बिहिबार, ३१ जुलाई २०२५

जब आँसुले माओवादीलाई पोल्नेछ

रघुजी पन्त

रघुजी पन्त

काठमाडाैँ
News Image
• • •

झ्याम्म परेका काला दाही–जुंगाले झपक्क छोपेको उज्यालो र तेजिलो अनुहार! छलफल र बहसमा तर्कयुक्त विचार एवं प्रश्नहरू खडा गर्न सक्ने तीखो वैचारिक क्षमता। हँसिलो स्वभाव र मिलनसार बानी। मैले जम्माजम्मी दुईपल्ट भेटेर सामान्य कुराकानी गर्दा कमरेड यदु गौतमलाई यस्तै पाएको थिएँ। नेकपा (एमाले)को पार्टी स्कूल विभागले चलाएको प्रशिक्षण कार्यक्रमको एउटा कक्षामा मेरो र उहाँको बीच पहिलोपल्ट केही छलफल भएको थियो। कार्यनीतिसम्बन्धी विषयमा मैले आफ्ना कार्यपत्र र विचार प्रशिक्षण कार्यक्रममा राखेको थिएँ। सहभागीका रूपमा कमरेड यदु गौतमले निकै गहकिला प्रश्न र तर्कहरू राख्नुभएको थियो। पहिलो छलफलमै म उहाँको जानकारीयुक्त प्रश्न र तर्कहरूबाट प्रभावित भएको थिएँ।

कम्युनिष्ट योद्धा र युवा क्रान्तिकारी नेताका रूपमा स्थापित तथा रूकुम जिल्लाका अत्यन्त लोकप्रिय उम्मेदवार कमरेड यदु गौतमको हत्याको समाचार सुन्दा मेरो आँखा अगाडि उहाँको तेजिलो अनुहार एकपल्ट झलक्क देखार्‍पयो। एउटा उज्यालो तारा, पश्चिमको एउटा युवा नेता र कम्युनिष्ट आन्दोलनको एउटा उदीयमान व्यक्तित्वको त्यति विभत्स रूपमा कायरतापूर्ण ढंगले माओवादीहरूले हत्या गर्लान् भनेर मैले कल्पनासम्म पनि गर्न सकेको थिइनँ। उहाँको हत्याको समाचार सुनेपछि अत्यन्त दुःखित भएको मेरो मन माओवादी नजिक देखिएका केही पत्रिकाहरूले कमरेड यदु गौतमले गुप्तचर, सीआईडी जस्ता अत्यन्त तल्ला स्तरको आरोप लगाउन थालेपछि झन् दुःखित र क्रूद्ध भएको छ।

आफूसँग असहमत हुने कम्युनिष्ट योद्धालाई राजनीतिक रूपले आलोचना गर्ने तर्क र क्षमता गुमाएपछि, माओवादीको बहिष्कारको नारा त्यागेर कमरेड यदु गौतमको एमालेको सरकार बनाउने अठोटका पछि रूकुमलाई डोऱ्याउन थालेपछि अत्तालिएका माओवादीहरूले आफ्नो पराजित मानसिकताको परिणामस्वरूप कमरेड यदु गौतमको हत्या गरेका छन्। माओवादी नजिक रहेका अखबारहरू अत्यन्त निर्लज्ज ढंगले पत्रकारिताको नैतिकता र मर्मलाई ठाडै कुल्चेर एउटा क्रान्तिकारी शहीद यदु गौतमलाई गुप्तचरी गर्‍याे भनेर अत्यन्त तल्लोस्तरको आरोप लाउँदैछन्।

माओवादीहरूको दोषी आँखा उनीहरूसँग असहमत हुने प्रत्येक मानिसलाई गुप्तचर र प्रतिक्रियावादी देखिरहेछ यतिबेला। द्वन्द्ववादको माला जप्ने तर व्यवहारमा चाहिँ मुढाग्रही बन्ने माओवादी द्वन्द्ववाद यतिबेला विचारलाई विचारले होइन, हतियारले परास्त गर्ने फाशिष्ट शैलीमा परिणत भएको छ। हिटलरका नाजी गुटका नाइकेहरू मानिसको भीडमाथि गोली चलाउँथे र जो–जो गोली लागेर मर्थे ती सबलाई कम्युनिष्ट भन्थे। माओवादीहरू पनि जनताका लागि लडिरहेका यदु गौतम जस्ता क्रान्तिकारीलाई विभत्स ढंगले हत्या गर्दै गुप्तचरी गरेको जस्तो तल्लो स्तरको घिनलाग्दो आरोप लगाउँछन् भने के फरक भयो हिटलरको नाजी गुण्डादल र माओवादी जत्थामा?

