लन्डनमा काेराेनाका कारण पहिलाे नेपालीकाे निधन

कोरोना भाइरसका कारण बेलायतको लन्डनस्थित नर्थविकपार्क अस्पतालमा एक नेपालीको निधन भएको छ।

गत मंगलबार नै मृत्यु भएको उनको निधनको औपचारिक जानकारी अस्पताल प्रशासनले शनिबार मात्र दिएको हो। 

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० स्थायी घर भएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको गत मंगलबार कोरोना भाइरसको संक्रमणका कारण निधन भएको थियो। 

उनको मृत शरीरलाई अस्पतालले तीन दिन राखेर शनिबार परिवारलाई सुम्पिने क्रममा कोरोना भाइरसका कारण निधन भएको जानकारी दिएको गेसोका अध्यक्ष कृष्णकुमार राईले बिएल नेपाली सेवालाई बताए। 

‘उहाँ गोर्खा सेनामा राइफलम्यान हुनुहुन्थ्यो। उहाँको आर्बी नम्बर २११६०५८१ हो’,उनले भने। 

संखुवासभामा जन्म भए पनि उनी लामो समयदेखि सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आइरहेका थिए। उनले १७ वर्ष बेलायती सेनामा काम गरे।

सन् २००८ मा उनी श्रीमती र छोराबुहारीसहित बेलायत आएका हुन्। 

उनको दुई दशकअघि मृगौंलाको प्रत्यारोपण गरिएको थियो। केही साताअघि एक्कासी स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियो। उनी स्वास्थ्य लाभ गरेर घर फर्किसकेको अवस्थामा पुनः बिरामी परेपछि मंगलबार दिउँसो ४ बजे अस्पताल भर्ना गरिएको पारिवारीक श्रोतले जानकारी दियो। 

‘राती ८ बजे उहाँको निधन भएको जानकारी हामीलाई अस्पतालले दिए पनि तीन दिनपछि मृत शरीर बुझाएको हो,’ पारिवारीक श्रोतले बिएल नेपाली सेवालाई बतायो। 

अहिले राई परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ। जसका कारण आफन्त र शुभचिन्तकले भेट्न पाएका छैनन्। 
 

प्रकाशित मिति: : 2020-03-22 08:26:57

प्रतिकृया दिनुहोस्