशोधनसहित पारित हुने लगभग निश्चित छ। सिनेटमा पारित भएपछि डेमोक्रेट बहुल हाउस अफ रिप्रेजेन्टेटिभ्समा पनि पारित हुनुपर्ने भएकाले मिच म्याक्कोनेल केही उदार प्रावधानसहितको बिधेयक ल्याउन बाध्य भएका हुन् ।

यो विधेयक आएपछि अब कति दिने भन्ने कुरा लगभग निर्णय भए पनि अमेरिकी नागरिकलाई मात्र दिने कि सोसल सेक्युरिटी लगायतका वैधानिक कागजपत्र भएका सबैलाई दिने त्यसको छिनोफानो हुन सकेको छैन। त्यसका लागि भने अमेरिकी संसदका दुबै सदनमा अझै केही मोलमोलाई नहोला भन्न सकिन्न।

प्रकाशित मिति: : 2020-03-20 19:12:42

प्रतिकृया दिनुहोस्