पक्राउ परेका माओवादीहरू मारिनु हुँदैन, निहत्था माओवादीहरूलाई मार्नु हुँदैन भनेर पटक पटक आवाज उठाउने मानिसहरूको सहानुभूति माओवादीहरूले अब गुमाएका छन्। माओवादको नाममा माओका विचारहरूलाई व्यक्ति हत्याको सिद्धान्त बनाउने अत्यन्त गैर क्रान्तिकारी र अमार्क्सवादी काम माओवादीहरूले गरेका छन्। माओवादीहरूले बुझ्नुपर्छ क्रान्ति भनेको हिंसा होइन, हिंसा बढ्यो भने त्यसले प्रतिहिंसा जन्माउँछ र हिंसा–प्रतिहिंसाको सिलसिलाले कुनै गतिलो राजनैतिक परिणतिमा पुऱ्याउँदैन। यदु गौतम जस्तो क्रान्तिकारी र जनताप्रति समर्पित व्यक्तित्वको हत्यालाई जायज देख्ने 'माओवाद' कुनै सिद्धान्त होइन विचारलाई दबाउने क्रूर, अमानवीय र विभत्स कुविचार हो। कुण्ठा, पराजय र हताशाको विकृत रूप हो।

भारतको बिहारमा पिपुल्स वार ग्रूप र माओवादी कम्युनिष्ट सेन्टरका कार्यकर्ताहरूबीच चलेको मारकाटले सयौं कम्युनिष्टहरू मारिइसके तर पनि त्यहाँ दुई गुटबीच काटमार जारी नै छ। हिंसा र प्रतिहिंसाको परिणाम त्यस्तो हुन्छ। यहाँ पनि माओवादीहरूले जसरी एमाले लगायत अन्य राजनीतिक पार्टीका मानिसहरूमाथि जसरी आक्रमण सुरू गरेका छन्, त्यसले त्यस्तै परिणाम उत्पन्न नगर्ला भन्न सकिन्छ?

मैले प्रचण्डलाई भेटेको छैन र देखेको छैन। तर भूमिगत जानुभन्दा अघिका बाबुराम भट्टराई, हिसिला यमी, पम्फा भूषाललगायतसँग कैयौंपल्ट विभिन्न गोष्ठी, कार्यक्रम र भेटघाटहरूमा छलफल गरेको छु। बाबुराम भट्टराईको भाइले खोलेको पत्रिका पसल अघि उभिएर कैयौंपल्ट अभिवादन र भलाकुसारी भएको म अहिले पनि सम्झन्छु। भट्टराई र प्रचण्डका आफन्तहरूलाई माओवादीबाट मारिएका व्यक्तिहरूका आफन्तले केही गरिदिए भने के गर्ने? माओवादी हिंसाको जवाफ अरू राजनीतिक पार्टीहरूले पनि हिंसात्मक रूपमा दिन थाले भने माओवादीप्रति सहानुभूति राखेर खुला रूपमा बसेका मानिसहरूको गति के होला? गोरखामा माओवादीले एकजना कांग्रेसी युवाको विभत्स हत्या गर्दा कांग्रेसीहरूको आक्रोशयुक्र प्रतिहिंसामा परेर कति मानिसहरू घाइते भए? के यसको हिसाब माओवादीहरूले गरेका छन्?

