१२२ हाटबजार बन्द

रासस

रुपन्देही

रुपन्देहीका १२२ ठूला तथा साना हाटबजार अनिश्चितकालका लागि बन्द भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सर्तकता अपनाउँदै सबै प्रकारका हाटबजार बन्द गरिएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवालीले जानकारी दिए। 

उनले सरकारले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै हाटबजार भिडभाड हुने क्षेत्र भएकाले बजार बन्द गर्न बाध्य भएको बताए । अध्यक्ष ज्ञवालीले कृषकको उत्पादन डुलाएर वा चोकमा मानिसको आवतजावत कम हुने ठाँउमा लगेर बेच्न किसानलाई आग्रह गरिएको उल्लेख गर्दै कोरोना भाइरसबाट बच्न र बचाउनका लागि आग्रह गरिएको बताए।
 
जिल्लाको बुटवल, भैरहवा, मणिग्राम, मङ्गलापुर, ठूटेपिपल, रानीबगिया, मुर्गिया, कलोैनी, सालभण्डीलगायतका स्थानमा फरकफरक बारमा साप्ताहिक हाटबजार लाग्दै आएको थियो । ती बजारमा  करिब रु एक करोडभन्दा बढीको आर्थिक कारोवार हुने गरेको थियो । 

दैनिक दुई हजार व्यवसायीले कम्तीमा रु सात हजार बराबरको कारोवार गर्ने गरेका छन् । हाटबजारमा दैनिक नौ टन तरकारी, फलफूल खाद्यान्न विक्री हुँदै आएको थियो । यसअघि बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा नगरपालिका शुद्धोधन, गैडहवा गाउँपालिकाले साप्ताहिक हाटबजार बन्दको घोषणा गरेका थिए । 

प्रकाशित मिति: : 2020-03-23 07:37:41

प्रतिकृया दिनुहोस्