फरक विचारलाई, मत भिन्नतालाई र असहमतिलाई हतियारले दबाउन थालियो भने कुनै दिन माओवादीहरू स्वयं आफैँ यस प्रवृत्तिको शिकार हुनेछन्। मतभिन्नतालाई ठीक ढंगले समाधान गर्न नसक्दा र विचारलाई बलले दबाउन खोज्दा कैयौं कम्युनिष्ट पार्टीहरू तहस नहस भएका छन्। आ-आफैं काटमार गरेर समाप्त भएका छन्। माओवादीहरूले विचारलाई हतियारले खेद्ने र मान्छेलाई नै भौतिक रूपले समाप्त पार्ने जुन तरिका अपनाएका छन् कुनै दिन त्यही तरिकाले माओवादीहरूभित्रको असहमति समाप्त गर्न पनि प्रयोग भयो भने के होला? कुनै दिन आफ्नै एउटै पार्टीमा रहेको कमरेड यदु गौतमलाई एमालेमा गएकै कारणले गुप्चतर देख्ने माओवादीहरूले भोलि कुनै बेला प्रचण्ड, मोहन वैद्य, बाबुराम, रामबहादुर वा पम्फा भूषाललाई नै मतभिन्नता उत्पन्न हुँदा गुप्तचर नदेख्लान् भन्ने कुनै ग्यारेन्टी छ?

मैले बाबुराम भट्टराईकी छोरीलाई देखेकाे छु। हिसिला यमीले साइकलमा राखेर आफैँसँग लिएर हिँडेको देखेको छु। माओवादी आन्दोलनमा लागेकाहरूले अरूलाई मार्ने र माओवादीलाई पुलिसले मार्ने क्रम जसरी बढिरहेको छ, त्यसका कारण कैयौँ मानिसहरूले आफ्ना बुबा–आमा अनाहकमा गुमाइरहेका छन्। बाबुराम र हिसिला यमीमा बाबुआमाको कमलो मन छ भने उहाँहरूले आफैँसँग सोध्नुपर्छ– यदु गौतमका छोराछोरीको बाबु खोसेर उहाँहरूले के पाउनुभयो? कति अघि बढ्यो उहाँहरूको क्रान्ति?

क्रान्तिको नाममा व्यक्ति हत्याको भ्रान्ति फैलाएर देश उँभो लाग्दैन, जनताको भलो हुँदैन। बाबुराम, प्रचण्ड, हिसिला यमी, पम्फा भूषाल र मोहन वैद्यको ज्ञान, प्रतिबद्धता र सक्रियता देश र जनताको सट्टा यदु गौतम जस्तो सपूतहरूको हत्याको लागि प्रयोग हुन्छ भने त्यस्तो ज्ञान र प्रतिबद्धतालाई बरदान होइन, अभिशाप ठान्नुपर्छ।

कुनै दिन प्रचण्ड र बाबुरामले आफ्नो गल्ती सच्याउन बाध्य हुनुपर्नेछ। त्यसबेला उहाँहरू आत्मालोचना गरेर मुक्त हुन खोज्नुहोला तर उहाँहरूलाई यदु गौतमजस्तो सपूत र शहीदका सन्तानको सामना गर्न मुश्किल पर्नेछ। माओवादी आन्दोलनमा लागेर क्रान्तिको नाममा मारिएका सैयौं युवाहरूका आफन्तहरूका प्रश्नको जवाफ दिन नसकेर लाचार बन्नुपर्नेछ। त्यसैले कृपया रोक्नुहोस् यो हत्याको विभत्स खेल र हिंसाको अनन्त लहर!

प्रचण्ड र बाबुरामलाई आफ्नो विचार, राजनीति र तर्क क्षमतामाथि विश्वास छ भने खुलारूपले शान्तिपूर्ण रूपमा लाखौं जनतालाई माओवादी बनाएर सत्ता कब्जा गर्नुहोस्। अँध्यारोमा बसेर र लुकेर दुई चार जनालाई मार्न सकिन्छ तर देशको अनुहार फेर्न सकिन्न।


(याे लेख ०५६ साल फागुन २१ गते यदु गाैतमकाे सम्झनामा एमाले केन्द्रीय प्रचार विभागद्वारा प्रकाशित 'सलाम सहयाेद्धा'बाट लिइएको हो)

आइतबार, फाल्गुण २१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)